यसवर्षको अन्त्यसम्म विदेशी पर्यटक र विद्यार्थीलाई अष्ट्रेलिया प्रवेशमा रोक – Nepal Press

यसवर्षको अन्त्यसम्म विदेशी पर्यटक र विद्यार्थीलाई अष्ट्रेलिया प्रवेशमा रोक

क्यानबेरा । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले यसवर्षको अन्त्यसम्म विदेशी पर्यटक र विद्यार्थीका लागि आफ्नो देशको अन्तर्राष्ट्रिय सीमा बन्द हुने संकेत गरेका छन् ।

उनको यस्तो अभिव्यक्तिपछि सन् २०२१ को अन्त्यसम्म विदेशीका लागि अष्ट्रेलिया प्रवेशमा निषेध हुने सम्भावना बढेको छ ।

यसैसाता पर्थ रेडियोलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री मरिसनले सीमा खुला गरेमा दिनहुँ ठूलो संख्यामा भाइरस भित्रिन सक्ने भएकाले त्यो सम्भव नरहेको बताएका हुन् ।

अष्ट्रेलियाले आगामी जुनसम्म औपचारिक बोर्डर बन्द गरेको छ । तर, प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिपछि यो समयावधी लम्बिने सम्भावना बढेको छ । अष्ट्रेलियामा रहेका सबै नागरिकलाई खोप लगाएपछि मात्र खुला आवतजावत हुनसक्ने मरिसनले बताए ।

अष्ट्रेलियाले आगामी जनवरीसम्म सबै नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको छ । अष्ट्रेलियाले सन् २०२० को मार्चदेखि अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ ।

जसले गर्दा कारणवश घर फर्किएका विद्यार्थी र भिसामा रहेका व्यक्तिसमेत अष्ट्रेलिया फर्कन पाएका छैनन् । गत बुधबार अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले पनि सबै नागरिकले खोप लगाएपछि मात्र बोर्डर खुला गर्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर