बजेटपछि कति घट्यो विद्युतीय सवारीको मूल्य ? (सूचीसहित) – Nepal Press

बजेटपछि कति घट्यो विद्युतीय सवारीको मूल्य ? (सूचीसहित)

काठमाडौं । बजेट भाषणले कर घटाएपछि नेपालमा विद्युतीय गाडीको मूल्य पनि घटेको छ । सरकारले जेठ १५ गते याएको नयाँ आर्थिक वर्षको बजेटले विद्युतीय गाडीमा लाग्ने भन्सार र अन्तशुल्क घटाएको थियो ।

भन्सार र अन्तशुल्कको नयाँ दर बजेट भाषण भएकै दिनदेखि नै लागू हुने गरेको छ । त्यसअनुसार विद्युतीय गाडीको भन्सार र अन्तशुल्क जेठ १५ गतेबाट नै कार्यान्वयनमा आएको अर्थसचिव शिशिर ढुंगानाले बताए ।

पहिलेका अर्थमन्त्री डा. युवराज खतिवाडाले विद्युतीय गाडीको अन्तशुल्क शून्यबाट ६० प्रतिशत र भन्सार शुल्क पनि वृद्धि गरी ४० प्रतिशत पुर्याएका थिए । त्यसपछि नेपालमा विद्युतीय गाडीको मूल्य वृद्धि भएर माग घटेको थियो । तर, आगामी वर्षको लागि आएको नयाँ बजेटले विद्युतीय गाडीको अन्तशुक घटाएको र भन्सार दर पनि ४० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ ।

सरकारले नयाँ बजेटमार्फत विद्युतीय गाडीको भन्सार र अन्तशुल्क घटाएसँगै विद्युतीय गाडीको मूल्य घटेको छ ।

नेपाली बजारमा हुन्डाई, बीवाईडी, एमजी, दिगो र डेरी लगायतका कम्पनीले विद्युतीय गाडी बिक्री गरिरहेका छन् । नेपालमा बिक्री हुँदै आएको विद्युतीय कारमा सबैभन्दा संस्तो डेरीको कार हो भने सबैभन्दा मंहगो हुन्डाईको रहेको छ ।

कुन गाडीको नयाँ मूल्य कति ?

डेरी

नेपाली बजारमा विक्री हुने विद्युतीय कारमध्ये डेरीको इभी ७ कार नै सबैभन्दा सस्तो हो । भन्सार र अन्तशुल्क घटेपछि यो गाडीको नयाँ मूल्य १९ लाख ५० हजारमा झरेको छ । यसको पुरानो मूल्य २६ लाख ९९ हजार थियो ।

नेपालमा डेरीका गाडी अटोहोस्टले बिक्री गर्दै आएको छ । सो कार चीनमा उत्पादन हुन्छ । इभी ७ मा १७ किलोवाट पावर क्षमताको लिथियम एनसीएम ब्याट्री हुन्छ ।

अटोहोस्टका निर्देशक नवराज पौडेलले डेरीले उत्पादन गरेको इभी ७ र इआर ७ कारको मूल्य घटेको बताए ।

उनले भने, ‘इभी कारको मूल्य २६ लाख ९९ सय हजारबाट घटेर १९ लाख ५० हजार कायम भएको छ । अर्को ईआर ७ कार पनि ९५ लाखबाट घटेर ६० लाख रुपैयाँ नयाँ मूल्य रहेको छ ।’

इभी एकपटक चार्ज गरेपछि २६० किलोमिटर र इआर कार एकपटक चार्ज गरेपछि ३ सय किलोमिटर गुड्ने पौडेलले बताए ।

दिगो

दिगोले इ ८ कार नेपालमा बिक्री गर्दै आइरहेको छ । यो पनि चिनियाँ उत्पादन नै हो । इ ८ मा १५.२ किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री प्रयोग गरिएको हुन्छ ।

कम्पनीका अनुसार दिगोको इ ८ विद्युतीय कारको नयाँ मूल्य २१ लाख ९४ हजार ५ सय तोकेको छ । अन्तशुल्क र भन्सार घट्नुभन्दा पहिले २४ लाख ९४ हजार रूपैयाँ मूल्य थियो । यो कार २ घन्टामा नै फुल चार्ज हुन्छ । भने एकपटक चार्ज गरेपछि १५० किलोमिटर गुड्ने कम्पनीले बताएको छ ।

बीवाईडी

बीवाईडी कम्पनीले बीवाईडी एम ३ विद्युतीय कार नेपालमा बिक्री गरिरहेको छ । एम बीवाईडी ३ को नयाँ मूल्य ४८ लाख रहेको बिवाईडीका सेल्स हेड लुजाह महर्जनले बताए ।

बीवाईडी एम ३ कारलाई फुल चार्ज गर्न ३ घन्टा समय लाग्छ भने एकपटक चार्ज गरेपछि ३१० किलोमिटर गुड्छ ।

महर्जनले भने, ‘सरकारले भन्सार र अन्तशुल्क घटाएपछि विद्युतीय गाडीको माग बढेको छ । हामीले बिक्री गर्दै आइरहेको बीवाईडी एम ३ को पनि ६२ लाखबाट मूल्य घटेर ४८ लाख कायम भएको छ ।’

सो कम्पनीले अब अन्य विद्युतीय गाडीहरु पनि नेपाल ल्याएर बिक्री गर्ने तयारी गरेको महर्जनले बताए ।

हुन्डाई

हुन्डाई कम्पनीले पनि गाडीको मूल्य घटाएको छ । हुन्डाईले नेपालमा कोना विद्युतीय गाडी बिक्री गर्दै आइरहेको छ ।

बिक्रेता लक्ष्मी हुण्डाईले बजेटअघिको तुलनामा एउटा गाडीमा १८ लाख रुपैयाँसम्म मूल्य घटाइएको जानकारी दियो ।

हुण्डाईले बिक्री गर्दै आएको ‘कोना’ विद्युतीय कारको नयाँ मूल्य ५६ लाख ९३ हजार तोकिएको छ । पहिले सो कारको मूल्य ७४ लाख ९६ हजार थियो ।

एमजी

एमजीले नेपालमा बिक्री गर्दै आएको एसयूभ इजेडएस विद्युतीय कारको पनि बजेटपछि मूल्य घटेको छ । कम्पनीका अनुसार पहिलेको तुलनामा अहिले ९ लाख मूल्य घटेको हो ।

पहिले ६८ लाख ९९ सय हजार मूल्य पर्ने विद्युतीय इजेडएसको कारको मूल्य घटेर मूल्य ५९ लाख ९९ हजारबाट ५० लाख ९९ हजार कायम भएको छ ।

माग बढ्ने आशा

कर वृद्धि हुनुभन्दा पहिले नेपालमा विभिन्न कम्पनीका १ हजार थान विद्युतीय गाडी बिक्री हुने गरेका थिए । तर, गत वर्ष कर वृद्धिसँगै मूल्य बढेपछि उपभोक्ताले विद्युतीय गाडीमा चासो राख्न छोडे । अब फेरि विद्युतीय गाडीमा आकर्षण बढ्ने व्यवसायीको अपेक्षा छ ।

अर्थमन्त्रीले पेट्रोलियम पदार्थबाट चल्ने हलुका सवारीसाधनलाई २०८८ सम्ममा विद्युतीय सवारीसाधनले विस्थापित गर्ने रणनीतिक योजनासमेत अघि सारेका छन् ।

अहिले उपत्यकामा विद्युतीय बस र विद्युतीय टेम्पो सञ्चालनमा छन् भने त्यसका लागि ३१ वटा चार्जिङ्ग स्टेशन छन् । एक स्टेशनमा दैनिक २० देखि ३० वटा टेम्पोको ब्याट्री रिचार्ज गर्न मिल्छ । तर, पाँच वर्षयता भने विद्युतीय टेम्पोको नयाँ दर्तामा रोक लगाइएको छ । नेपालमा पछिल्लो समय विद्युतीय रिक्सा पनि सञ्चालन भइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर