सुरुवाती दुई खेलमा हामीले सशक्त प्रदर्शन गर्‍यौं : प्रशिक्षक वाट्मोर – Nepal Press

सुरुवाती दुई खेलमा हामीले सशक्त प्रदर्शन गर्‍यौं : प्रशिक्षक वाट्मोर

काठमाडौं । नेपाललाई ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा शानदार सुरुवात दिलाएका मुख्य प्रशिक्षक डेभ वाट्मोरले सुरुवाती दुई खेलमा बलियो प्रदर्शन गरेको बताएका छन् । शनिबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको नेपालले आफ्नो दोस्रो खेलमा सोमबार मलेसियालाई अल आउट गर्दै ९ विकेटले नै पराजित गरेको थियो ।

यसै शृंखलामार्फत् ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका कुशल भूर्तेल र आशिफ शेखको शानदार ब्याटिङमा नेपालले प्रतियोगिताका दुवै खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ । ‘हामीले हुनेसम्म राम्रो तयारी गरेका थियौं र राम्रो प्रदर्शन गर्ने लक्ष्य थियो,’ प्रशिक्षक वाटमोरले भने, ‘हामीले सुरुआती दुई खेलमा सशक्त प्रदर्शन गरेका छौं ।’

आशिफ र कुशलको प्रदर्शनबाट सन्तुष्ट देखिएका वाटमोरले दुई खेलाडी एउटै स्थानका लागि आपसमा प्रतिस्पर्धा गरिरहेको र केही हप्तापछि दुवै खेलाडी खेल्ने अवस्था सिर्जना भएको बताए । ‘उनीहरू एउटै स्थानका लागि फाइट गरिरहेको मलाई भान भएको थियो र केही हप्ता बितेसँगै उनीहरू दुवैले प्लेइङ इलेभेनमा स्थान बनाए,’ वाट्मोर भन्छन्, ‘उनीहरूको जादुमय प्रदर्शन देखेर म आफैं आश्चर्यचकित छु, यसमा ‘जस्ट गो एन्ड प्ले द गेम’को सेन्स देखिन्छ ।’

नेपालका लागि ट्वान्टी-२० अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरिरहेका कुशल लगातार दुई खेलमा अर्धशतक बनाउने पहिलो खेलाडी बनिसकेका छन् । दुई खेलमै कीर्तिमान बनाइसकेका कुशल नेपालको जितमा राम्रो प्रदर्शन गर्न पाउँदा खुशी लागेको बताउँछन् । ‘म धेरै खुशी छु । पहिलो कुरा आफ्नो टिम जितेको छ । दोस्रो टिमको जितमा मेरो प्रदर्शन राम्रो रह्यो,’ कुशलले भने, ‘नेदरल्यान्ड्सविरुद्धको खेल पनि डेब्यू थियो । त्यसैले मलाई दबाब थिएन ।’

यस्तो प्रदर्शनका लागि आफूलाई धेरै समयदेखि तयार गरिरहेको कुशल सुनाउँछन् । उनी भन्छन्, ‘किनभने मैले यसकै लागि भनेर धेरै मेहनत गरेको थिए । यो मेरा लागि सुनौलो अवसर थियो । मैले यसलाई गुमाउनु हुन्न भन्ने छ । म त्यही सोचमा खेलिरहेको छु ।’

टोलीमा आफूले पाएको भूमिका निर्बाह गरिरहेकोमा खुशी व्यक्त गर्दै कुशल भन्छन्, ‘मलाई टिममा एउटा भूमिका दिइएको छ । म त्यही भूमिका निर्बाह गरिरहेको छु । पछिल्लो दुई तीन वर्षदेखि घरेलु प्रतियोगितामा ओपनिङ गरिहेको थिए । एमर्जिङ कपबाट नै मैले ओपनिङ गरेको थिए । ओपनिङमा म युज टु नै छु ।’


प्रतिक्रिया

One thought on “सुरुवाती दुई खेलमा हामीले सशक्त प्रदर्शन गर्‍यौं : प्रशिक्षक वाट्मोर

Leave a Reply to Rba magar Cancel reply

Your email address will not be published. Required fields are marked *