ओलीले कारवाहीको चेतावनी दिए लगत्तै देउवासँग झलनाथ-माधवको छलफल – Nepal Press

ओलीले कारवाहीको चेतावनी दिए लगत्तै देउवासँग झलनाथ-माधवको छलफल

काठमाडौं । नेकपा एमालेले सांसद सदस्यबाट समेत कारवाही गर्ने प्रक्रिया अघि बढाएकै दिन पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले कांग्रेस सभापति शेरवहादुर देउवासँग छलफल गरेका छन् ।

मंगलबार अर्याल होटलमा आफू पक्षीय सांसदहरुसँगको बैठकपछि देउवा निवास बुढानिलकण्ठ पुगेका एमाले नेताद्वय खनाल र नेपाल देउवासँगको छलफलपछि टोखास्थित नेता भीम रावलको निवासमा गएको सुरक्षा स्रोतले जनाएको छ ।

देउवासँगको छलफलमा केपी ओलीले सांसद सदस्यबाट कारवाही गर्ने कानुनी प्रक्रिया पुर्‍याउन आफूहरुसँग स्पष्टिकरण सोधेको भए पनि कारवाहीबाट जोगिने ढंगले कानुनी रीत पुर्याएर जवाफ दिइने बताएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आउँदा एमालेका जति जना सांसदले फ्लोर क्रस गर्दा बहुमत पुग्छ त्यति संख्या तयार रहेको नेपाल पक्षले आश्वासन दिएको सूचना बालुवाटारमा पुगेको छ ।

एमाले नेता रावलले कर्णालीमा भएको फ्लोर क्रसको क्रम संघीय संसदसम्म पुग्ने बताएका छन् ।

पछिल्लो समय माधव नेपाल पक्ष कांग्रेस, माओवादी र जसपाको बाबुराम उपेन्द्र पक्षसँग निरन्तर संवादमा छ । ओलीलाई सत्ताच्युत गर्न सक्दा एमालेभित्रै आफूहरु बलियो बन्न सकिने आँकलन नेपाल पक्षको छ ।

दुई दिनअघिमात्र माधव नेपालले प्रचण्डसँग कोटेश्वरका ब्यापारी चन्द्रलाल श्रेष्ठको घरमा भेटेर छलफल गरेका थिए । त्यो भेटपछि ओलीले फ्लोर क्रसका लागि २२ जना सांसद तयार रहेको सूचना पाएपछि सोमवार केन्द्रीय कमिटी बैठक बोलाएर स्पष्टिकरणको कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर