फ्ल्यासब्याकमा मोहन निरौला : म जनता थिएँ जेल हाले, नरोत्तम नेता भएकाले माफी मागे पुग्यो – Nepal Press

फ्ल्यासब्याकमा मोहन निरौला : म जनता थिएँ जेल हाले, नरोत्तम नेता भएकाले माफी मागे पुग्यो

२१ वर्षअघि कलाकार निरौलाले प्रधानमन्त्री गिरिजाप्रसादलाई गोली हान्छु भनेका थिए

काठमाडौं । २१ वर्षअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई गोली हान्न तयार छु भन्ने अभिव्यक्ति दिएपछि कलाकार तथा निर्देशक मोहन निरौला पक्राउ परेका थिए ।

ठीक २१ वर्षपछि वागमती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोली हान्छु त भनेनन् तर गोड्से बन्न तयार छु भनेर हत्या गर्न तयार रहेको अभिव्यक्ति दिए ।

आजकालका धेरै मान्छेले मोहन निरौलालाई बिर्सिसकेका छन् । नरोत्तम वैद्यको विवादस्पद अभिव्यक्तिले कुनै बेलाका चर्चित कलाकार निरौलालाई सम्झाइदिएको छ । के भन्छन् निरौला अहिले ?

नेपाल प्रेसको सम्पर्कमा आएका निरौलाले शनिवार नरोत्तम वैद्यले प्रदेशसभा बैठकमै उभिएर माफी मागेको समाचार पढेपछि आफ्नो प्रतिक्रिया राखिदिन आग्रह गरे ।

उनले भने- वैद्य नेता भए उनलाई राजनीतिक दबाबमा माफी मगाएपछि छाडिहाले नि । हामी जनतालाई त सजाय गर्ने हुन् । त्यसबेला म १५ दिन भूभिगत भएँ,अन्तिममा पक्राउ गरेर जेल हालेका थिए अदालतबाट छुटेँ ।

के थियो घटना ?

नेपालमा बहुदलीय व्यवस्था स्थापना भएको १० वर्षमै व्यवस्था बदनाम भइसकेको थियो । अहिले जस्तै दलहरुभित्र विकृतीले सरकार बन्ने र ढल्ने सांसद किनबेचका खेल भइरहेका थिए ।

एकातिर माओवादीले सशस्त्र युद्ध चलाइरहेको थियो भने अर्कोतिर वहुदलीय व्यवस्थाको विकृतिका कारण उत्पन्न जनताको असन्तुष्टीलाई दरबारले उपयोग गरिरहेको थियो ।

‘राजा आऊ देश बचाऊ’ अभियान चलाइरहेका एकजना अभियन्ता थिए मोहन निरौला । त्यसबेला चर्चित टेलिसिरियल र फिचर फिल्ममा समेत नाम कमाएका निर्देशक निरौला दरबार नजिकका मानिन्थे ।

तत्काली राजा वीरेन्द्रका भाइ पूर्व अधिराजकुमार धिरेन्द्र शाहसँग भित्रभित्रै माओवादीका नेताहरु पनि वार्तामा थिए । अधिराजकुमार पदवी खोसिए पनि दाजुको पक्षमा सक्रिय थिए ।

५७ सालमा राजावादी कलाकार मोहन निरौलाले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई आफैं गोली हान्न तयार भएको भनी भाषण गरेवापत उनी गिरफ्तार भएका थिए । उनी त्यसबेला परिवर्तन नेपाल नामक संस्थामार्फत राजालाई सक्रिय बनाउने गतिविधिमा संलग्न थिए । पर्यटन बोर्डको हलमा अधिराजकुमार धीरेन्द्र शाहको उपस्थिति रहेको कार्यक्रममा उनले त्यस्तो बोलेका थिए ।

निरौलाले भनेका थिए– गिरिजा भ्रष्टाचारी हो । यस्ता भ्रष्टलाई छानीछानी गोली हानुपर्छ । यसका लागि म तयार छु ।

प्रहरीले खोजेपछि उनी केही दिन भूमिगत भए । आइजिपी खरेलका दाइ तथा वरिष्ठ चलचित्रकर्मी यादव खरेलमार्फत गिरफ्तार नगर्ने कुरा मिलाएर उनी भूमिगत जीवनबाट निस्किए । तर, गृहमन्त्री खुमबहादुर खड्काको निर्देशनमा पुतलीसडकस्थित परिवर्तन नेपालको कार्यालयबाटै गिरफ्तार भए ।

गिरिजाप्रसाद कोइराला अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली जस्तै थिए । कि त उनका समर्थकमात्र थिए कि त उनका विरोधीमात्र । एमालेले गिरिजाप्रसादलाई लाउडा विमान भ्रष्टाचार काण्डमा संलग्न भएको भन्दै ५७ दिन संसद अवरोध गरेको थियो भने सडक आन्दोलनमा केही एमाले कार्यकर्ताको ज्यान समेत गएको थियो ।

निरौलाले प्रधानमन्त्रीको हत्या गर्छु भनेपछि उनलाई प्रहरीले पक्राउ गर्न खोज्यो । उनी १५ दिनसम्म भूमिगत बसे । कोइराला समर्थकले उनलाई दरवारले लुकाएको आरोप समेत लगाएका थिए ।

त्यसबेला आइजीपी थिए अच्युतकृष्ण खरेल, जसको दरवारसँग खटपट थियो । अन्ततः उनलाई वडा प्रहरी कार्यालय सिंहदरवाारले पक्राउ ग¥यो । तर जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएपछि आफू छुटेको निरौला सम्झिन्छन् ।

निरौलालाई जिम्मा लिन कलाकार रविन्द्र खड्का गएका थिए, जो पछि राजा ज्ञानेन्द्रको शासनकालमा पनौतीको मेयर बने । अझ रोचक संयोग त के भने नरोत्तम वैद्यको अभिव्यक्तिलाई एमालेकै माधव नेपाल पक्षका नेता मेटमणी चौधरीले समर्थन जनाए जस्तै त्यसबेला निरौलाको अभिव्यक्तिको समर्थन गर्दै तत्काली विद्रोही माओवादीका नेता डा.बाबुराम भट्टराईले कान्तिपुर दैनिकमा लेख लेखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर