नेपाल सुपर लिग– फुटबलमा व्यावसायिक फड्को, खेलाडी उत्साहित – Nepal Press

नेपाल सुपर लिग– फुटबलमा व्यावसायिक फड्को, खेलाडी उत्साहित

काठमाडौं । नेपालका ठूला व्यावसायिक घरानामाथि खेलकुदलाई उपेक्षा गरेको आरोप लाग्ने गरेको छ । सानो अर्थतन्त्र भएको देशको खेलकुद विकासमा निजी क्षेत्रलाई संलग्न गराएर व्यावसायिक खेलकुदको विकास गर्ने रणनीतिलाई खेल सम्बद्ध अधिकारीहरुले कार्यान्वयन गर्न चुनौती भइरहेका बेला फुटबलमा फ्रेन्चाइज टिम र अक्सनमा आधारित प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को मिति घोषणाले नयाँ आशा पलाएको छ ।

पछिल्लो ४-५ वर्षदेखि नेपाली क्रिकेटमा व्यावसायिक प्रतियोगिता भइरहेका छन् । फ्रेन्चाइज लिग, खेलाडीको अक्सन र छोटो संस्करणका प्रतिस्पर्धात्मक प्रतियोगिताले क्रिकेटको रौनक बढाएको छ । ठीक यस्तै गरी फुटबलमा पहिलोपल्ट फ्रेन्चाइज लिग आयोजनाको मिति सार्वजनिक गरिएको छ, वैशाख ११ देखि २५ सम्म ।

भारतमा ७ वर्षदेखि जारी इण्डियन सुपर लिग (आईएसएल)को सफलताबाट प्रेरित भएर नेपालमा सोही शैलीको लिग संचालन गर्न नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसआईएम) र अखिल नेपाल फुटबल संघ एन्फाबीच सहमति भएको दुई वर्ष भइसकेको छ । सुरुआतको तयारीमा धेरै समय खर्चिएको यो संस्थाले कोरोना महामारीका कारण घोषित कार्यक्रम संचालन गर्न सकेन ।

नेपालको सशक्तमध्येको एक चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी एनएसआईएमका अध्यक्ष हुन् । केही समय नेपाली क्रिकेटका लागि प्रायोजन गर्नुबाहेक चौधरी ग्रुप खेलकुदमा खुलेर आएको यो पहिलोपल्ट हो । ठूला व्यापारिक घरानाको प्राथमिकताका कारण पनि एनएसएलको उत्साह बेग्लै छ ।

एनएसएल आयोजनाका लागि नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसआईएम) र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच सन् २०१९ को जनवरी १ मा सम्झौता भएको थियाे ।

विभिन्न शहरको नामबाट बनाइने ६ फ्रेन्चाइज टिम, खेलाडीलाई वर्गीकरण गरी अक्सनमार्फत अनुबन्धन, सिंगल राउण्ड रोविन, नवनिर्मित दशरथ रंगशालामा प्रतियोगिताको आयोजना र कोरोना महामारीपछिको ठूलो राष्ट्रिय फुटबल प्रतियोगिता । पहिलो संस्करणको एनएसएलका विशेषता हुन् यी । झण्डै डेढ सय फुटबलरलाई अक्सनमार्फत एकै प्रतियोगितामा समावेश गरी पहिलोपल्ट फ्रेन्चाइज लिगको सुरुआत हुने खबरले खेलाडीहरु नै अधिक उत्साहित छन् ।

‘नेपालमै पहिलो पटक आयोजना हुने भएकाले हाम्रो लागि यो विल्कुलै नयाँ अनुभव हुने’ गत सिजन च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका मिडफिल्डर सुनिल बलले भने, ‘मेरो च्यासलसँगको कन्ट्रयाक पनि सकिएको छ । त्यसैले अक्सनमार्फत प्रतियोगिता खेल्ने दिनको पर्खाइमा छु ।’

फुटबलसँग सरोकार राख्नेहरु यसलाई नेपाली फुटबलमा नयाँ आयामको सुरुआत मान्छन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले एनएसएल नेपाली फुटबलमा व्यावसायिकताको अर्को चरण भएको टिप्पणी गरे । ‘यो फ्रेन्चाइज लिगलाई हामीले व्यावसायिक ट्रायलका रूपमा हामी सुरु गर्दैछौं’ उनले भने, ‘यसले खेलाडीसँगै एक वर्षका लागि खेलाडीहरू अनुबन्ध गरेका क्लबहरूलाई पनि आर्थिक भार कम हुनेछ ।’

‘ए’ डिभिजन लिग खेल्ने क्लबहरूले एक वर्षका लागि खेलाडी अनुबन्ध गरेका हुन्छन् । र, प्रतियोगिता नभएको समयमा पनि खेलाडीलाई तलब दिइरहेका हुन्छन् । तर, एनएसएलमा खेल्ने भए भने खेलाडीहरूलाई त्यो समयको तलब लगायतका सुविधा पनि फ्रेन्चाइज क्बलहरूले नै प्रदान गर्ने भएकाले क्लबलाई आर्थिक राहत हुने भनाइ अध्यक्ष शेर्पाको छ ।

‘एन्फाले ट्रान्सफर विन्डो खोल्छ, त्यो अवधिमा कुनै पनि प्रतियोगिता हुँदैन’ उनले भने, ‘त्यो समयमा अनुबन्ध गरेका क्लबले खेलाडी रिलिज गर्ने, बेच्ने र लोनमा पठाउन पनि सक्नेछन् यसले खेलाडी र क्लब दुवैलाई फाइदा हुन्छ ।’

फुटबल र खेलाडीका लागि पनि फाइदा नै हुने तर्क चलिरहँदा विभिन्न क्लबमा आवद्ध खेलाडीको हकमा फ्रेन्चाइज लिग खेल्न पाउने कि नपाउने चर्चाको विषय बनेको छ । एन्फाले एक महिनाअघि मात्रै २०७८ का लागि वार्षिक क्यालेण्डर सार्वजनिक गर्दा एनएसएलको नाम उल्लेख नभएकाले प्रतियोगिताको आधिकारिकतामै एकाथरीले प्रश्न उठाएका छन् । तर, त्यो समयमा एन्फाका कुनै पनि प्रतियोगिता नहुने भएकाले विभिन्न क्लबहरूमा आवद्ध खेलाडीहरूले पनि यसका लागि उपलब्ध हुने क्लब तथा एन्फाले बताएको छ ।

एन्फा अध्यक्ष शेर्पाले कुनै प्रतियोगिता नहुने त्यो अवधिका लागि एन्फाको आग्रहमा क्लबहरुले खेलाडी रिलिज (फुकुवा) गर्न सक्ने बताए । आयोजक एनएसएलले पनि क्लबसँगको छलफलबाट नै अक्सनका लागि खेलाडीको सूची तयार गर्ने बताएको छ ।

‘हामी खेलाडी अनुबन्ध भएका क्लबहरूसँग छलफल तथा सम्झौता गर्छाैं’ एनएसएलका सीईओ सुदीप शर्माले नेपाल प्रेससँग भने, ‘त्यसमा एन्फाले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्छ ।’ नेपालको फुटबलको नै विकास गर्ने हेतुले यो लिगको आयोजना गर्न लागिएकोले सबैले सहज वातावरण बनाउने विश्वास उनको छ ।

गत सिजनको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष छिमी उर्गेन गुरुङ समझदारी गरेर अगाडि बढ्न सकिने बताउँछन् । ‘हामीले यसअघि राष्ट्रिय टोलीका खेलाडीहरूलाई एन्फाको पत्र आएपछि रिलिज गर्ने गरेका थियौं’ उनले भने, ‘एनएसएलका लागि कुनै प्रकारको सम्झौता गरेर बेच्न, लोनमा पठाउन वा रिलिज गर्न पनि तयार छौं ।’

फ्रेन्चाइज लिगको अवधारणा खेलाडीका लागि सबैभन्दा राम्रो हुने भएकाले क्लबले यसलाई सकारात्मक रूपमा लिनुपर्ने अध्यक्ष गुरुङले भनाइ छ । ‘क्लबसँग एक पटक सल्लाह गर्नुभयो भने अझै उत्तम हुन्थ्यो’ उनी भन्छन्, ‘दुई महिनाको लागि मात्रै खेलाडी रिलिज गर्दा सो अवधिमा घाइते अथवा केही भयो भने त्यसले क्लबलाई फाइदा गर्दैन । त्यसैले व्यावसायिक हिसाबमा बसेर सम्झौता गर्न सकिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर