‘अब सभामुखले प्रदेश सभा चलाएर देखाउन्, हरेक दिन एउटा सांसद अनुपस्थित गराउँछु’ – Nepal Press
मुख्यमन्त्रीसँग नेपाल टक

‘अब सभामुखले प्रदेश सभा चलाएर देखाउन्, हरेक दिन एउटा सांसद अनुपस्थित गराउँछु’

फोहोरी खेल असफल भएपछि कांग्रेस-माओवादीले सभामुखलाई अनैतिक बनाए

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संघीयताका लडाकु नै हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रदेशहरू केन्द्रकै मातहतमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि उनले खुलेर विरोध गरेका थिए । अधिकार र कर्मचारी जति सबै सिंहदरबारमा थुपारेर प्रदेशलाई मात्रै नभई संघीयतालाई कमजोर बनाउने खेल भइरहेको बताउँदै आएका थिए ।

तर, पछिल्लो समय प्रदेशको राजनीति दिनानुदिन पेचिलो र सत्ता नै खतरामा पर्दै गएपछि भने मुख्यमन्त्री गुरुङले कहिले चालु संसद अन्त्य गर्ने त कहिले विवादित छविका सांसदलाई मन्त्री पदमा नियुक्त गरे । सांसदलाई मन्त्री हुन कानुनले नछेके पनि ‘सत्ता सुरक्षित’ गर्न चालिएको यस कदमले भने उनी आलोचित भइरहेका छन् ।

तर, मुख्यमन्त्री आफू संघीयता कार्यान्वयनमा कटिबद्ध रहेको र संघीयता कमजोर बनाउने काम विपक्षी दलहरूले नै गरिरहेको दाबी गर्छन् । आफूविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव पनि केन्द्रीय राजनीतिक विवादकै कारण ल्याएको र यसले संघीयतालाई बल नपुग्ने उनको ठम्याइ छ ।

प्रस्तुत छ,  नेपालप्रेसकर्मीसँग मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेको कुराकानीको सम्पादित अंश :

मुख्यमन्त्रीका रुपमा तपाईंलाई संघीयताको पक्का पक्षधरका रुपमा लिइन्छ । यसबारे आफ्नै संघीय सरकारको व्यवहारलाई पनि पटकपटक खुलेरै विरोध पनि गर्दै आउनुभो । तर, पछिल्लो समय कहिले संसद अन्त्य गर्ने, विवादित छवि भएका सांसदलाई मन्त्री बनाउने जुन गतिविधि, क्रियाकलाप गर्नुभयो । यसले संघीयता विरोधीलाई बल पुग्यो । मुख्यमन्त्री पिएसले ‘कित्ता क्लियर’ गर्‍यो भन्ने प्रश्न उठाइरहेका छन् नि ?

यो राजनीतिलाई फोहोरी खेलतिर लैजाने कामचाहिँ हाम्रो राजनीतिक दलहरूले नै गर्नुभो । हाम्रो नेताहरू त्यो बाटोमा जान चाहेनन् । संघीयताको पक्षमा सुरुका दिनदेखि आजसम्म त्यसप्रतिको मेरो विश्वास, मेरो कमिट्मेन्ट, मेरो अवधारणा, मेरो दृष्टिकोणमा कुनै परिवर्तन छैन । आरोपका लागि त जे लगाए पनि भो ।

पछिल्लो समय प्रदेशमा जुन राजनीतिक घटनाक्रम भइरहेका छन्, यसमा तपाईंको धारणाचाहिँ के हो ?

अहिले गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले अनावश्यक रुपमा जसरी प्रदेशको राजनीतिलाई अस्थिरतातर्फ डोर्‍याउने काम गर्‍यो । अन्यौलतातर्फ धकेल्ने काम गर्‍यो ।

पछिल्लो कालमा उहाँहरूको निर्देशनमा सभामुखले जुन ढंगको अराजनीतिक काम गर्नुभो । अनिश्चितकालका लागि संसद स्थगन गरिदिनु भयो । यसले झन् अन्योल र अस्थिरतातर्फ धकेल्यो । यही कामको सफलताका लागि संघीयताको पक्षधरतालाई हटाउन चाहनु भएको हो ।

स्थिरताका साथ, संघीयता बलियो बनाउने अभियानलाई तीव्रताका साथ अगाडि बढाइरहेको प्रदेशले शासकीय क्षमता अभिवृद्धि गर्नका लागि विभिन्न संरचनाहरू निर्माण गर्दै आयौं । प्रदेशमा विकासको एउटा आधार तयार गर्दै गरेको र प्रतिफल आउनेबेला अविश्वास प्रस्ताव ल्याइयो ।

अविश्वास प्रस्तावमा मेरोविरुद्ध कुनै आरोप छैन । उहाँसँग कुनै आधारै छैन । यस्तोबेला उहाँहरू ‘हर्स ट्रेडिङ’मा लाग्नु भो । सांसदहरूलाई होटलमा भेडाबाख्रा थुनेझैं थुन्नु भो । आफ्नै सांसदको विश्वास छैन ।

तर, हाम्रो सरकारले कहिले पनि सांसदलाई थुन्ने, यताउता गर्ने सोच्या  छैन । यी सबै चिजले अस्थिरताको खेल खेल्ने शक्तिहरूलाई बल मिल्यो । यही भएरै मैले स्वतन्त्र सांसद राजीव गुरुङलाई मन्त्रीमा नियुक्त गर्‍या हो । व्यक्तिगत रुपमा यसमा मेरो सहमति, असहमति बेग्लै कुरा हो । मप्रतिको खुसी, बेखुसी बेग्लै कुरा हो ।

प्रदेशको राजनीति यसरी पेचिलो बनिरहेको बेला मन्त्री परिषद् विस्तार ठीक थियो त ?

राजनीतिमा ‘टिट फर ट्याट’ भन्ने हुन्छ । बिना कारण, बिना औचित्य, बिना सन्दर्भ प्रदेश सरकारलाई हटाउने जुन साजिस गर्नुभो । स्थिरताका लागि यसको प्रतिवाद गर्नुपर्छ । संघीयताको सही कार्यान्वयन गर्न म बसेको ठाउँबाट मात्रै गर्न सक्छु । मेरो सरकार बचाएर मात्रै गर्न सक्छु । राम्रो काम गर्ने प्रयासले नै मैले मन्त्री नियुक्त गरेको हुँ । यसलाई अन्य ढंगले व्याख्या गर्नु औचित्य रहँदैन ।

केन्द्रमा विकसित विवादको असर अहिले प्रदेशमा परिरहेको छ । केन्द्रकै कारण प्रदेशमा विवाद बढ्नु संघीयताको लागि के यो जायज हो ?

मलाई अहिले लागेको सबैभन्दा ठूलो आरोप भनेको केन्द्र सरकारले जुन खालको गतिविधि गर्छ । त्यसको साक्षी बस्यो, समर्थन गर्‍यो भनेर हो । राजनीतिमा आआफ्नो दृष्टिकोण छैन ? आफ्नो पार्टीको दृष्टिकोण छैन ? आफ्नो सरकारले गरेका कामहरुको बचाउ गर्नु पर्दैन ?

उहाँहरु (अविश्वास प्रस्ताव ल्याउने दल)ले बचाउ गर्नु भएको छैन ? मैले पनि त मेरो पार्टी बचाउनुपर्‍यो । पार्टीमा बसुञ्जेल त बचाउ गर्नुपर्‍यो नि ! राजनीतिक सहमति, असहमति एक ठाउँमा होला । त्यसको अर्थ अरु राजनीतिक दलका नेता वा प्रदेशको नेताहरुले भन्याजस्तो प्रधानमन्त्री केपी शर्मा ओलीको मतियार बन्यो भन्ने होइन । त्यसबारेमा मेरो पनि आफ्नै कुरा होला नि !

प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाइएका आरोपहरू सबै मिथ्या हुन् भन्ने मलाई लागिराखेको छ भने त्यसको प्रतिवाद् मैले गर्न पाउँदिन र ? राजनीतिक पूर्वाग्रहले मात्रै गरेको छ भने त्यसमा मैले खण्डन गर्न पाउँदिन र ? त्यतिको आधारमा प्रदेश सरकार चेन्ज हुन्छ ?

भनेपछि प्रदेश सरकारले एकदमै राम्रो काम गरिरहेको छ भन्ने तपाईंको दावी हो ?

सबभन्दा राम्रो काम गर्ने प्रदेश सरकार भनेर दुनियाँले भन्छ त । आज नेपालभरि सबै मान्छेले त्यही भनिराछन् । प्रदेशमा कसैले नगरेको काम गण्डकी प्रदेशले गर्‍या छ । अहिले नै स्याम्पिलिङ गरौं न । आम जनताले के भनिराछन् बुझौं न । गण्डकी प्रदेशका जनता सबै हामीसँग खुसी नै छन् नि ! योचाहिँ एउटा डाहा, ईर्श्या, पूर्वाग्रह राखेर त्यसको आधारमा आरोप लगाउनुभयो ।

अहिलेको आरोप पत्रमा आरोप त लगाउनै पर्‍यो । यसले धेरै विकास गर्‍यो भने यसलाई हामी हराउन सक्दैनौं भनेर बीचैमा हटाउन खोजेको भन्ने नबुझ्या कोही छैन । अनि मलाई संघीयता विरोधी भन्नुको कुनै तुक छैन । जसको खुट्टा छैन, उसकै नाम टेकबहादुर भन्याजस्तो जो संघीयताको विरोधी छन्, गठबन्धन बनाएर बस्या छन् । उनीहरूले संघीयता विरोधी भन्छन् ।

संघीयताबारे नेपाली कांग्रेसको प्रतिबद्धता के हो ? माओवादीको प्रतिबद्धता के ? आजसम्म उनीहरूसँग कुनै डकुमेन्ट छ ? मुखले भनेर मात्रै हुन्छ ? कुनचाहिँ जनजातिसँग सम्झौता गरेका छन् उनीहरूले ? हिजो मधेसीसँग कुनचाहिँ सम्झौता गर्‍यो ? आज उनीहरू संघीयताको पक्षधर हामी भनेर भन्नुको कुनै तुक छैन ।

तपाईंविरुद्ध गठबन्धन गरेर ३ दलले जुन अविश्वास प्रस्ताव ल्याए । त्यसमा लगाइएका आरोपबारे तपाईं के भन्नुहुन्छ ?

त्यो त उनीहरुको केटाकेटी तर्क हो नि !

पृथ्वीसुब्बा गुरुङलाई हटाउन केपी ओलीको समर्थन गरेको देखाउनु पर्‍यो । लोकतन्त्रको अस्थिरताको पक्षधर देखाउनुपर्‍यो । उसको पार्टीको छविले के भन्छ, उसको आजसम्मको कमिटमेन्टले के भन्छ ?

आस्था र निष्ठाको राजनीति गर्ने हिसाबले मैले के भन्छु भने निष्ठाको राजनीति भन्या के हुन्छ ? मलाई भनून् न । मेरो नैतिकतामाथि प्रश्न गरुन् न । मेरो आचरणमा प्रश्न उठाउनुस् । मैले भ्रष्टाचार गरें कि कतै ? व्यभिचार गरें कि ? जे काम गर्‍या छु, ट्रान्सप्यारेन्ट ढंगले गर्‍या छु । त्यसकारण मेरो क्रियाकलाप र राजनीतिक करियरबारेमा प्रश्न उठाउने कसैको हिम्मत छैन । योचाहिँ ठूलो कुरा हो । मैले एक थोपा पनि त्यो अवसर दिएको छैन । एक इन्च पनि दिएको छैन ।

यो सब माथि केन्द्रसँग रिस उठेका कारणले या कसैको डिजाइनमा म आज त्यसको शिकार भइराखेको छु । यसको प्रतिवाद गर्न कहिलेकाहीं ढुंगाको प्रतिवाद ढुंगाले गर्नुपर्छ, कहिलेकाहीं बन्दुकको प्रतिवाद बन्दुकले दिनुपर्छ । बन्दुकको प्रतिवाद फूलले दिएर अब काम छैन ।

तपाईंमाथि एउटा आरोप छ-  ‘विपक्षी दलमाथि सधैं खनिने, अस्तित्व नस्विकार्ने ।’ पछिल्लो समय संसदमा कांग्रेसविरुद्ध कडा रुपमा बोलेकै तपाईंलाई हटाउन खोजिएको हो भन्ने पनि छ नि !

त्यो गलत आरोप हो । कांग्रेस त मलाई सुरुदेखि नै हटाउन चाहन्थ्यो । सुरुदेखि नै गैर बामपन्थी सरकार बनाउन चाहन्थ्यो । तर, उसको बुताभित्र थिएन । त्यतिबेला सबै पार्टी मिलिसक्या थिएन ।

त्यतिबेला राष्ट्रिय जनमोर्चा सरकारकै पक्षमा थियो । सरकारको नेतृत्व गर्ने ठूलो पार्टी एमाले थियो । माओवादी र एमाले गठबन्धन गरेर भर्खर चुनाव जितेर आएका थिए । माओवादी कांग्रेससँग गठबन्धन गर्ने पक्षमा थिएन । केही नलागेर, नसकेर मेरो छोड्या हो नि त ।

त्यतिबेला म दूधले नुहाएको भएर छोड्या हो र ? नसकेर गर्‍या हो । आज परिस्थिति मिल्यो, माथि नेताहरू झगडा गरे । यसलाईचाहिँ म बिनासित्तीको झगडा भन्छु । यो कुनै सैद्धान्तिक झगडै होइन । नेताहरू जुँगाको लडाइँ लड्दैछन् ।

माथिको नेताहरूको जुँगाको लडाइँका कारण हाम्रो भइरहेको पार्टी फुट्यो । अदालतले त्यसमा निर्णय गर्नुपर्‍यो । त्यसकै कारण आज उनीहरूले साथी पाए । नेकपा माओवादी केन्द्र साथी पाए । अरु दलहरू हौसिनुभा’छ । समयक्रममा उहाँहरू सच्चिनुहुन्छ ।

यस्ता केटाकेटी आरोपको कुनै काम छैन । प्रमुख प्रतिपक्षी दलका नेताले त्यो दिन के भन्नुभाथ्यो सुन्नुभा’छ ? हाम्रो पार्टीको विरुद्धमा मिथ्या आरोपहरु लगाउनु भो । झुठा आरोपहरु लगाउनुभो । त्यसको प्रतिवाद मैले गर्नुपर्छ कि पर्दैन ?

मुख्यमन्त्री अगाडि म दलको नेता पनि हो नि ! मुख्यमन्त्रीको हैसियतले मैले त्यहाँ उत्तर दिएको होइन । एमालेको संसदीय दलको नेताको हैसियतले दिएको हो ।

एउटा प्रतिपक्षी दलको नेताले मेरो पार्टीमाथि भए नभएको सारा आरोप लगाउँछ भने म चुप लागेर बस्नु ? राजनीतिक दलको धर्म यही हुन्छ र ? हुँदैन होला नि ? होला ! उहाँले भन्दा सटिक र तिखो ढंगले त्यसको प्रतिवाद गरे हुँला ! तर, त्यो मेरो क्षमताको कुरा हो । अहो यसले त साह्रै भन्यो भनेर हुन्छ र ? त्यो त बहाना खोजेको कुरामात्रै हो ।

उहाँले नेपालमा कम्युनिस्टका कारणले समस्या भो भनेर आरोप लगाउनु भो । त्यसपछि अरु कम्युनिस्टको मन दुख्यो कि दुखेन थाहा भएन । माओवादी केन्द्रले त आफूहरूलाई गाली गर्दा पनि स्वाद मान्याजस्तो मानें । तर, जनमोर्चाले साह्रै चित्त दुखायो । मैले बोल्नेबेला समर्थन पनि गर्नु भो ।

प्रतिवादमा नेपालमा कांग्रेस नै ठूलो समस्यामात्रै त हो भनेको । जहिले पनि प्रजातन्त्र खाने कांग्रेस हो । १७ साल, ५९ सालको घटना हेर्नुस् भन्यामात्रै हो । त्यस्तो आरोप लगाइरहँदा हामी राजनीति गर्ने मान्छेले सुनेर बस्न सक्छ त ? कालेलाई ओइ काले भन्दा चित्त दुख्छ । कांग्रेसलाई मैले त्यही भनेको हो ।

संघीयता आइसकेपछि प्रदेशहरू बाँडिए, तपाईंहरू मुख्यमन्त्री बनेर आउनुभो । तर, स्वायत्तता आएको देखिएन । प्रधानमन्त्रीले नै पटकपटक प्रदेशलाई केन्द्रकै शाखाका रुपमा व्याखा गर्दै आउनु भएको छ । कहिलेसम्म केन्द्रकै कुरा मानिरहने ?

यो प्रश्नको उत्तर धेरै पटक दिइसकें । संसदमा बोल्नेबेला पनि भन्या छु- केन्द्रका कुरा सुनेर तल गतिविधि गरिराख्नु भा’छ । यसले संघीयता विरोधी काम सुरु भयो ।

हामीले के स्थापित गर्नुपर्थ्यो भने के माओवादी, के एमाले, के कांग्रेस सबैले प्रदेश सरकारहरू स्वायत्त हुनुपर्छ भन्नुपर्थ्यो । प्रदेश सरकार स्वायत्त हुनका लागि प्रदेश कमिटीहरू पनि आफ्नो ढंगले चल्न पाउनुपर्छ ।

यो हिजोको जस्तो केन्द्रिकृत शासन व्यवस्था होइन । राजनीतिक दलहरू पनि संघीयताको मर्म बुझेर आफ्नो संरचना बनाउनुपर्छ । आफ्नो अधिकारहरु सुरक्षित गर्नुपर्छ भनेर भन्दै आएको छु ।

आज केन्द्रको लिडरका कारणले यो सब भइरहेको छ । यो पार्टीभन्दा पनि व्यक्तिको कारणले हो । गुटगत रुपमा नेता नस्वीकार्नाले हो । जसरी यहाँ प्रदेशमा झगडा भइराखेको छ । हाम्रो स्वायत्तता कहाँ ? केन्द्रको आदेश मान्दै बस्ने अनि उहाँहरु नै संघीयताको के कुरा गर्नुहुन्छ ?

अझ नेताका कुरा हो यो सब । संस्थाले नचाहेर होइन । नेतानेता आफू नमिलेर त्यसको असर देखिएको हो । यो सब संघीयता कमजोर बनाउने क्रियाकलापबाहेक अर्को केही होइन ।

यो सरकार चलिरह्यो भने संघीयता कार्यान्वयन र परिवर्तन भयो भने नहुने भन्ने हुन्छ त ?

आज हामीले जुन सरकार चलाइराखेका छौं । यसलाई बिना कारण हटाउनुभन्दा यसैलाई काम गर्न दिएर विकास निर्र्माणका काम भइराख्यो, शान्ति सुरक्षा व्यवस्था भइराख्यो, जनताको जीवनस्तर अलिकति बढ्दै गयो भने संघीयताले आफ्नो सामर्थ्य देखाउँछ । त्यसले पोजेटिभ सन्देश जान्छ ।

फेरि आफैं झगडा गर्न थालियो, फेरि सांसदहरू किनबेच हुन थाले भने अस्थिरता बढ्छ । मन्त्री फेर्या फेर्यै गर्न थाले यो संघीयता यस्तै रैछ भन्ने जनतालाई परिहाल्छ त । यो जनतालाई बोझमात्रै भयो भन्ने कुरा उठिरा’छ त ।

हाम्रो गतिविधिका कारण संघीयता विरोधीलाई धेरै मसला मिलेको छ । संघीयतामाथि प्रश्न उठाउने काम मैले गर्‍या छु कि उहाँहरूले ? संघीयतामाथि प्रश्न उठ्ने काम कसको व्यवहारले भइराखेको छ ?

कतिपय दलहरु समानुपातिक, समावेशीको कुरा उठाएर सांसद हुनुभा’छ । आज हाम्रो मन्त्रिपरिषद् पूरै समावेशी छ । पहिचानको आन्दोलन गरिरहेको एउटा व्यक्तिको नेतृत्वमा मन्त्रिपरिषद् छ । यो ऐतिहासिक र गौरवको कुरा होइन र ?

संघीयताको पक्षधर जनता समाजवादी पार्टीले झन् गर्व गर्नुपर्थ्यो । राष्ट्रिय जनमोर्चाको संघीयतामा सहमति छैन । उहाँहरूलाई बरु यसमा मुछ्न जरुरी थिएन । तर, आफूलाई संघीयता पक्षधर भन्दै नारा लगाउँदै भोट माग्दै यहाँसम्म आउने, स्थिरतको नारा लिएर एउटै चुनावी घोषणापत्रबाट जित्ने भनेर आएका बाम सरकारको अवस्था हेरौं त ? संघीयताप्रतिको उत्तरदायित्व देखिन्छ ?

खाली सत्तास्वार्थ र मुख्यमन्त्री बन्नका लागिमात्रै, सत्तामा पुग्नका लागिमात्रै गठबन्धन भएको छ । यो गठबन्धनलाई म अप्राकृतिक गठबन्धन भन्छु । अराजनीतिक गठबन्धन भन्छु । कुनै सिद्धान्त नै छैन । बामपन्थी साथीहरूलाई के भन्न चाहन्छु भने बामपन्थीको हुँदाखाँदाको सरकार बिना कुनै कारण गिराएर, काठमाडौंमा पानी पर्दा पोखरामा छाता ओडाएर हुन्छ ?

प्रदेशको राजनीति अब त अस्थिर बन्ने नै भयो । के हुन्छ त अब यहाँ ?

प्रदेशको राजनीति अस्थिरतातर्फ जाने कुरा, अनिर्णयको बन्दी बनाउने कुरा त सभामुखज्युले गर्नुभो । उहाँको अराजनीतिक, पक्षपाती गतिविधिले भयो । जे खालको कार्यदलको सहमति भइरहेको थियो । त्यो सहमतिलाई लत्याउनु भो । अनिश्चितकालका लागि संसद अन्त्य गरिदिनु भो । त्यसको मूल जिम्मेवार सभामुख हुनुहुन्छ ।

आजको अस्थिरता, अनिर्णयको बन्दी जुन खालको बन्यो । अन्यौलता जे सिर्जना भएको छ । त्यो भनेको सभामुखमार्फत गरिएको हो । भएको हो ।

राजनीतिक दलहरू कार्यव्यवस्था समितिको बैठक बस्ने, छलफल गरेर समस्याको समाधान गर्नुपर्थ्यो । यो खालको नजिरले प्रदेश नै अनिर्णयको बन्दी बन्यो । प्रदेश सभा अब ठूलो राजनीतिक सहमति बेगर चल्नेवाला छैन । किनभने, ३ वर्षसम्म उहाँले प्रदेश सभा सञ्चालन गर्नुभो । ३ वर्षसम्म सबै माननीय उपस्थित भएर सदन चलाएको भन्ने कहिले रेकर्ड छ ?

त्यसको आफ्नै विधि हुन्छ, प्रक्रिया हुन्छ । कुन पार्टीको कुन माननीय आएको छैन भनेर सभा चलाउनु भएको थियो ? संसद सचिवालयले नै निर्णय गर्छ । कार्य व्यवस्था समितिले निर्णय गर्छ, सुझाव दिन्छ । त्यसको आधारमा कार्यक्रम निश्चित हुन्छ । त्यो निश्चित भएको कार्यक्रमको आधारमा सभामुखले कार्यक्रम चलाउँछ ।

आफ्नो सांसदलाई दौडेर लिन जाने काम सभामुखको काम हो र ? कुन पार्टीको कुन सांसद आएन भनेर खोज्ने काम सभामुखको हो र ?

सभामुखले आफ्नो नियममुताबिक सूचना जारी गर्छ । तत्तत् दलले आफ्ना संसदीय दलका नेतामार्फत सूचना जारी गर्छ । त्यसमा आह्वान गर्छ, निर्देशन जारी गर्छ, ह्विप लगाउँछ । त्योअनुसार पार्टीका सदस्यहरु सभामा आएका छन् कि छैनन् भनेर खोज्ने काम सम्बन्धित संसदीय दलहरुको हो । सभामुखको होइन ।

त्यो ढंगले सभामुखले जे नजीर स्थापना गर्नभा’छ, केही साथीहरु आएनन् भनेर पक्षपातीपूर्ण काम जे गर्नुभा’छ, पार्टीको कार्यकर्ता भएर सभामुखले काम गर्नुभा’छ । यसले प्रदेश सभा सञ्चालन हुन सक्दैन ।

किनभने मैले उहाँलाई भनेर आएको छु- तपाईंले यसरी नजीर बसाल्न हुँदैन थियो । कसैसँग छलफल नगरिकन, आफूखुसी पार्टीको निर्देशनमा अनिश्चित कालका लागि सूचना जारी गरेर हिँड्नुहुन्छ भने म हरेक दिन संसद अवरुद्ध गर्छ ।

मेरो एकजना सांसदलाई अनुपस्थित गराउँछु । मेरो सांसद हरायो भने निवेदन हाल्छु । तपाईंले फेरि अनिश्चित कालका लागि संसद स्थगित गर्नुपर्छ । तपाईंहरुलाई प्रदेश सभा सञ्चालन गर्नका लागि कुनै नैतिक अधिकार रहँदैन । यो अनिश्चय, अनिर्णयको बन्दी गराउन, अस्थिरता चाहने शक्तिहरुको गोटी बनेर अस्थिरताको कारक बन्नु भो । यसमाचाहिँ मेरो विरोध हो ।

विपक्षीले गरेको गलत भन्ने फेरि आफैं त्यही योजनामा उभिएपछि फेरि तपाईंहरु पनि अस्थिरतालाई नै बढावा दिने कुरा आयो त ?

कसरी हुन्छ ? बिनाकारण उहाँले संसद बन्द गर्न पाउनुहुन्छ ? चलाएर देखाए भैगो त । संसद बन्द गर्दा हाम्रो सहमति चाहिएन, अब खोल्दा हाम्रो सहमति चाहिन्छ कि चाहिँदैन ? उहाँ एक्लैले सभा चलाउँछु भनेर चल्छ ? पार्टीको सहमति चाहिँदैन अब ? त्यसो हो भने हामीले किन सहमति गर्ने ? उहाँले हामीलाई कसरी कन्भिन्स बनाउन सक्नुहुन्छ ? के भनेर गर्नुहुन्छ ? एकजना आएन भनेर नजिर बस्यो भन्न सक्नुहुन्छ ? संसदीय परम्परा, पद्धति, नीति यही हो त ?

जब प्रमुख व्यक्तित्वले आफ्नो नियमकानुन, पद्धति, प्रचलन सबै उलंघन गर्छ । त्यो त अनिर्णयको बन्दी भइहाल्छ नि ! मेरो कारणले कसरी हुन्छ ? हाम्रो कारणले हुँदैन । सभामुखज्यूको कारणले हुने हो । सभामुखलाई यो काम गर्न पछाडि बसेर निर्देशन दिने पार्टीहरुको कारणले हुने हो । प्रदेश सरकार त हुँदै होइन नि !

पछिल्लो समय संघीयतामाथि प्रश्न उठिरहेको छ । तपाईंकै पार्टीका नेता गोकुल बाँस्कोटा खासगरी सुरुदेखि नै यसको विरोधमा हुनुहुन्छ । प्रदेश सरकारको गतिविधि जनभावनाविरीत गइरहेको हौवा फैलिइरहेको समयमा संघीयताको भविष्य के त ?

प्रदेशमा हुने यस्ता गतिविधिले संघीयतालाई बदनाममात्रै गर्ने हो । संघीयता बदनाम गर्ने काम कसैले नगरौं भन्ने नै मेरो मूल मान्यता हो । तर, केही साथीहरूको कारणले प्रदेश सरकार जोडिँदा संघीयताको बदनाम भइरहेको छ । अझ संसदीय व्यवस्थाकै बदनाम भइरहेको छ ।

हर्स ट्रेडिङ फेरि सुरु भयो । सांसद किनबेच प्रक्रिया फेरि चल्न थाल्यो । त्यसो हुँदा हाम्रो एउटा प्रश्न छ- स्थानीय तहजस्तै प्रदेशमा पनि प्रदेशको मुख्यमन्त्री प्रत्यक्ष निर्वाचन प्रक्रियामा किन नलैजाने ? ताकी ५ वर्षसम्म कसैले हल्लाउन नसकोस् । आज, अहिले मेरो मनमा यो प्रश्न उठिराखेको छ ।

हाम्रो नेताहरुको चरित्र, दृष्टिकोणमा कनुै परिवर्तन छैन । आज हाम्रो संवैधानिक परम्परा के छ भन्ने थाहा छैन । आफूनूकुल व्याख्या भइरहेको छ । यो भनेको संघीय शासन प्रणालीलेमात्रै भएको होइन । हाम्रो प्रवृत्ति, आचरण, जीवनशैली, कार्यशैलीको कारणले जुन राम्रो व्यवस्था (संघीयता) ल्याउन खोजेका थियौं, त्यसमा प्रहार भइरहेको छ । यो तत्व, यो प्रवृत्तिप्रति हामी निर्ममरुपमा लाग्नुपर्छ ।


प्रतिक्रिया

2 thoughts on “‘अब सभामुखले प्रदेश सभा चलाएर देखाउन्, हरेक दिन एउटा सांसद अनुपस्थित गराउँछु’

  1. दुर्गन्धित मुख्यमन्त्रीको सर्महीन तर्क। छिछिछि!!!

  2. जसको खुट्टा छैन, उसकै नाम टेकबहादुर भन्याजस्तो जो संघीयताको विरोधी छन्, गठबन्धन बनाएर बस्या छन् । उनीहरूले संघीयता विरोधी भन्छन् । यो तर्क मर्मस्पर्शी छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर