निषेधाज्ञा लम्बिँदा साना व्यवसायी संकटमा, सटर खाली गरेर हिँड्न थाले – Nepal Press

निषेधाज्ञा लम्बिँदा साना व्यवसायी संकटमा, सटर खाली गरेर हिँड्न थाले

काठमाडौं । करिब डेढ महिनादेखि लागू गरेको निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका साना पसल व्यवसायी संकटमा परेका छन् । निषेधाज्ञा लम्बिँदै गएपछि कतिपय व्यवसायी भाडामा लिएका सटर र घर छाडेर पलायन हुन थालेको पाइएको छ ।

लामो समयसम्म पसल/व्यवसाय सञ्चालन गर्न नसक्दा भाडा तिर्न समेत नसक्ने अवस्था आएपछि व्यवसायी पलायन भएका हुन् । पहिलेको लकडाउनमा पनि धेरैले काठमाडौंमा व्यवसाय सञ्चालन गरिरहेको सटर/घरका सामान उठाएर बाटो लागेका थिए । उनीहरुमध्ये कतिपय अझै व्यवसायमा फर्केका छैनन् ।

असन, न्यूरोड, दरवारमार्ग, महाबौद्ध, ठमेल, कलंकी, चावहिलगायतका क्षेत्रहरुमा व्यवासायीहरु पलायन हुन थालेका हुन् । यी क्षेत्रमा घरधनीहरुले सटर खाली छ (टू लेट) भनेर विज्ञापन टाँसेको देखिन्छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले निषेधाज्ञाको समयमा व्यवसायीले सटर खाली गराएर सामान सार्ने वा आफ्नो डेरामा नै लगेर थुपार्न थालेको बताए ।

उनले भने, ‘अहिलेको बन्दमा धेरै नै सटर खाली हुन थालेका छन् । लत्ता कपडा, होटल र यातायात सबैभन्दा धेरै मारमा परेका छन् ।’

कटवालका अनुसार विगतको लकडाउनमा ४० प्रतिशत उद्योगी र व्यवसायी पलाएन भएका थिए । अहिले काठमाडौं उपत्यमामा करिब १ हजार ५ सय जतिले सटर नै खाली गराएका उनको अनुमान छ ।

‘केही व्यवसायीले कपडाको ठाउँमा तरकारी र स्वाथ्य सामग्रीहरुको व्यापार गरेर गुजाराको बाटो खोजिरहेका छन्,’ उनले भने ।

काठमाडौं उपत्यकामा करिब ५० हजारले सटरमा व्यवसाय गरिहेका छन् । उनीहरुले ५ हजारदेखि १० लाखसम्म भाडा तिर्ने गर्छन् । बन्दको कारणले व्यापार व्यवसाय चौपट भएपछि थोरै भाडा तिर्ने साना व्यवसायीले सटर छाडेका हुन् । ठूला व्यवसायीले भने यसरी छाडेर हिँडिहाल्न कठिन हुन्छ ।

घर भाडा र बैंकको व्याजका कारण ठूलो व्यापारी संकटमा कटुवालले बताए ।

उनले भने, ‘कर तिर्ने समय आएको छ । व्यवसायीहरु नै व्यवसाय छोडेर बसेका छन् । यस्तो समयमा कर तिर्न सक्ने अवस्था छैन । सटरकै भाडा कसरी तिर्ने भन्ने चिन्ताले व्यवसायीहरुलाई सताएको छ ।’

सरकारले बजेटमार्फत दिने भएको पुनःकर्जा पनि नेताका आफन्त र पहुँच भएकाहरुले मात्रै पाउने भएकाले साना व्यवसायीहरु धेरै पलायन हुने अवस्था आएको कटुवालले बताए ।

नेपाल चेम्बर अर्फ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले पनि व्यापारीक केन्द्र न्युरोड, असन र दवारमार्ग लगायतको ठाउँमा धेरै सटर खाली भएको बताए ।

उनले भने, ‘व्यापारिक केन्द्रको मुटु भनेर चिनिएको दरवारमार्ग र न्युरोडलगायतको ठाउँमा सटर खाली भएको छ । व्यवसायीले भाडा तिर्न नसक्ने अवस्था आएकोले सटर नै छाडेका छन् ।’

पहिलेको बन्दबाट केही माथि उठ्न लागेको व्यवसायलाई कोरोनाले फेरी ढालेको उनले बताए ।

घर धनीहरुले पनि बैंकको व्याज तिर्नुपर्ने र घरभाडा नै आयस्रोत भएको भन्दै भाडा छुट दिन सकेका छैनन् । सरकारले बजेटमार्फत व्यवसाय सञ्चालन गरेका भवनहरुको बन्दभरी ५० प्रतिशत भाडा छुट दिने भने पनि त्यो कार्यान्वयन हुनसक्ने अवस्था छैन ।

पहिले बन्दमा पनि घरभाडा छुट दिने कुरा आएको थियो । स्थानीय सरकारले नै कानुन बनाएर घरभाडा छुट दिनसक्ने व्यवस्था रहेको छ । तर अहिलेसम्म घर भाडा छुट दिने कानून निर्माण भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *