पार्टी हल न चल थियो, केही व्यक्ति छाडेर हिँडेपछि गतिशील भयो : ओली – Nepal Press

पार्टी हल न चल थियो, केही व्यक्ति छाडेर हिँडेपछि गतिशील भयो : ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले उद्देश्य नमिलेका केही व्यक्तिहरुले छोडेर गएपछि पार्टी गतिशील बनेको दावी गरेका छन् ।

आफूले नेपालको नयाँ नक्शा प्रकाशित गरेपछि ती व्यक्तिहरु आत्तिएको उनले बताए ।

बुटबलमा शनिबार आयोजित पार्टीको जनसभामा ओलीले भने, ‘संसदबाट सर्वसम्मतिका साथ नयाँ नक्शा अनुमोदन भएपछि उहाँहरु आत्तिनुभो । अनि सरकारबाट हट्नुपर्यो भन्ने दवाव सुरु भयो । अन्तबाट होइन, अरुले हिम्मत गरेको थिएन, आफ्नै पार्टीबाट विग्रत पैदा भयो ।’

गत वर्षको वैशाखबाट सरकार ढाल्ने खेल सुरु भएको उनले बताए । अमूक व्यक्ति प्रधानमन्त्री वा अध्यक्ष बन्नकै लागि आफूलाई हटाउन खोजिएको उनको आरोप थियो ।

ओलीले भने, ‘वैशाखमा एकैचोटि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ भन्ने आवाज आयो । मैले सोधेँ, किन ? उत्तर आयो– मलाई प्रधानमन्त्री बन्न मन लाग्यो । फेरि अध्यक्ष छोड्ने आवाज उठ्यो । मैले सोधेँ किन ? अर्काले भन्यो, मलाई त अध्यक्ष आफैं हुन मन लाग्यो । मैले भनेँ, अध्यक्ष जो हुनुछ महाधिवेसनमा हुनूस, विचबिचमा झमेला नगर्नुस । तर, जवाफ आयो– उधारो हुँदैन नगदानगदी चाहिन्छ ।’

पार्टीबाट केही व्यक्तिहरु निस्केपछि सरकार र पार्टी गतिशील बनेको उनले दावी गरे ।

‘तीन वर्षदेखि संवैधानिक आयोग बन्न सकेका थिएनन् । उहाँहरु हट्नुभो । आयोग बने । पार्टी हल न चल भएको थियो । अहिले उहाँहरु जानुभो, पार्टी गतिशील भयो । गएको तीन वर्ष यस्तो आमसभा गर्न सक्दैनथ्यौं । खुट्टा तान्न खोजिन्थ्यो । अहिले देशैभरि भइरहेका छन् । आज बाहिर गएर हामीलाई गाली गरिरहेका छन्,’ ओलीले भने ।

उनले थपे, ‘आन्दोलनले सुद्धिकरण खोजेको थियो । आज उहाँहरु आफैं बाहिर गएर महान शुद्धिकरणका लागि ढोका खोल्नुभएको छ । पार्टी एक भएको छ, अनुशासित र गतिशील भएको छ । सुदृढ र अनुशासित ढंगले पार्टी अगाडि बढेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर