कर्णाली सरकारको बजेट मुख्यमन्त्री कार्यालयमा थुप्रियो, नौ महिनामा १८ प्रतिशत खर्च – Nepal Press

कर्णाली सरकारको बजेट मुख्यमन्त्री कार्यालयमा थुप्रियो, नौ महिनामा १८ प्रतिशत खर्च

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा १८ प्रतिशत मात्रै खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षको कुल ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेटमध्ये ६ अर्ब १५ करोड ३१ लाख ६९ हजार २८४ रुपैंया ५४ पैसा मात्रै खर्च गरेको हो।

जसमध्ये चालुतर्फ १४ अर्ब ६७ करोड २२ लाख ३२ हजार विनियोजन गरिएकोमा ३ अर्ब १४ करोड तीन लाख ७२ हजार ८५४ रुपैंया ६४ पैसा खर्च भएको छ । यो कुल चालु बजेटको २१ दशमलव ४० प्रतिशत हो । यस्तै पुंजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार विनियोजन गरेको सरकारले नौ महिनामा तीन अर्ब एक करोड २७ लाख ९६ हजार ४२९ रुपैंया ९० पैसा खर्च गरेको छ । यो कुल पुंजीगत बजेटको १५.८० प्रतिशत हो ।

सरकारले ल्याएको कुल बजेटको एक चौथाइ भन्दा बढी बजेट मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमातहत छ । कुल ६ अर्ब १८ करोड ६६ लाख ८० हजार बजेट राखेका मुख्यमन्त्री शाहीले १८ करोड ११ लाख २६ हजार ३२९ रुपैंया मात्रै खर्च गराउन सफल भएका छन् । यो खर्च चालु खर्चका कारणले बढी देखिएको हो । कुल खर्चको हिसाबमा हेर्दा मुख्यमन्त्री कार्यालयले जम्मा दुई दशमलव ९३ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको हो ।

यस्तै बजेट थुपारेको आर्थिक मामिला तथा योजना मन्त्रालयको पनि उस्तै हालत छ । यो मन्त्रालयले कुल बजेट दुई अर्ब ४१ करोड ७३ लाख ५३ हजार बजेट पाएकोमा सात करोड २१ लाख सात हजार पाँच सय पाँच रुपैया मात्र खर्च गर्न सकेको छ । यो कुल बजेटको दुई दशमलव ९८ प्रतिशत मात्रै हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर