तङ्ग्रिँदै गरेको आन्तरिक पर्यटनमा निषेधाज्ञाको प्रहार, व्यावसायी दुखी – Nepal Press

तङ्ग्रिँदै गरेको आन्तरिक पर्यटनमा निषेधाज्ञाको प्रहार, व्यावसायी दुखी

काठमाडौं । पहिलो लहरको कोरोना कहरका कारण नेपालको पर्यटन क्षेत्र नराम्ररी थला पर्यो । पहिलो चरणको लकडाउनको अन्त्यसँगै पर्यटन क्षेत्रमा क्रमशः ‘ग्रिन सिग्नल’ देखिन थालेको थियो । बाह्य पर्यटकको आगमन कम भए पनि आन्तरिक पर्यटक बढेसँगै पर्यटन व्यावसायी खुसी हुँदै थिए । तर, कोरोनाको दोस्रो छालसँगै निषेधाज्ञा सुरु भएपछि पर्यटन व्यावसायी निराश भएका छन् ।

विदेशी पर्यटक नआए पनि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विभिन्न प्रयास गरिरहेका होटल सञ्चालनसँगै पर्यटन व्यावसायीलाई अब फेरि उठ्नै नसक्ने गरी पछारिने पो हो कि भन्ने चिन्ताले सताउन थालेको छ ।

पहिलो चरणको लकडाउन सकिएपछि लुम्बिनी, इलाम, पोखरा, चितवनलगायतका पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको भीड लागेको बताउँछन् पर्यटन बोर्डका निर्देशक मनीराज लामिछाने । ‘घाइते बनेको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकले मल्हम लगाउने काम हुँदै गर्दा कोरोनाको दोस्रो लहर चल्यो, यसले समग्र पर्यटन व्यावसायमा ठूलो धक्का पुग्ने निश्चित छ’ उनले भने ।

‘अब चाहिँ होटल व्यावसायमा केही सकारात्मक संकेत देखिने आश थियो, फेरि निषेधाज्ञा भएपछि विस्थापित नै होइने हो कि भन्ने चिन्ता बढेको छ’, नेपाल होटल एसोसिएसनका उपाध्यक्ष विनायक शाह भन्छन्, ‘कोरोना भाइरसबाट सबै बच्न आवश्यक छ तर, मापदण्ड पूरा गरेर होटल व्यवसाय खोल्न पाउनु पर्ने हाम्रो माग छ,’ उनले भने ।

कोरोनाको दोस्रो लहरले ब्यूँतिन लागेको पर्यटन क्षेत्रलाई ठूला धक्का लागेको बताउछँन् ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुम बहादुर सुवेदी । ‘एक वर्षदेखि थलिएको पर्यटन व्यवसाय आन्तरिक पर्यटकले केही राहत दिएको थियो । र, विदेशी पर्यटक आउने शुरुवात समेत भएको थियो । तर, कोरोनाको दोस्रो लहरले पुनः धक्का लागेको छ,’ उनले भने ।

उनका अनुसार अहिले पनि भ्याक्सिन लगाएका विदेशी पर्यटकहरु नेपाल आउनका लागि बुक पनि गरिरहेका छन् । साथै इन्क्वाइरी पनि त्यतिकै आइरहेको छ । तर, कोरोनाका कारण सबै कुरा तहसनहस भएको छ ।

दुई साता अघिसम्म पोखरा, चितवन, इलाममा आन्तरिक पर्यटकको चहलपहल बढेकोमा राम्रो भएकोमा अहिले एकाएक पर्यटन शून्य अवस्थामा पुगेको बताउँछन् पश्चिमा अञ्चल होटल एसोसिएसनका अध्यक्ष विकल तुलाचन । उनका अनुसार अघिल्लो लकडाउन सकिएपछि आन्तरिक पर्यटकमा वृद्धि भएको थियो तर, अहिले कोरोनाको दोस्रो लहर फैलिएसँगै भएको लकडाउनले पर्यटकको संख्या शून्यमा झरेको छ ।

आन्तरिक पर्यटकले लिएका होटल बुक पनि धमाधम क्यान्सिल भएको उनी बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर