माग मुसाले खाइसक्यो, सुनुवाइ भएन : पर्यटन व्यवसायी – Nepal Press

माग मुसाले खाइसक्यो, सुनुवाइ भएन : पर्यटन व्यवसायी

काठमाडौं । सोमबार पर्यटन व्यवसायीका ३७ ओटा छाता संगठनले पत्रकार सम्मेलन गर्दै सरकार समक्ष १० बुँदे माग राखेका छन् ।

पर्यटन सिजनको मुखमा पनि सरकारले कोभिड–१९ को सुरक्षामा अपनाउनु पर्ने मापदण्ड अपनाएर विदेशी पर्यटकलाई नेपाल आउन दिनु पर्ने मागसहित पत्रकार सम्मेलन गरेका हुन् ।

नेपालमा आउने पर्यटकलाई ७२ घण्टाको पीसिआर रिपोर्ट लिएर आउने विदेशी पर्यटकको हकमा पाँच दिनसम्म अनिवार्य क्वारेण्टाइनमा बस्नुपर्ने प्रावधान हटाउन पनि उनीहरुले माग गरेका छन् ।

यसैगरी विश्वमा नेपालका ३७ ओटा देशमा दूतबास रहेको र नेपालमा २०२ मुलुकबाट पर्यटक आउने भएकाले अनलाइन र अराइभल भिषा तथा विदेशस्थित नेपाली दूताबास वा नियोगबाट भिषाको व्यवस्था गराउनु पर्ने उनीहरुले माग राखेका छन् ।

यस्तै सरकारले एक वर्ष वित्दा पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कोभिड जाँच मेशिन नराखेको भन्दै त्यस्को चाँढै व्यवस्थापन हुनुपर्ने उनीहरुको माग छ ।

यसैगरी हालसम्म खुल्न बाँकी रहेका अन्तराष्ट्रिय हवाई उडानहरु यथाशीघ्र खोल्नु पर्ने, कोरोना विरुद्धको भ्याक्सिन पईटन व्यवसायीलाई उपलब्ध गराउनु पर्ने, नेपाल र चीनबीचको सीमा नाका खोल्नु पर्ने नेपाल घुम्न आउने पर्यटकलाई कम्पनीबाट अनिवार्य गाइड तथा पदयात्रा सहयोगी लिएर मात्र नेपाल भ्रमण गर्न गराउनु पर्ने, नेपाल भारत र चीनबाट सडकबाट नेपाल आउने पर्यटकलाई आउन दिनुपर्ने र त्यसको अनुगमन पनि गर्नु पर्ने उनीहरुको माग छ ।

यसैगरी अहिले विदेशबाट आउने पर्यटकलाई ५ हजार अमेरिकन डलर बराबरको कोरोना बीमा हटाउनु पर्ने कोरोना विरुद्धको भ्यास्सिन पूरा मात्रा लगाई आएका पर्यटकलाई सहज घुम्न दिनु पर्ने माग उनीहरुले सरकार समक्ष राखेका छन् ।

कोरोनाले पर्यटन क्षेत्र एक वर्षदेखि कोमामा भएको भएपनि सरकारले कुनै किसिमको राहत पनि नदिएको र राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको सौलियत ऋण पनि नपाएको व्यवसायीको गुनासो छ ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभलका अध्यक्ष अच्युत गुरागाँइका अनुसार केहीका हातमा पहुँच भएकाले मात्र राष्ट्र बैंकले दिएको सौलियत ऋण पाएको, अधिकांश साना र मझौला पर्यटन व्यवासयीले सौलियत ऋण पाएका छैनन् ।

कार्यक्रमा बोल्दै उनले भने ‘एक वर्ष भयो अर्बौको लगानी रहेको पर्यटन व्यवसाय शून्यमा झर्दा पनि सरकार के हेरेर बसेको छ ? के व्यवायीलाई मार्न खोजेको हो ? सडकमा कोभिड मापदण्ड विना हजारौको संख्यामा कार्यकर्ता ल्याएर आन्दोलन गर्न सक्छन् । तर, विदेशबाट आउने पर्यटकलाई सबै प्रोटोकल पूरा गरेर पर्यटन भित्र्याउँछौ भन्दा किन नदिने सरकारले किन पहल नगर्ने ? ।’

विगत आठ महिनादेखि पर्यटन व्यवसायीले विभिन्न माग राखेर सरकारको ढोका ढक्ढकाएपनि सरकारले व्यवसायीको कुनै कुरा नसुनेको उनको भनाइ छ ।

‘विभिन्न माग राखेर सरकारका कार्यलयमा थाकका थाक ज्ञापनपत्र बुझाए पनि ती मागहरुको खात मुसाले खाइसक्यो तर, माग सुनुवाइ हुदैन । पर्यटन सिजनको मुखमा छौ । पर्यटक देशमा शून्य छन् तर पनि सरकार मुखदर्शक मात्र बनेको छ,’ उनले भने ।

पर्यटक गन्तव्यका रुपमा रहेका देश श्रीलङ्का, माल्दिप्स, दुवईले प्रोटोकल पूरा गरेर पर्यटक भित्र्याइरहेको वेला नेपालले किन रोकिरहेको छ भन्दै उनले प्रश्न गरे । साथै उनले विदेशी पर्यटक भित्र्याउनका लागि सरकारले यथासक्य निर्णय गर्नु पर्ने बताए ।

भारतीय नाका खुला नगरिएपनि भारतबाट नेपाल आउने र जाने क्रम नरोकिएको अध्यक्ष गुरागाँले बताए । यसरी केही रकम घुस खुवाएर भारतीय नागरिक खुलेआम नेपाल आउँदा केही नहुने नाका खुला गरेर पर्यटक आउनु नहुने उनले आरोप लगाए ।

पर्यटन सिजन आउनै लाग्दा नेपाल आउने पर्यटकको ‘इन्क्वाइरी’ आइरहेका छ । तर, आफूहरु अलमल परेको नेपाल होटल एसोसिएसनका उपाध्यक्ष विनायक शाहले बताए । ‘सरकारले अराइभल भिषा दिने हो कि होइन ।

कसरी हामीले होटल बुक गर्नु,’ उनले भने । ठूला तारे होटलहरु बन्द जस्तै भएको अवस्थामा सरकार मुखदर्शक बनेर हेरिहेको तर कुनै वैकल्पिक उपाय र प्रोटोकल अपनाएर पर्यटक नभित्र्याएको उनको गुनासो थियो ।

‘अहिले चिनियाँ नयाँ वर्षमा धेरै चिनीयाँ पर्यटकलाई नेपाल भित्र्याउन सकिन्थ्यो तर, नेपाल सरकारले उल्टै कडा पो गरेको छ । हाम्रोमा आउने पर्यटक मलेसिया, दुवई, माल्दिप्स, श्रीलङ्का गए,’ उनले भने ।

पर्यटन व्यवसायीले केही समय अघि पनि विभिन्न माग राखेर वालवाटरमा प्रदर्शन गरेका थिए तर, सरकारले चलाखीपूण रुपमा उनीहरुको प्रदर्शनलाई मथ्थर पार्ने काम गर्‍यो ।

व्यवसायीले पनि प्रदर्शन रोके तर, अहिले सरकारले आश्वसन र कागजमा मात्र आफ्ना माग संवोदन गरेको पर्यटन व्यवसायीको आरोप छ ।

खर्बौको क्षति हुँदा सरकार मुखदर्शक मात्र भएको भन्दै व्यवसायीले आन्दोलन घोषणा गरेर सडकमा आउनु नपरोस भन्दै सरकारलाई चुनौती पनि दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *