मैना सुनार र रीना रसाइलीका हत्यारा १७ वर्षसम्म पक्राउ परेनन् – Nepal Press

मैना सुनार र रीना रसाइलीका हत्यारा १७ वर्षसम्म पक्राउ परेनन्

काठमाडौं । द्वन्द्वकालमा सेनाद्वारा हत्या गरिएका मैना सुनार र रीना रसाइलीका परिवारले न्यायको लागि संघर्ष गरेको १७ वर्ष पुग्यो । तर, अझै पनि अपराधीलाई कानूनी दायरामा नल्याइएको पीडित परिवारको गुनासो छ ।

काभ्रेको पाँचखालमा रहेकाे वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा २०६० फागुन ७ गते उनीहरुलाई यातना दिई हत्या गरिएको थियो । २०७४ वैशाख ३ गते काभ्रे जिल्ला अदालतले मैना सुनारको हत्यामा महासेनानी बबि खत्री, सहसेनानी सुनिलप्रसाद अधिकारी र सहसेनानी अमित पुनलाई कसुरदार ठहर गरेको थियो । तर, त्यसको तीन वर्षभन्दा बढी समय बितिसक्दा समेत दोषीहरु पक्राउ परेका छैनन् ।

मैना सुनारकी आमा देवी सुनार र एड्भोकेसी फोरम नेपालका निर्देशक प्रकाश सेन ठकुरीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा अपराधीहरू पक्राउ नगरिएको र राज्यले बेवास्ता गरेको उल्लेख छ ।

मैनाकी मामाकी छोरी १६ वर्षीया रीना रसाइलीलाई २०६० फागुन १ गते बलात्कारपछि हत्या गरिएको थियो ।

‘मेरी भदैनीमाथि गरिएको ज्यादतीको एक प्रत्यक्षदर्शी भएकाले म मौन रही घटनालाई सहेर बस्न सकिनँ । सञ्चारकर्मीहरुलाई मैले यो अत्याचारका विषयमा बताएकाले आफ्नी छोरी पनि गुमाउन पुगें’ आमा देवी सुनार भन्छिन् ।

रीनाको बलात्कार तथा हत्यामा संलग्न पीडकहरूमध्ये सिपाही काजीबहादुर कार्कीलाई मात्र प्रहरीले पक्राउ गरेको थियो । पछि उनको कसूर ठहर नहुने भनी अदालतले सफाइ दियो ।

‘बलियो प्रमाण जुटाउनका लागि अधिकृतहरूलाई कहिल्यै पनि सोधपुछ गरी अनुसन्धानको दायरामा ल्याइएन,’ विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर