निषेधाज्ञामा पनि रोकिएन नदीजन्य वस्तुको अबैध दोहन – Nepal Press

निषेधाज्ञामा पनि रोकिएन नदीजन्य वस्तुको अबैध दोहन

रुपन्देही । बन्दाबन्दी भए पनि अहिले रुपन्देहीका नदी तथा खोला छेउछाउ पुग्दा त्यो अनुभूति हुँदैन । व्यवसायीले सरकारले नदीजन्य पदार्थ छूट गरेको दावी गरेका छन् भने प्रहरी प्रशासनले यसलाई गैरकानूनी भनेको छ ।

रोडाढुंगा व्यवसायीका नेताले नै सरकारले अहिले दिएको अधिकार सबै व्यवसायीले नबुझ्दा समस्या आएको दावी गर्छन् । रुपन्देही प्रहरीले गैरकानूनी रुपमा खोलानालाबाट ढुंगा, गिट्टी र बालुवा संकलन गरिरहेको भन्दै धमाधम कारबाही प्रकृया अगाडि बढाएको छ । जिल्लाका विभिन्न स्थानबाट प्रहरीले यस्तो काममा लागेका टिपर, ट्याक्टर र एक्साभेटर मेसिन नियन्त्रणमा लिएको छ ।

रुपन्देही प्रहरीले एकैदिन २२ वटा टिपर, तीनवटा ट्याक्टर र एउटा एक्साभेटर उपकरण नियन्त्रणमा लिएको हो । मापदण्डविपरीत एक्साभेटर मेसिन नै प्रयोग गरेर नदीजन्य सामग्री उत्खनन् गरिएको पाइएपछि नियन्त्रणमा लिइएको रुपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले बताएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय छपिया र इलाका प्रहरी कार्यालय सूर्यपुराको टोलीले ठूलो मात्रामा टिप्पर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका सबै साधनलाई आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समितिमा पठाइएको छ ।

रुपन्देही प्रहरीले बुटवल, बेलहिया मंगलापुर, महुबारीलगायत ठाउंबाट १० वटा टिप्पर नियन्त्रणमा लिएको छ । गैरकानूनी रुपमा नदीजन्य सामग्री उत्खनन् गरेको पाइएपछि टिपरहरु नियन्त्रणमा लिएर कारबाहीको लागि पठाइएको केसीले बताए ।

यसैगरी इलाका प्रहरी कार्यालय मंगलापुरको टोलीले लु ३ त ८१८६ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको थियो । यस्तै, बेलहियाको टोलीले लु २ त २७६९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको केसीले बताए । मझगावाको टोलीले कोटहीमाई गाउँपालिका वडानम्बर ४ बरहदवाबाट पनि पोखरी खनिरहेको एक्साभेटर नियन्त्रणमा लिएको छ । देवदह नगरपालिकाको वडा नंं ९ घोडाहा खोलामा बुधवार विहान दर्जनाैं टिप्पर र एक्साभेटर नदी उत्खनन्को लागि लाइन लागेका थिए ।

लकडाउनको समयमा समेत वेवास्ता गर्दै दर्जनौं टिप्पर र एक्साभेटरहरु नदीजन्य वस्तु उत्खननमा लगाइएको भन्दै स्थानीयले विरोध गरेका छन् । नेपाल रोडाढुंगा व्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्ष तथा रुपन्देहीका व्यवसायी गोपाल ज्ञवालीले प्रशासन र व्यवसायीको केही विषयमा समस्या देखिएकाले यस्तो भएको बताए ।

लकडाउनको समयमा प्रशासनले खोलाछेउमा डम्पिङ गर्न दिए पनि व्यवसायीले अन्यत्र लगेकाले यस्तो भएको उनले बताए । ज्ञवालीले रुपन्देहीबाहेक अन्य जिल्लामा निर्माण सामग्री नरोकिएको विषय प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको र केही दिनमा सहज हुने अपेक्षा गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *