यी हुन् निषेधाज्ञामा पनि काम नरोकिएका ठूला आयोजना – Nepal Press

यी हुन् निषेधाज्ञामा पनि काम नरोकिएका ठूला आयोजना

काठमाडौं । प्रधानमन्त्रीले केही समय अघि एक कार्यक्रममा लकडाउन नभएको भए यो समयमा मेलम्ची उपत्यकामा आउन नसक्ने बताएका थिए । अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ । यो बन्दको समयमा पनि राष्ट्रिय गौरवका आयोजनाहरुको काम भइरहेको छ ।

सरकारले पछिल्लो समय विकास निर्माणको कामलाई महत्व दिँदै त्यस्ता आयोजनाको काम निरन्तर अगाडि बढाउने प्रवन्ध मिलाएको बताएको छ ।

पछिल्लोपल्ट निषेधाज्ञा सुरु भएको एक साता भएको छ । सरकारी स्तरबाटै सुरु भएका नागढुंगा सुरुङ मार्ग, संघीय संसद भवन, गोदावरी प्रदर्शनी केन्द्र, गौतमवुद्ध विमानस्थल, पोखरा विमानस्थल र पुष्पलाल मार्ग लगायतका ठूला आयोजनाहरुको काम सञ्चालन भइरहेका छन् ।

निषेधाज्ञामा पनि आवश्यक पर्ने पास, आयोजनलाई चाहिने समाग्रीको व्यवस्था गरेर सञ्चालन भइरहेको आयोजना प्रमुखहरुले बताएका छन् ।

कुन आयोजना कसरी सञ्चालन भइरहेका छन् ?

गोदावरी अन्तराष्ट्रिय प्रदर्शनी केन्द्र

ललितपुरको गोदावरीमा ३ हजार मानिस अट्ने सम्मेलन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अत्याधुनिक प्रविधिमैत्री यो सम्मेलन केन्द्र १ महिनामा निर्माण सम्पन्न हुनेछ ।

४३ रोपनीको क्षेत्रफलमा रहेको यो केन्दको १६ रोपनीमा बगैंचा तथा हरियाली उद्यान, ११ रोपनीमा सम्मेलन केन्द्र, ३ रोपनीमा आन्तरिक सडक र १३ रोपनीमा पार्किङ रहनेछ । आयोजना प्रमुख मचाकाजी महर्जनले गोदावरी अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रको काम बन्दमा पनि सञ्चालन भइरहेको र अब १ महिनाभित्र तयार हुने जानकारी दिए ।

‘हामीलाई काममा कुनै समस्या छैन । हामीले भित्रको काम गरिरहेका छौं । बाहिरको सबै काम सकिएको छ । अहिले अन्तिम कामको रुपमा कुर्ची हालिरहेका छन् । १ महिना भित्रमा सबै सम्पन हुने छ,’ महर्जनले नेपालप्रेससँग भने ।

नागढुंगा-नौबिसे सुरुङ मार्ग

निषेधाज्ञाको समयमा पनि नागढुंगा-नौबिसेको करिब २.७ किलोमिटर सुरुङ मार्गको काम निरन्तर सञ्चालन भइरहेको छ । आयोजनाले केही दिनको लागि आवश्यक पर्ने कच्चा पदार्थ पहिले नै ल्याएकोले काममा बाधा आएको छैन ।

आयोजनाका निर्देशक नरेशमान शाक्यले कामदारलाई राख्ने ठाउँ आयोजनास्थल सँगै भएकाले पनि निरन्तर सञ्चालन गर्न सहज भएको बताए ।

शाक्यले भने, ‘केही कामदारलाई कोरोना संक्रमण देखिएको छ । कोरोना देखिएकाहरुको उपचार गर्दै अन्य कर्मचारीलाई स्वास्थ्यको मापदण्ड पालना गरेर काममा लगाइरहेका छौं । देश भित्र र बाहिरबाट सामान ल्याउन सरकारले सहजीकरण गरेकोले काम गर्न कुनै समस्या छैन ।’

उनका अनुसार नागढुंगा सुरुङमार्गको काम १० प्रतिशत सकिएको छ । ५ हजार ४९७ मिटर सुरुङ मध्ये ४६९ मिटर सुरुङ निर्माण सम्पन्न भएको छ ।

काम सुरु गरेको १४ महिनाभित्र निर्माण सक्ने लक्ष्य सहित २४ घण्टा नै काम भइरहेको छ । जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेशनले ४ सय कर्मचारी खटाई काम गरिरहेको छ । सुरुङमार्ग चन्द्रागिरी नगरपालिकाको टुटीपाखादेखि धादिङको धुनिबेसी नगरपालिकाको सिस्नेखोलासम्म रहने छ ।

संघीय संसद भवन

सिंहदरबार भित्र बनिरहेको नयाँ संघीय संसद भवनको काम पनि निषेधाज्ञामा निरन्तर सञ्चालन भइरहेको छ । संघ र प्रदेशबाट समेत निर्माण सामाग्री ल्याउनका लागि पासको व्यवस्था गरेर काम निरन्तर अगाडि बढिरहेको छ ।

नयाँ संसद भवनको निर्माण आयोजनाका सहायक निर्देशक तथा सिनियर सिभिल इन्जिनियर हिमाल केसीले निषेधाज्ञामा पनि भवन निर्माणको काम नरोकिएको बताए ।

‘अहिलेसम्म २८ प्रतिशत काम सम्पन्न भएको छ । कामदार र निर्माण सामाग्री आयात समस्या छैन । उपत्यका भन्दा बाहिरबाट निर्माणमा प्रयोग हुने सामाग्री आयात गर्न आवश्यक पर्ने जिल्ला प्रशासनलाई पनि सामान आयातमा सहज गराउन पत्र पठाएका छौं । बन्दाबन्दी लामो समयसम्म रह्यो भने चाहिँ केहि समस्या हुन सक्छ,’ केसीले भने ।

यो भवन ३ वर्षमा काम सम्पन्न गर्ने सम्झौता भएको थियो । अघिललो वर्षको ६ महिने लकडाउनका कारण ६ महिना थप समय थप गरीएको छ । अन्य समस्या नरहेमा पछिल्लोपटक निर्धारण गरिएको मितिमै काम सम्पन्न हुने निर्देशक केसीले दावी गरे ।

नयाँ बन्दै गरेको संघीय संसद भवनको शिलान्यास २०७६ असोजमा भएको थियो । सिंहदरबारको उत्तरपूर्वमा १ सय ५१ रोपनी क्षेत्रफलमा भवन बनिरहेको छ । थपेको समय समेत जोड्दा २०७९ चैतमा निर्माण सम्पन्न गर्नुपर्नेछ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भित्री काम निषेधाज्ञामा पनि निरन्तर छ । विमालस्थल निर्माणमा खटिएका प्राविधिकहरु आवत–जावतमा भने केही समस्या आएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले स्थानीय कर्मचारीहरुले निरन्तर काम गरिरहेको बताए ।

अधिकारीले भने, ‘स्थानीय स्तरमा नै पाइने निर्माण सामाग्री पाउन भने केही समस्या भएको छ । विमानस्थल परिक्षण गर्न थाइल्यान्डबाट क्याली प्रेसन फ्लाइट (धावन मार्ग कस्तो छ भनेर परीक्षण गर्ने विषेश किसिमको जहाज) ल्याउनुपर्ने थियो । तर, अन्तर्राष्ट्रिय उडान बन्द भएकोले ल्याउन समस्या परेको छ ।’

काम अन्तिम चरणमा पुगे पनि धावन मार्ग कस्तो छ भनेर परीक्षण गर्न समस्या परेको अधिकारीले बताए ।

२०७१ साल माघ १ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास हुँदा २०१७ डिसेम्बरमा निर्माण सक्ने लक्ष्य थियो । तर नाकाबन्दी र कोरोनाको कारणले निर्माण समयमा नै सम्पन्न हुन सकेन ।

विमानस्थल चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टसँग ६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैयाँमा सम्झौता भएको थियो । निर्माण भइरहेका आयोजहरुलाई निषेधाज्ञाले कति असर पार्छ भन्ने कुरा बन्दको समयले नै निधारण गर्ने आयोजनाका प्रमुखहरुले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *