भागरथी हत्या प्रकरण : दोषी देखिन सक्ने व्यक्तिसँग प्रमाण जुधाउँदै प्रहरी – Nepal Press

भागरथी हत्या प्रकरण : दोषी देखिन सक्ने व्यक्तिसँग प्रमाण जुधाउँदै प्रहरी

कैलाली । बैतडी दोगडा केदार गाउँपालिका -७ की १७ वर्षिया भागरथी भट्टको बलात्कार र हत्या घटनामा संलग्नलाई केही दिनमै सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

दर्जनौँ व्यक्तिसँग सोधपुछपछि प्रहरीले अपराधीको नजिक पुगेको जनाएको हो । ‘दर्जनौँ व्यक्तिसँग सोधपुछ गरेका छौँ’ प्रहरी अधिकारीले नेपाल प्रेसलाई भने, ‘उनीहरूमध्ये केही शङ्कास्पद देखिएका छन् । निगरानी बढाएका छौँ ।’

निगरानी गरिरहेकै मध्येबाट घटना भएको हुन सक्ने प्रहरी स्रोतको भनाइ छ । अहिले प्रहरीले दोषी देखिन सक्नेहरूको पहिचान गरिरहेको छ । घटना स्थलमा भेटिएका प्रमाणहरू दोषी देखिन सक्ने व्यक्तिसँग जुधाइरहेको छ ।

घटना भएको १० दिन भएको छ । अहिलेसम्मको अनुसन्धानले दोषी पहिचान हुने सङ्केत देखिएको प्रहरी उच्च स्रोत बताउँछ ।

घटना भएको भोलिपल्ट नै बैतडीका जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीसहितको टोली घटनास्थलमा खटिएको थियो। उक्त टोलीले घटनास्थलको मुचुल्का तयार पारेको थियो ।

किशोरीको टाउकामा चोट लागेको, भित्री वस्त्र चुँडिएको, शरीरमा टोकेका घाउ भएको, यौनांगबाट रगत बगेको, टाउको र हातमा घाउसमेत रहेको अवस्थामा शव फेला परेको थियो ।

अहिले पनि एसएसपी जनकराज पाण्डे नेतृत्वको टोली घटनास्थलमा खटिएको छ । डीआइजी उत्तम सुवेदी आइतबार देखि घटना स्थलमा छन् । अनुसन्धानका लागि धनगढीबाट थप प्रहरी परिचालन गरिएको छ ।

घटनास्थलमा भेटिएका प्रमाण, भागरथीको शवनजिकै भेटिएको उनको मोबाइलको प्राविधिक पक्ष, पोस्टमार्टम रिपोर्ट केलाउँदै प्रहरीले अनुसन्धानको दायरा साँघुरो पारेको छ ।

‘अनुसन्धान सकारात्मक दिशातर्फ गइरहेको छ । अनुसन्धानको घेरा साँघुरो बन्दै गइरहेको छ । केही दिन भित्रै दोषी सार्वजनिक गर्छाै’ प्रहरी अधिकारीले भने ।

२१ गते विद्यालयबाट घर फर्किरहेको अवस्थामा बेपत्ता भएकी किशोरीको २२ गते स्थानीय लबदेव सामुदायिक बनमा शव फेला परेको थियो ।

भागरथीको शव परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको भए पनि सामूहिक हो वा एक जनाले गरेको भन्ने पुष्टि हुन सकेको छैन ।

प्रहरीले किशोरी अध्ययन गर्ने विद्यालयका साथी, शिक्षक, परिवारका सदस्य, गाउँका आफन्त, नजिकका चिनेजानेकाहरु गरी दर्जनौँ व्यक्तिसँग सोधपुछ गरिरहेको छ ।

शव बुझ्न अस्वीकार
भागरथीका आफन्तले शव बुझ्न अस्वीकार गरिरहेका छन् । भट्टको शनिवार साँझ पोस्टमार्टम गरिएको थियो । हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने आफन्तले बताएका छन् । उनको शव जिल्ला अस्पतालमा राखिएको छ ।

अधिकारकर्मीको विरोध
बलात्कार र हत्या घटना अनुसन्धान तीव्र बनाउन माग गर्दै महिला आन्दोलित भएका छन् । धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महिला नेतृ तथा अधिकारकर्मीले चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य समेत रहेकी डा. डिला सङ्ग्रौला पन्तले घटनाको अनुसन्धान तीव्र बनाउन र दोषी अविलम्ब पक्राउ गर्न माग गरिन् ।

‘भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको १० दिन बित्दा पनि अपराधी पक्राउ परेको छैन’,उनले भनिन्, ‘शव अस्पतालमा छ । परिवारजनले पीडामाथि पीडा भोगिरहेका छन्, खै कहाँ छ सरकार’ ?

कार्यक्रम अन्तर्गत १ गते धनगढी, ३ गते दार्चुला, ४ गते बैतडी, ६ गते बझाङ, ७ गते डडेल्धुरा, ८ गते डोटी, ९ गते अछाम, १० गते बाजुरा र १२ गते कञ्चनपुरमा विरोध गर्ने कार्यक्रम रहेको उनले बताइन् ।

भागरथीको न्यायका लागी चरणबद्ध आन्दोलनको घोषणा गर्दै उनले भनिन, ‘धनगढीबाट आन्दोलन सुरु गरेर ९ वटै जिल्लामा प्रदर्शन गर्छाै। सरकारले पीडित परिवारलाई न्याय दिलाउन नसके देशभर विरोध प्रदर्शन गर्छाै ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर