उपचारबाट पन्छिनु अस्पतालको बाध्यता कि गैरजिम्मेवारी ? – Nepal Press

उपचारबाट पन्छिनु अस्पतालको बाध्यता कि गैरजिम्मेवारी ?

काठमाडौं । सरकारले अक्सिजन सिलिन्डरको कोटा तोकेसँगै अस्पतालले कोरोनाको नयाँ बिरामी भर्ना नलिने र उपचार गराइरहेकालाई पनि डिस्चार्ज गरिदिने बताउन थालेका छन् ।

नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र बढेसँगै अस्पतालमा संक्रमितको चाप बढेको छ । बेड र अक्सिजनको अभाव पनि देखिन थालेपछि उपचार नै नपाइ संक्रमितको मृत्यु भइरहेको समाचार पनि सार्वजनिक भइरहेको छ ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमितको उपचार गर्न उपत्यकाका अस्पतालहरुका लागि अहिले कोटा निर्धारण गरेको छ । अभाव हुन नदिन सबै अस्पताललाई चाप र आवश्यकताको आधारमा अक्सिजन उपलब्ध होस् भनेर त्यस्तो कोटा प्रणाली लागू गरिएको सीसीसीएमसीको भनाइ छ ।

अस्पतालको क्षमता हेरेर ५ वटादेखि ३ सयसम्म ठूला सिलिन्डरको कोटा तोकिएको छ ।

नर्भिक, ग्राण्डी, मेडिसिटी अस्पतालले अक्सिजन अभाव देखाउँदै बिरामी भर्ना नलिने बताइसकेका छन् । जोरपाटीस्थित नेपाल मेडिकल कलेजले पनि अस्पतालमा अक्सिजन नभएकोले बिरामी डिस्चार्ज गर्न भन्दै आफ्नो व्यवस्था आफैं गर्न बिरामीका आफन्तलाई भनेको थियो ।

उपत्यकाका अस्पताललाई तोकिए बमोजिम दैनिक न्यूनतम अक्सिजन सिलिन्डर भरेर उपलब्ध गराउन अक्सिजन उद्योगलाई सीसीएमसीले अनुरोध गरेको हो ।

अक्सिजन कोटा प्रणाली वैज्ञानिक : सीसीएमसी

सीसीएमसी सचिवालयका सहसचिव नूरहरि खतिवडाले सीसीएमसीले वैज्ञानिक तरिकाले नै काठमाडौं उपत्यकामा अक्सिजनको कोटा तोकेको बताए ।

सहसचिव नूरहरि खतिवडा

खतिवडाले भने, ‘अहिले देशैभर अक्सिजनको हाहाकार छ । ठूला अस्पातालले धेरै अक्सिजन लगेर सानाले नपाउने अवस्था भएकोले कोटा तोकिएको हो । अक्सिजन भएमा तोकेको कोटाभन्दा धेरै पनि प्रयोग गर्न सकिने छ । तर, अक्सिजनको अभाव भएकोले सबै अस्पतालले अक्सिजन पाउन भनेर कोटा तोकिएको हो । अक्सिजन बिक्रीमा चलखेल शुरू भएपछि सीसीएमसीले त्यसलाई रोक्न पनि कोटा तोकेको हो ।’

अक्सिजन उद्योगहरूले कालोबजारी गरेर अक्सिजन बिक्री गर्न शुरू गरेकोले सानादेखि ठूला सबै अस्पतालले अक्सिजन पाउन भनेर कोटा तोकिएको उनले बताए ।

अहिले अक्सिजनको कालोबारी गर्न नपाएका उद्योगीहरुले नै अक्सिजनको कोटा तोक्नु तलत हो भनिरहेका छन् । कोरोनाको बिरामी सबैले अक्सिजन प्रयोग गर्न सक्ने अवस्था ल्याउनका लागि कोटा तोकिएको खतिवडाले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘हामीले तोकेको कोटा न्यूनतम हो । अस्पतालले तोकेको कोटा पाउने अवस्था छ । पहिले ठूला अस्पतालले धेरै लिने गरेको थिए । र अन्यलाई उद्योगले नै धेरै पैसा लिएर बिक्री गरिरहेका थिए । हामीले कोटा तोकेपछि कालोबजारीमा अक्सिजन बेच्न नपाएर उद्योगीले विरोध गरेका हुन् । अहिले साना अस्पतालले पनि कोटा अनुसारको अक्सिजन पाएका छन् ।’

काठमाडौं प्रशासनले भन्यो- मानवीय संवेदनालाई ध्यान दिऊँ

जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमण तीव्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।

विभिन्न अस्पतालले अक्सिजन अभावको कारण देखाई बिरामीलाई अस्पतालमा भर्ना गर्न नसकिने तथा भर्ना भएका बिरामीलाई समेत उपचार गर्न नसकिने भन्दै सार्वजनिक सूचना जारी गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशासनले विज्ञप्ति निकालेरै मानवीय संवेदनशीलतामा ध्यान दिन भनेको छ ।

वर्तमान परिस्थितिमा संक्रमण नियन्त्रणका लागि अस्पताल, औषधि तथा अक्सिजनको व्यवस्थापनमा सबै पक्ष क्रियाशील भइरहेको जानकारी गराउँदै अक्सिजनको अभावलाई पूर्ति गर्न सबै पक्षबाट भइरहेको प्रयासलाई नजरअन्दाज गर्दै सार्वजनिक सूचनाका नाममा सर्वसाधारण जनतामा त्रास फैलाउने कार्य नगर्न पनि प्रशासनले चेतावनी दिएको छ ।

हेर्नुस् अस्पतालको विज्ञप्ति

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर