गौतमवुद्ध विमानस्थलः हात्ती छिर्‍यो, पुच्छर कहाँ अड्क्यो ? (तस्वीरहरू) – Nepal Press

गौतमवुद्ध विमानस्थलः हात्ती छिर्‍यो, पुच्छर कहाँ अड्क्यो ? (तस्वीरहरू)

काठमाडौं । भैरहवास्थित गौतमवुद्ध विमानस्थलको निर्माण अन्तिम चरणमा पुगेर अड्किएको छ । ४ प्रतिशत मात्र काम बाँकी रहँदा कोभिडका कारण काम अड्किएको हो ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमवुद्ध विमानस्थलमा निर्माणको मुख्य काम सम्पन्न भइसकेको आयोजक प्रमुख प्रवेश अधिकारीले बताए । उनका अनुसार गत वर्ष कोभिड देखा नपरेको भए अहिलेसम्म विमानस्थल सञ्चालनमा आइसक्ने थियो । तर, कोभिडका कारण आफ्नो देश फर्किएका प्राविधिक आउन ढिलाइ हुँदा निर्माणको अन्तिम समयमा काम प्रभावित बन्यो ।

‘विमानस्थलका मुख्य सबै काम सकिएका छन् । भौतिकतर्फ ९४ प्रतिशत काम सम्पन्न भएको छ । अब बाँकी रहेको काम भनेको टर्मिनल विल्डिङ, उपकरण जडान, फिनिसिङ र फर्निचरको हो,’ उनले भने ‘प्राविधिक हुने हो भने दुई महिनाभित्रमा नै विमानस्थल सञ्चालनमा आउने थियो ।’

अधिकारीका अनुसार विमानस्थल निर्माणमा चिनियाँ, अमेरिकी र थाइल्याण्डका प्राविधिक थिए । तर, गत वर्ष कोभिड फैलिएसँगै सबै प्राविधिक घर फर्किए । कोभिडका कारण चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले ३५ जना प्राविधिक पठाउन नसक्दा त्यसका ठाउँमा भारतीय प्राविधिक ल्याएर उपकरण जडान गरियो । अहिले विमानस्थलमा रन-वे, ब्यागेज ह्यान्डलिङ र कन्भर बेल्टको उपकरण जडानको काम भइरहेको छ ।

आईसीबी जिरो टू अन्तर्गतको सर्भिलेन्स जडानको काम चाहिँ लकडाउनमा घर फर्किएका अमेरिकाकी प्राविधिहरुले आएर गरिसकेका छन् ।

आएनन् थाई प्राविधिक

विमानस्थल निर्माणको मुख्य काम सकिए पनि थाइल्याण्डका प्राविधिक नआएकाले अन्य उपकरणको काम रोकिएको अधिकारी बताउँछन् । अधिकारीका अनुसार थाइल्याइण्डबाट आउने टिम आएको छैन । उनीहरुको ठाउँमा अष्ट्रेलिया र अमेरिकाबाट प्राविधिक झिकाउने प्रयास भइरहेको छ । तर, कोरोनाका कारण उनीहरु पनि नेपाल आउन मानिरहेका छैनन् ।

थाइल्याण्डका प्राविधिकले आफूहरूलाई थाइ सरकारले नेपाल आउन रोकेको बताइरहेका छन् ।

अधिकारी भन्छन्, ‘यसका लागि हामीले कूटनीतिक च्यानलबाट कुरा अगाडि बढाएका छौं । तर, स्वास्थ्य जस्तो संवेदनशील कुरामा धेरै कुरा पनि गर्न नसकिदो रहेछ ।’

प्राविधिक काम भएकाले त्यसलाई आफैंले सम्पन्न गर्नसक्ने क्षमता आफूहरुसँग नभएको उनले बताए । भारतमा कोभिड दिनानुदिन बढेकाले पनि नेपालमा त्यसको प्रत्यक्ष असर निर्माण क्षेत्रमा पनि परेको उनको भनाइ छ ।

उडानका लागि विमान कम्पनीसँग छलफल हुँदै

विमानस्थल कहिलेसम्ममा सञ्चालनमा आउँछ भन्ने एकिन भइसकेको छैन । यसका लागि सरकारले पूर्वतयारी गरिरहेको बताइएको छ ।

विमानस्थल सञ्चालनमा आउनुपूर्व नै उडानका लागि स्वदेशी र विदेशी हवाई कम्पनीसँग सरकारी स्तरबाट नै छलफल भइरहेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले बताए । उनका अनुसार गौतम वुद्ध विमानस्थल वुद्धको जन्मस्थलमा भएकाले यहाँ धार्मिक पर्यटन आउने आशा राखिएको छ ।

‘जापान, श्रीलङ्का, थाइल्याण्ड, सिङ्गापुर, म्यानमार, चीन आदि मुलुकबाट धार्मिक पर्यटक लुम्बिनी आउने छन्,’पोख्रलले भने, ‘यहाँ पर्याप्त अन्तर्राष्ट्रिय उडान हुने विश्वास लिएका छौं । साथै नेपालको तराई क्षेत्रबाट खाडी मुलुक जाने कामदारहरु काठमाडौं नआइकन गौतम वुद्ध विमानस्थलबाट सिधै जान सक्छन् ।’

वोइङ र एयर बस जहाज उडान हुने

वोइङ ७७०-२०० र एयर वस ३३०-३०० सम्मका जहाज अवतरण गर्न मिल्ने गरी यो विमानस्थल निर्माण गरिएको छ । दीगो पर्यटन विकास गर्ने उद्देश्यकासाथ नै अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको हो । एसियाली विकास बैंक एडीबीको सहयोगमा बनिरहेको यो विमानस्थलमा ३ हजार मिटरको रन वे रहेको छ ।

विमानस्थलमा अन्तर्राष्ट्रिय भवन, एयरपोर्ट अपरेशन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण तथा जिर्णोद्दार, ट्याक्सी वे, धावन मार्गलगायत बनिरहेका छन् ।

यो विमानस्थलको लागत कूल ८ करोड ५५ लाख डलरे रहेको छ । प्राविधिक कारणले चिनीयाँ कम्पनीसँग आईसीबी-१ का लागि ७ करोड ८३ लाख डलरमा सन् २०१४ नोभेम्बर १३ मा निर्माण सम्झौता गरेको थियो । सन् २०१७ मा यसको निर्माण शुरुवात भएको थियो । कोभिडको दोस्रो लहरले विमानस्थल सञ्चालन अवधिलाई अझ लम्व्याउन सक्ने बताउँछन् प्रमुख अधिकारी ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *