प्रहरीको रेकर्डः दुई वर्षमा के-के गर्‍याे विप्लव समूहले ? – Nepal Press

प्रहरीको रेकर्डः दुई वर्षमा के-के गर्‍याे विप्लव समूहले ?

चार सर्वसाधारण, दुई प्रहरी र १६ विप्लव कार्यकर्ताको मृत्यु

काठमाडौं । केही समयदेखि हिंसात्मक आन्दोलनमा सक्रिय विप्लव नेतृत्वको नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा फर्किने भएको छ । आजै प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लव एक साथ कार्यक्रममा देखिंदैछन् ।

विप्लव समूहले घोषितरुपमा सशस्त्र आन्दोलन नगरे पनि उसले विभिन्न हिंसात्मक गतिविधिहरु गर्दै आएको थियो । दुई वर्षअघि एनसेल टावरमा बम विस्फाेट गराएपछि ओली सरकारले नै उक्त समूहलाई प्रतिबन्ध लगाएको हो । त्यसयता पनि छिटफुट गतिविधि विप्लव समूहले गर्दै आएको छ ।

तत्कालीन माओवादीका चर्चित नेता विप्लव पछि मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीमा गएका थिए । वैद्यसँग पनि कुरा नमिलेपछि उनले छुट्टै पार्टी निर्माण गरेर भूमिगत बनेका हुन् । त्यसयता विप्लव समूहले विभिन्न स्थानमा आगजनी, तोडफोड, कुटपिट, अपहरण, धम्की, गोलीप्रहार, जग्गा कब्जा, तालाबन्दी पुत्लादहन लगायतका आपराधिक घटना गर्दै आएको थियो । यो समूहबाट चार सर्वसाधारण र दुई प्रहरीको हत्या भएको छ । विप्लव समूहतर्फ १६ जना हताहत भएका छन् ।

२०७५ फागुन १० मा ललितपुरस्थित एनसेल टावरमा बम विस्फोट गरायो । उक्त विस्फोटमा एक सर्वसाधारणको मृत्यु भएको थियो । सोही विस्फोटका कारण विप्लव समूहलाई सरकारले फागुन २८ गते प्रतिबन्ध लगायो । प्रतिबन्धपछि पार्टीका नेता कार्यकर्ता पूर्ण भूमिगत बनेका थिए ।

प्रहरीको रेकर्डअनुसार २०७५ फागुनदेखि ०७७ मंसिरसम्म विप्लव समूहले कानून विपरितका ७१३ वटा घटना घटाएका छन् । नेपाल प्रहरीका अनुसार विप्लव समूहले बन्दको अवज्ञा गरेको भन्दै सार्वजनिक सवारीमा आगजनीदेखि पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विस्फोट गराएका थिए ।

प्रहरीको तथ्याङ्क अनुसार विप्लव समूहले प्रतिबन्ध लागेयता २५७ ठाउँमा आगजनी, बम विस्फोट ८६ वटा, शंकास्पद वस्तु १२५, बम विस्फोट १०९, विस्फोटक पदार्थ ३२, तोडफोड १९, कुटपिट २ र ४ ठाउँबाट प्रहरीले हातहतियार फेला पारेको थियो ।

यस्तै प्रहरी कारबाही २, कालोमोसो ५, ग्रिनेड ५, गोली प्रहार २, धम्की रोकावट ३, अपहरण २, जग्गा कब्जा ३ तथा अन्य भित्तेलेखन, पर्चा, पम्प्लेट, ब्यानर, पुत्लादहन, तालाबन्दी आदि ५७ वटा घटना घटाएका छन् । विप्लवको पछिल्लो गतिविधि भनेको चन्दा असुल गर्ने र विभिन्न घटनाको विरोध जनाउँदै बन्द आह्वान गर्ने रहेको थियो ।

विप्लव समूहले गराएको ठूलो बम विस्फोटमा ४ जना सर्वसाधारणले ज्यान गुमाएको प्रहरी तथ्याङ्कमा छ । विप्लव समूहसितको मुठभेडमा एक जना प्रहरीले पनि ज्यान गुमाएका छन् । गत मंसिर २३ गते मोरङमा शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरिएको थियो । २०७५ फागुन १० गते ललितपुरको नख्खु दोबाटोमा रहेको एनसेल टावरमा बम विस्फोट गराउँदा सिंहप्रताप गुरुङको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । यस्तै २०७६ मंसिर २८ गते धनुषामा बम विस्फोट गराउँदा दुई जना सर्वसाधारण र एक प्रहरी अधिकृतले अकालमै ज्यान गुमाउनुपर्यो ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका राजेश साहको घरमा बम विस्फोट हुँदा प्रहरी निरीक्षक अमिर दाहालसँगै राजेश शाह र उनको १५ वर्षीय छोरा आनन्दको मृत्यु भएको थियो । यसैगरी २०७६ असार २५ मा विप्लव समूहका कार्यकर्ताले हानेको गोली लागेर भोजपुरमा प्रहरी जवान सञ्जिव राईको मृत्यु भएको थियो ।

विप्लवतर्फको क्षति

नेपाल प्रहरीका अनुसार प्रहरी कारवाही, विस्फोट तथा पहिरोमा परेर १६ जना विप्लव कार्यकर्ताले ज्यान गुमाएका छन् । बम विस्फोटमा परेर मात्रै ७ जना कार्यकर्ताको मृत्यु भएको छ भने प्रहरी कारबाहीमा परेर ४ जना मारिएका छन् ।

२०७४ वैशाख ३१ गते कालिकोटमा, ७ जेठ २०७६ मा भोजपुरमा, ५ असार २०७६ मा सर्लाही र २५ असार २०७६ मा भोजपुरमा गरी ४ जना विप्लव कार्यकर्ता प्रहरी कारबाहीमा मारिए । विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेललाई भने प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको आरोप परिवारले लगाउँदै आएका छन् ।

यस्तै १२ असार २०७४ मा कैलालीमा, १२ जेठ २०७६ मा काठमाडौंमा भएको आत्मघाती बम विस्फोटमा परी ५ जनाले ज्यान गुमाए भने २ भदौ २०७६ मा कैलालीमा १ कार्यकर्ताको विस्फोटमा परी मृत्यु भयो । त्यति मात्र होइन, पहिरोमा पुरिएर पनि कास्कीमा मंसिर २०७६ मा ५ जनाको निधन भएको छ ।

कति छन् पक्राउ परेका ?

विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछि प्रहरीले धरपकड सुरु गर्यो । सो पार्टीका नेता तथा कार्यकर्ता भूमिगत बने ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार २०७५ सालको १० फागुनदेखि २०७७ साल, फागुन १७ सम्म ७ वटै प्रदेशबाट २ हजार ९८ जना विप्लवका नेता तथा कार्यकर्ता विभिन्न मुद्दामा पक्राउ परेका छन् । उनीहरुविरुद्ध २ हजार ७ मुद्दा परेको छ ।

यो समाचार तयार पार्दासम्म सोधपुछ पश्चात ९० जना जेलबाट छुटेका छन् । यस्तै मुद्दा दर्ता भई १८ सय ६४ जना छुटेका छन् । यसैगरी पुर्पक्षका लागि १२६ जना कारागार चलान भएका थिए । १८ जनामाथि अनुसन्धान भइरहेको छ । विभिन्न मुद्दामा पक्राउ परेकामध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशबाट ३८२ जना र सबैभन्दा कम प्रदेश २ बाट १२८ जना पक्राउ परेको थिए ।

विप्लव समूह र सरकारबीच भएको सझदारीमा पक्राउ परेका कार्यकर्ता रिहाइ गरिने भनिएको छ । उक्त सहमतिअनुसार हाल कारागार चलान भएका १२६ जना र अनुसन्धानका क्रममा रहेका १८ जनालाई रिहाइ गर्नुपर्ने हुन्छ । प्रहरी प्रवक्ता कुँबरका अनुसार ज्यान मुद्दा लागेकालाई भने रिहाइ गर्न मिल्दैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर