राष्ट्रपतिले गरे हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन – Nepal Press

राष्ट्रपतिले गरे हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन

विद्युत् आयात गर्नेबाट विद्युत् निर्यात गर्ने देशमा परिणत हुनु महत्त्वपूर्ण : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल विद्युत् आयात गर्ने देशबाट विद्युत् निर्यात गर्ने देशको रूपमा परिणत हुनु महत्त्वपूर्ण रहेको बताए । राष्ट्रपति पौडेलले यो सबैको लागि गौरव र खुसीको विषय रहेको उल्लेख गरे ।

नेपालले १० वर्षभित्र १० हजार मेगावाट विद्युत् छिमेकी भारतमा विक्रीको लागि बजार खुला गरिसकेको उल्लेख गर्दै यस क्षेत्रमा थप लगानी हुने विश्वास व्यक्त गरे ।

‘सरकारको सहजीकरण र समन्वय तथा निजी क्षेत्रको संलग्नताबाट विद्युत् उत्पादनको लागि राखिएका लक्ष्य हासिल हुन सम्भव छ’ उनले भने ।

एक्स्पोले ऊर्जा विकासमा सहभागी सबै पक्षलाई एकै ठाउँमा ल्याएर हातेमालो गर्न सहयोग पुग्ने बताए । राष्ट्रपतिले हरित ऊर्जा विकासमा स्वदेशी र विदेशी सबै लगानीकर्ता एकजुट भएर अघि बढ्न आव्हान गरे ।

ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्री शक्ति बहादुर बस्नेतले जलविद्युत विकासको प्रचुर सम्भावना रहेको नेपालको उन्नतिको महत्त्वपूर्ण आधार रहेको बताए ।

‘आगामी १२ वर्षभित्र २८ हजार ७ सय मेगावाट विद्युत् उत्पादन गर्ने कार्य योजना सरकारले ल्याएको र यो महत्वाकाक्षीजस्तो देखिए पनि यथार्थ र आवश्यकतामा आधारित भएर गरिएको हो’ उनले भने ।

लगानीको लागि देशभित्रको स्रोत मात्र होइन, वैदेशिक लगानी ल्याउनुपर्ने आवश्यकता रहेको बताए । अहिले संसदमा दर्ता भई दफावार छलफलमा रहेको विद्युत् विधेयक चाँडो भन्दा चाँडो पारित भई कार्यान्वयनमा आउने उल्लेख गरे ।

जलविद्युत परियोजना विकासको लागि नयाँ विद्युत् ऐनले सहजीकरण गर्ने र लगानी अझ बढेर जाने विश्वास व्यक्त गरे ।

‘परियोजनाको लागि जग्गा प्राप्ति, वन र अन्य प्रक्रियागत विषयमा पनि सरकारले अझ सहजीकरण गर्दै जानेछ’ मन्त्री बस्नेतले भने ।

अहिले जलविद्युत परियोजना निर्माणसँगै वातावरण र जलवायुको मुद्दासमेत पेचिलो बन्दै गएको छ । यसबारेमा पर्याप्त छलफल हुनुपर्ने र भइरहेको उनको भनाइ छ । एक्स्पोले आसन्न लगानी सम्मेलनको लागिसमेत टेवा पुग्ने बताए ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले १३ खर्ब रुपैयाँ जलविद्युत आयोजनामा लगानी भइसकेको बताए ।

‘आर्थिक वृद्धि र रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेलिरहेको र दक्ष, अर्धदक्ष र अदक्ष गरी ५ लाख भन्दा धेरै नागरिकले रोजगारी पाइरहेको छन्’ उनले भने ।

उनले पछिल्लो समयमा विद्युत् निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्नमा सफल भएको र यसलाई अझ वृद्धि हुँदै जाने विश्वास व्यक्त गरे ।

सरकारले राखेको २८ हजार ७ सय मेगावाट विद्युत् उत्पादन गर्नको लागि वन, जग्गालगायतका विषयमा सहजीकरण गर्नुपर्नेमा जोड दिए । एक्स्पोले आसन्न लगानी सम्मेलनको लागि पनि सहयोग पुग्ने अध्यक्ष कार्कीको भनाइ छ ।

विदेशी लगानी वृद्धि गर्नको लागि नीतिगत सुधार र प्रक्रियागत झमेलालाई सहज बनाउँदै लैजान सरकारसँग आग्रह गरे ।

जलविद्युत परियोजना विकाससँग स्थानीय विकासमा महत्त्वपूर्ण सहयोग पुगिरहेको छ । आयोजना प्रवर्द्धकले स्थानीय सडक, खानेपानी, स्वास्थ्य चौकी, खेलमैदानलगायतका पूर्वाधारमा निर्माणमा योगदान पुर्‍याएको बताए ।

नेपालका लागि क्यानडाका राजदूत क्यामरुन म्याकीले भिडिया सन्देशमार्फत नेपालको समृद्धिको लागि जलविद्युतको विकास महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

‘नेपालमा जलविद्युत परियोजनाको विकास गर्नको लागि क्यानडासँग रहेको सीप ज्ञान र अनुभव उपयोगी हुने विश्वास छ’ उनले भने ।

उनले नवीकरणीय ऊर्जा विकासको लागि अद्यावधिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताए । समृद्धिको लागि हरित ऊर्जा भन्ने नाराको साथ शुरु भएको एक्स्पो शुक्रवार सम्पन्न हुनेछ ।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले विद्युत् निर्यातमाभन्दा पनि देशभित्रै खपत वृद्धि प्राथमिकतामा रहेको बताए । यसको लागि सबै सरकार, निजी क्षेत्र अन्य सरोकारवालाको महत्त्वपूर्ण हुने उल्लेख गरे । समृद्धिको लागि हरित ऊर्जा भन्ने नाराको साथ शुरु भएको एक्स्पो शुक्रवार सम्पन्न हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *