कांग्रेसको सत्तारोहण यात्रा : आइपरेको कि हत्ते गरेको ? – Nepal Press

कांग्रेसको सत्तारोहण यात्रा : आइपरेको कि हत्ते गरेको ?

काठमाडौं । २०७४ साल असोज १७ गते मुलुकका दुई ठूला कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वामगठबन्धनको घोषणा गरे । पार्टी एकतासम्मको उद्घोषसहित २०७४ मंसिरमा सम्पनन प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादीबीच देशभर चुनावी तालमेल भयो ।

वामगठबन्धनका सामु देशका अधिकांश स्थानमा नेपाली कांग्रेस निराश भयो । १ सय ६५ प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा क्षेत्रमध्ये २३ सिटमा मात्रै कांग्रेस बिजयी भयो । वामगठबन्धनले झण्डै दुई तिहाई हासिल गरेयता कांग्रेस राजनीतिक रुपमा ‘संकट’ मा थियो । कांग्रेस कार्यकर्तामा कम्युनिष्टले दशकौसम्म शासन गर्नेछन् भन्ने ‘निराशा’ थियो ।

यद्यपि साढे ३ वर्षमै कांग्रेस सत्तामा फर्किन थालेको छ । कम्युनिष्ट एकतामा परेको संकटले कांग्रेसलाई सत्तारोहणको बाटो खोलिदिएको छ । सात वटा प्रदेश र संघीय सरकारमा प्रतिपक्षमा सिमित बनेको कांग्रेस क्रमशः सत्ताको भर्‍याङ उक्लदैछ ।

गण्डकी प्रदेशमा कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका छन् भने कर्णाली र प्रदेश नम्बर २ मा कांग्रेस मन्त्रिपरिषदमा सहभागी भइसकेको छ । दुवै प्रदेशमा कांग्रेसबाट २-२ जना मन्त्री भएका छन् ।

संघीय सरकारमा पनि सत्ताको नेतृत्व गर्न कांग्रेस आतुर छ । विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले गरेको दावी सर्वोच्च अदालतमा विचाराधीन छ । विपक्षीको आसनबाट सत्ताको शिखर तर्फ लम्किरहेको कांग्रेसका लागि अबको बाटो सहज भने हुनेछैन । विपक्षमा बसेर सरकारलाई तेर्स्याएको प्रश्नको हल अब कांग्रेस आफैले दिनुपर्नेछ ।

यसरी सम्भव भयो सत्तारोहण

राजनीति चुनावी परिणाम मात्रै होइन भन्ने कांग्रेसको सत्तारोहण सुरु भएबाट प्रमाणित हुन्छ । देशभर ५ वर्ष सरकार हाँक्ने जनादेश पाएको नेपाल कम्युनिष्ट पार्टीको विभाजनबाटै कांग्रेसको सत्तारोहण सम्भव भएको हो ।

लामो समयको आन्तरिक विवादपश्चात गत फागुन २३ को सर्वोच्च अदालतको आदेशबाट नेकपा औपचारिक रुपमा विभाजित भयो । सबैभन्दा ठूलो दल नेकपा एमाले र अर्को दल जसपा पनि विभाजनको संघारमा छन् । विभाजित दुई पार्टीसँग सहकार्यबाटै कांग्रेसको सत्तामा चढिरहेको छ ।

एकथरिले चाहिँ कांग्रेस अहिले सत्तामा जान हतारिनुभन्दा अर्को चुनावसम्म धैर्य गरेको भए राम्रो हुने मत राख्दै आएका छन् । विपक्षी पार्टीको विवादबाट फाइदा उठाएर सत्तामा जाँदा आगामी चुनावमा कांग्रेसलाई फाइदा नहुने उनीहरुको तर्क छ । तर, कांग्रेसका नेताहरुले चाहिँ पार्टीले सत्ता चाहेको नभइ आइपरेको अर्थमा व्याख्या गर्दै आएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल जनमत पाएकाहरुले ‘जनमतको भारी’ बोक्न नसकेपछि कांग्रेसले अग्रसरता लिनुपरेको बताउँछन् । यद्यपि सत्ताको स्वादभन्दा जनताको सरोकारलाई कांग्रेसले प्राथमिकतामा राख्नुपर्ने पौडेलको भनाई छ ।

‘कम्युनिष्ट पार्टीले पाएको जनमत थेग्न सकेन । जनताको सेवाभन्दा आन्तरिक किचलोमा कम्युनिष्टहरु लागेपछि निकास दिन कांग्रेस अगाडि आएको हो । तर कांग्रेसले सत्तामा पुगेर मात्रै हुँदैन, जनताको सरोकारलाई पनि सम्बोधन गर्न सक्नुपर्छ’, पौडेलले नेपाल प्रेससंग भने ।

संघीय सरकारमा प्रधानमन्त्री केपी ओलीको विकल्प राजनीतिक रुपमा अनिवार्य भएपनि सत्तामा पुगेपछि के गर्ने ? भन्नेमा कांग्रेसले प्रष्ट दृष्टिकोण बनाउनुपर्ने पौडेलको सुझाव छ ।

‘प्रदेशमा जो जो सरकारमा जानुभएको छ उहाँहरुले कांग्रेसलाई जनतासंग जोड्नेगरी काम गर्नुपर्छ । सत्ताको स्वादमा भुल्ने छुट कांग्रेसलाई छैन’, पौडेलले भने ।

कांग्रेसका लागि अवसर

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भने कांग्रेसका लागि ‘महान अवसर’ प्राप्त भएको बताउँछन् । कम्युनिष्ट पार्टीको जनमत इतिहासमै सबैभन्दा बढी खण्डित भएकोले कांग्रेसले ‘असल काम’ गरेर देखाउनुपर्ने चुनौती रहेको आचार्यको भनाई छ ।

‘कांग्रेसको भविष्य निर्धारण गर्ने राजनीतिक घटना अहिले भइरहेको छ । सत्तामा जानु यतिबेला कांग्रेसको दायित्व बनेको छ । तर सत्तामा गएर उन्मत्त हुनुहुँदैन’, आचार्यले नेपाल प्रेससंग भने ।

आचार्यको बुझाईमा कांग्रेसका लागि ‘अभि नही तो कभी नही’ भनेझै अवसर आएको छ ।

‘कांग्रेसले आफ्नो उपादेयता पुष्टी गर्ने र आफूलाई सुधार्न यो अन्तिम अवसर हो । सत्ताबाट सही काम गर्न सके कांग्रेस पुनः स्थापित हुन्छ अन्यथा भविष्य नै संकटमा पर्नसक्छ’, आचार्यको भनाई छ ।

अहिले जुनसुकै तहको सरकारमा भएपनि कांग्रेसले कोरोना नियन्त्रण, हरेक नागरिकलाई खोप वितरण र भ्रष्टाचार निरुत्साहनको एजेण्डामा काम गर्नुपर्ने आचार्यको सुझाव छ ।

आचार्यको बुझाईमा कांग्रेसको सत्तारोहणको यात्रा आगामी निर्वाचनसम्म पार्टीलाई निर्विकल्प बनाउने अवसर र चुनौतीका रुपमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर