कोरोना खोप व्यवस्थापनमा सरकार असफल : कांग्रेस – Nepal Press

कोरोना खोप व्यवस्थापनमा सरकार असफल : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले कोरोना खोप आम जनतालाई तत्काल निशुल्क उपलब्ध गराउन माग गरेको छ । कांग्रेसको कोभिड-१९ अनुगमन समितिले पत्रकार सम्मेलन गरी कोरोना खोप वितरणमा सरकारी नीति प्रभावहीन भएको टिप्पणी समेत गरेको छ ।

समितिका संयोजक एवं कांग्रेस सह महामन्त्री डा.प्रकाशशरण महतले सरकारको उद्देश्य जनतालाई कोरोनाबाट सुरक्षित बनाउनेभन्दा असीमित लाभ लिनेतर्फ केन्द्रीत रहेको आरोप लगाए । “कांग्रेसले कोरोना महामारीको सुरुवातदेखि नै सरकारलाई खबरदारी गर्दै आएको छ । स्वास्थ्य सामाग्री खरीदमा अनियमितता गरेको सरकारले अब खोपमा पनि अनियमितता गर्न खोज्दैछ”, डा.महतले पत्रकारसंग भने ।

समितिले जारी गरेको विज्ञप्तीमा भारत सरकारबाट सहयोगमा प्राप्त १० लाख डोज खोप वितरणको प्राथमिकतामा ज्येष्ठ नागरिक नपर्नु गलत भएको जनाइएको छ । त्यस्तै खोपका बारेमा पर्याप्त जानकारी गराउन नसकेका कारण खोपप्रति जनविश्वास बढ्न नसकेको आरोप समेत कांग्रेसले लगाएको छ ।

कांग्रेसले मुलुकलाई कति खोप आवश्यक पर्ने, कहाँबाट उपलब्ध हुने र कहिलेसम्म उपलब्ध गराउने भन्नेबारे सरकारले तत्काल स्पष्ट पार्नुपर्ने जनाएको छ । त्यस्तै, खोप खरीदका नाममा अनियमितता हुनसक्ने भन्दै कांग्रेसले खोप खरीद प्रक्रिया पारदर्शी हुनुपर्ने माग समेत राखेको छ ।

कोभिड १९ अनुगमन समितिले कोरोनाको विषयमा सरकारले गरेका कामहरुको सुक्ष्म अनुमगन तथा मूल्यांक गरेको भन्दै महतले खोप व्यवस्थापनमा पनि सरकार असफल हुँदै गएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर