एमालेका १२ भाइसँग मौखिक सोधपुछ, आलटाल गरेपछि स्पष्टीकरण पत्र पठाइँदै – Nepal Press

एमालेका १२ भाइसँग मौखिक सोधपुछ, आलटाल गरेपछि स्पष्टीकरण पत्र पठाइँदै

काठमाडौं । नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र आफ्नो सरकार ढाल्न हस्ताक्षर गर्ने १२ जना नेतालाई आज स्पष्टीकरण पत्र पठाउने भएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले १२ घण्टाको समय दिएर स्पष्टीकरण पत्र काट्न लागेको नेपाल प्रेसलाई जानकारी दिए । सोमबार बसेको स्थायी कमिटी बैठकले झलनाथ खनाल, माधव नेपालसहितका ११ जना नेताहरुलाई पार्टीको साधरण सदस्य समेत नरहने गरि निष्कासन गरेको थियो।

बैठकले नेपाल पक्षका बाँकी रहेका १२ जनालाई पनि कारवाही प्रक्रिया अघि बढाउँदै १२ घण्टे स्पष्टीकरण निर्णय गरेको थियो । विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण सोधिएको छ ।

बैठकले दुई दिनअघि नै स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको भए पनि यो बीचमा उनीहरूलाई सम्झाउने प्रयास संस्थापन पक्षले गरेको थियो। संस्थापननिकट एक नेताले यो बीचमा उनीहरूलाई सम्झाउने प्रयास भए पनि खासै उपलब्धी हासिल नभएको जानकारी नेपाल प्रेसलाई गराए।

स्पष्टीकरण सोधिएका पूर्वसांसदहरुलाई सम्झाउने प्रयास सफल हुन नसकेपछि आज एमालले स्पष्टीकरणको पत्र पठाउन लागेको हो । सम्भवतः भोलि स्थायी कमिटी बैठक बोलाएर उनीहरुलाई पनि पार्टीबाट निष्कासन गर्ने निर्णय एमालले लिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर