यी अपवाद सांसद जो प्रतिनिधिसभा विघटनपछि फर्किए आफ्नै खेतबारीमा

‘अहो तपाईं, यस्तो अवस्थामा !’ शीरदेखि पाउसम्म नजर डुलाएपछि उनका मतदाताले जिल खाँदै जिब्रो टोके ।

पहिले सुटेडबुटेडमा ठाँटिने आफ्ना जनप्रतिनिधि यतिबेला मैलो सर्ट, झन् मैलो टोपी र थोत्रो हाफ पेन्टमा उभिएका छन्, आफ्नै अघिल्तिर । हातमा खुर्पा लिएर बारीतिर लम्किरहेका उनलाई मुस्किलले चिन्न सकिन्थ्यो ।

‘माननीयले खुर्पा भिरेको सुहाएन,’ भोटरले अनुहार खुम्च्याउँदै भने, ‘मन्त्री हुनुपर्ने मान्छे । मन्त्रालय धाएर प्रधानमन्त्री भेट्नुपर्ने बेला कहाँ खेतबारीतिर बरालिनुभएको ?’

खेतबारी गर्दा जम्काभेटहरूमा यी प्रश्नले केदार सिग्देललाई घेरिरहे । यो उनका मतदाताको प्रश्न मात्र नभई सद्भाव पनि थियो । त्यसैले उनले मुस्कुराउँदै धन्यवाद दिए ।

०००

प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि सिग्देल पदमुक्त भए । कतिपय सांसद अवसरको दौडधुपमा काठमाडौं ढुकेर बसे । तर उनी बसेनन्, सोझै तनहुँ हुँइकिए । आफ्नो पुर्ख्यौली घर पुगे, भिमाद नगरपालिका-१ को बाेमा, किमुमा ।

घरमा बस्दा उनको आँखा रित्तो गोठमा पर्‍यो । कानमा वर्षौंअघि कराएका गाईवस्तुको आवाज गुन्जिए । मन चस्स भयो । घर वरिपरीका बारी नियाले । जमिन झाडीहरूले छोपिएका थिए । खेतमा ओर्लिए । माटोहरू चट्टानजस्तै साह्रा भइसकेका थिए । उनी चिन्तित हुँदै सोचे, ‘सेवामा लाग्दालाग्दै पेशा छाडेछु ।’

२० वर्षअघिसम्म खेतमा लहलह धान झुलेका हुन्थे । अन्न फलेका हुन्थे । जब केदार २०६५ मा एमाले जिल्ला अध्यक्ष बने, पूर्णकालीन राजनीतिले उनको किसानी छवि बदल्यो । सदरमुकाम बसेर पार्टी र सामाजिक काममा व्यस्त भए । त्यसपछि फर्किएर खेतबारीको काम गर्ने मौका मिलेन पनि । ०७४ मा प्रतिनिधिसभाको सांसद भए । त्यसपछि काठमाडौंमै उनको व्यस्तता चुलियो ।

लामो अवधिपछिको यो फुर्सदमा गाउँ बसेपछि उनले पुराना दिनहरू सम्झिए । कुटो, कोदालो बोकेर डल्ला फोरेको सम्झिए । ‘अब फेरि यी बाँझा जमिनलाई उर्बर बनाउनुपर्‍यो,’ उनले निर्णय गरे ।

तर गर्ने कसरी ? मरूभूमि बनिसकेका जमिन पल्टाउन चट्टान फुटाउनुसरी थियो ।

‘खाडी भासिनेहरूले योभन्दा कठिन काम गर्छन् । यति त सकिन्छ,’ उनले अड्डी कसे ।

घरका ३/४ जना जुटाएर उनी झाडी उखेल्नेतिर गए । उखेलेका झाडीमा आगो लगाएर पोले । त्यसपछि जोत्ने र खन्ने काम गरे । केहीदिनको अथक मेहनतले जमिन योग्य भयो । मकैका बीउ छरे ।

सुक्नै लागेका सुन्तला र कागतीका बोटहरू गोडमेल गरे । त्यतिले मात्र पुगेन । केही नयाँ बिरुवा पनि रोप्नु थियो । कृषि र वन कार्यालयमा सम्पर्क गरेर फलफूलका डेढ सय बिरुवा मगाए । र धमाधम काम थाले ।

रित्ता गोठमा गाईवस्तु थपे । गोठलाई मर्मत गरे । र पूर्णकालीन राजनीतिमा होमिएका केदार अहिले किसानको भेषमा खेतबारीमा दौडिरहेका छन् ।

यी किसानसँग आफ्नो भोटरले चाहेजस्तो मन्त्री बन्ने उस्तो रहर छैन । बरु ‘खेतबारीमा किन’ भन्ने प्रश्नमा उनको जवाफ छ, ‘म यही श्रमबाटै हुर्किएको हुँ । मलाई उत्पादनसँग जोडिनु छ । मन्त्री बन्न मन्त्रालय घुमेर भन्दा श्रम गरेर मैले क्षमता देखाउने पो हो ।’

सुरु सुरुमा आश्चर्य मान्नेहरू अहिले उनका किसानी कर्मबाट प्रभावित छन् । भन्छन्- तपाईंले त प्रेरणा दिनुभयो ।

०००

उनी ६० वर्षका भए । कृषि नगरेको लामो समयको ग्याप । सुरुका दिनहरूमा निकै गाह्रो भयो । जिउ दुख्यो । ‘राजनीतिमा शारीरिक भन्दा मानसिक श्रम बढी हुन्थ्यो । तर किसानले न घाम भन्न पाउँछ न वर्खा । म डटेरै लागेँ,’ केदार सुनाउँछन् ।

१० रोपनी बारी, १० रोपनी खेत र पाखो घाँसको लागि १५ रोपनी खरबारी छ उनको । बारीमा मकै, तोरी, कोदो, मास उब्जनी हुन्छ । उनले अहिले भएको जमिनको आधामात्र ठाउँमा काम गरेका छन् । अब पूरै जमिनमा गर्ने सोच बनाएका छन् ।

केदारलाई अहिले काम गर्न पनि बानी परिसक्यो । जिउ दुख्न पनि छाडिसक्यो । घाममा आङहरू पोल्न छाडिसके । बरु बाँझो जमिन देख्दा पोलेका मन अहिले शीतल भए । झनै शितल त बिर्सिएका कामहरूमा अभ्यस्त हुँदा भए । खेतबारीको काममा डोको र नाम्लो चाहिन्थ्यो । लकडाउनका कारण किन्ने अवस्था थिएन । साथीभाइसँग डोका बुन्न, नाम्लो बुन्न र चोया निकाल्न सिके ।

कागती र सुन्तलाहरू कसरी रोप्ने, ज्ञान थिएन । कृषिविज्ञसँग सोधेर कसरी रोप्ने, कति दुरी र गहिराइमा रोप्ने भन्नेबारे ज्ञान लिए । आधुनिक कृषि प्रणाली अबलम्बन गर्न सिके ।

केदारको ध्यान सार्वजनिक चौतारा र बगैंचामा पनि पुग्यो । गाउँमा पहिला सार्वजनिक ठाउँमा आँप रोप्ने चलन थियो । त्यसरी रोपिएका बगैंचा नासिएको र केही बोट रोग लागेर बिग्रिएको देखे । लगत्तै टोल छिमेकमा पनि साथी भाइ जम्मा गरे ।

‘यसको संरक्षण गनुपर्छ, बोट बिरुवा जोगाउनुपर्छ, सार्वजनिक सम्पत्तिको पनि रक्षा गर्नुपर्छ’ भनेर छलफल चलाएपछि ती काममा पनि उनी जोसिएका छन् ।

०००

योसँगै राजनीति र सामाजिक काममा पनि सक्रियता छ उनको । कोभिडको रोकथामका लागि आफ्नो तर्फबाट भूमिका खेलेकै छन् ।

‘स्वास्थ्यसामग्री जुटाउन जिल्लामा रहेका सबै स्वास्थ्य संस्था र स्थानीय तहसँग, कार्यकारीसँग समन्वय गरेर पहल गरेको छु । कोभिड नियन्त्रणका लागि सक्दो भूमिका खेलेको छु,’ उनी भन्छन् ।

नेकपा एमालेका जिल्ला अध्यक्ष पनि हुन् केदार । पार्टीका संगठनात्मक काम टेलिफोन र भर्चुअलबाट गरिरहेका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा चलिरहेको छ । यदि संसद पुनःस्थापना भयो र नियमित सम्हाल्नुपर्ने काम भयो भने के गर्ने ?

त्यसबारे नसोचेका हैनन् ।

तर फेरिएको उनको दैनिकीले नयाँ पाठ सिकाएको छ । बिहान पाँच बजे उठेर कुँडो, घासँपानी गर्दा होस् वा दिउँसो खेतबारी जोत्दा । किसानको समस्या उनी किसान भएर सोचिरहेका छन् । उत्पादनबारे नागरिक भएर सोचिरहेका छन् ।

यिनै सोचाइले उनको मनसाय बनेको छ- अब सांसद बनुँ, या मन्त्री । तर खेतबारी बाँझो हुन दिन्न !

तस्बिरहरु : प्रकाशचन्द्र भट्टराई ।

प्रतिक्रिया

3 thoughts on “यी अपवाद सांसद जो प्रतिनिधिसभा विघटनपछि फर्किए आफ्नै खेतबारीमा

    1. मेहनेती हातलाई सलुट १ प्रेरणा को स्रोत बनेर देखाउनु भयो !

  1. जीवन्त स्टोरी । यस्ता जनप्रतिनिधिका कुरा जीवन्त रुपमा पढ्न पाउनु पनि गर्मी महिनामा चिसो हावा पाए जस्तै हो । सबै खराब छैनन । हो, केही असलहरुले खराब गतिविधिहरु ढाकछोप गर्न सकेका छैनन । तर, विउ जोगिएकै छ । धन्यवाद नेपालप्रेस र समर्पण श्री जीलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *