ओलम्पिक रोक्न पश्चिमा मुलुकले ‘झूठो कुटनीति’ गरेको चीनको आरोप – Nepal Press

ओलम्पिक रोक्न पश्चिमा मुलुकले ‘झूठो कुटनीति’ गरेको चीनको आरोप

काठमाडौं । पश्चिमा मुलुकले सिन्जियाङ र बेइजिङ ओलम्पिकलाई लिएर ‘झूठो कुटनीति’ गरेको भन्दै चीनले आक्रोश ब्यक्त गरेको छ ।

पश्चिमा मुलुकले भनेजस्तो ‘जातिय नरसंहार’को प्रपोगान्डा बेइजिङ ओलम्पिकलाई प्रभाव पार्ने नियतले आएको चीनले जनाएको छ । चीनले पश्चिमा मुलुकको यस्तै कुटनीति रहे उनीहरुले खराब परिस्थितीको सामना गर्नुपर्ने चेतावनी पनि दिएको छ ।

क्यानडाको संसदले गत सोमबार चीनको सिन्जियाङ प्रान्तमा बसोबास गर्ने उइगुर मुस्लिमको मानव अधिकार अवस्थालाई लिएर एउटा बिल पारित गरेको थियो । उक्त बिलले चीनविरुद्ध कदम चाल्न जस्टिन ट्रुडोको सरकारलाई दबाब दिने बताइएको थियो ।

बेइजिङ ओलम्पिकको भविष्य निक्र्याैल गर्न अन्तराष्ट्रिय ओलम्पिक कमिटीले मतदान गर्नुअघि क्यानडाको संसदले उक्त बिल पारित गरेको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले क्यानडाको उक्त कदमको विरोध गर्दै त्यसविरुद्ध निवेदन दर्ता गर्ने बताएका छन् ।

‘सिन्जियाङमा कहिल्यै पनि नरसंहार भएको थिएन भनेर तथ्यहरु आफै बोल्छन् । चीनविरोधी तत्वले चलाएको झूठो हल्ला हो । केही क्यानेडेली राजनीतिले ओलम्पिक कमिटीको नियम र खेलाडीको भावना विपरित यस्तो कार्य गरिरहेका छन्’ वेनविनले भने ।

केही अमेरिकी संचारमाध्यमले बेइजिङ ओलम्पिकमा अमेरिकाले भाग नलिने आशयका समाचार प्रकाशन गरिरहेका छन् तर यसको स्वतन्त्र पुष्टि भएको छैन । सीएनएनले अघिल्लो ओलम्पिकबाट चीनले सफ्टपावर हासिल गरेपनि आउँदो ओलम्पिकले चिनियाँ प्रणालीलाई नै भ्रष्ट बनाउने उल्लेख गरेको थियो ।

चिनियाँ एकेडेमी अफ सोसल साइन्समा अन्तराष्ट्रिय सम्बन्धका ज्ञाता लु जियाङले पश्चिमा दक्षिणपन्थी राजनीतिज्ञलाई ओलम्पिक कहाँ र कसरी गर्ने निर्णयको अधिकार नभएको बताए । उनीहरु नियतवश चीनविरोधी गतिविधिमा संलग्न भएको उनको आरोप थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर