चुनाव नगराउन प्रचण्ड-माधवले निर्वाचन आयोगलाई थर्काउँदैछन् : उपप्रधानमन्त्री पोखरेल – Nepal Press

चुनाव नगराउन प्रचण्ड-माधवले निर्वाचन आयोगलाई थर्काउँदैछन् : उपप्रधानमन्त्री पोखरेल

पोखरा । उपप्रधान तथा ओलीपक्षीय नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले प्रचण्ड-माधव पक्षले चुनाव नगराउन निर्वाचन आयोगलाई धम्की दिइरहेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीले ताजा जनादेशका लागि संसद विघटन गरेको जिकिर गर्दै पोखरेलले प्रचण्ड-माधव निर्वाचन नगराउन लागिपरेको आरोप लगाए । ‘प्रचन्ड र माधव नेपाल निर्वाचन आयोगमा गएर थर्काउँदै चुनाव गराउन पाइँदैन भन्दै थर्काउनुहुन्छ’, पोखरामा आइतबार आयोजित ओलीपक्षीय प्रेस संगठनको प्रदेश भेलामा पोखरेलले भने ।

जनताको ताजा जनादेशका लागि जाने कुरा कुनै पनि हालतमा असैंवधानिक र अलोकतान्त्रिक नहुने उनको तर्क छ । माधव-प्रचण्डको सत्ता तृष्णाको मनोरोगका कारण संसद विघटन गर्नुपरेको उपप्रधानमन्त्री पोखरेलको दाबी छ ।

उपप्रधान पोखरेलले तत्कालीन माओवादीको राजनीति सकिएकोबेला एमालेको शरणमा आएको दाबी गरे । उनले भने, ‘माओवादीको पोलिटिक्स सकिएकोथ्यो । उहाँहरू पावरबाट बाहिर हुनुहुन्थ्यो । मानवताविरोधी कार्यका लागि टाउकोमा तरवार थियो । त्योबाट छुटकारा पाउन पार्टी एकता गर्नु भयो ।’उनले माधव नेपाल पनि प्रचण्डको मुंग्रो समाएर केपी विरोधी काम गरेको आरोप लगाए ।

‘टू इन वान भएर ओल्टेकोल्टे हुन पाइँदैन’

पोखरेलले पार्टीनिकट पत्रकारलाई पार्टी र पेशा दुवैमा कटिबद्ध भएर लाग्न सुझाव दिए ।

‘पत्रकारले आफ्नो पेशागत दक्षता भने प्रदर्शन गर्नैपर्छ । दक्षता भएन भने अघि बढ्न सकिँदैन । विचारको पनि स्पष्टता हुन जरुरी छ,’ पोखरेलले भने, ‘पेशागत दक्षता नभएर पार्टीमा लाग्छु भन्ने सोच्नु हुँदैन ।’

पोखरेलले कार्य दक्षता भएर पनि विचारमा स्पष्टता भएन भने अन्तिममा ‘नागरिक समाजको अगुवा’ भइने आरोप लगाए । ‘धेरैलाई देखेको छु । कार्य दक्षता भएर अग्रज भएका छन् । तर, अन्तिममा विचार खुइलिँदै गएर उनीहरु नागरिक समाजमा परिणत भएका छन्,’ उनले भने, ‘विचार र दक्षतासहित अघि बढिसकेपछि ओल्टेकोल्टे हुनै पाइँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर