विपक्षीको काँधमा चढेर भरुवा बन्दुक देखाउनेलाई ओलीको एके ४७ ले सडकमा पुर्‍यायो : टोपबहादुर – Nepal Press

विपक्षीको काँधमा चढेर भरुवा बन्दुक देखाउनेलाई ओलीको एके ४७ ले सडकमा पुर्‍यायो : टोपबहादुर

रुपन्देही । ऊर्जामन्त्री एवं नेकपा ओली पक्षका नेता टोपबहादुर रायमाझीले नेकपाको अन्तरविरोध कुनै विचारसँग, नागरिकका मुद्दासँग नभई सीमित व्यक्तिको पदप्रतिष्ठासँग जोडिएको बताएका छन् ।

प्रेस संगठन लुम्बिनी प्रदेशस्तरीय भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले भने, ‘आफ्नो पार्टीको प्रधानमन्त्री अपदस्त गरेर सत्तामा जान खोज्नेहरुलाई जनताले चिनेका छन्, विपक्षीका काँधमा चढेर प्रधानमन्त्रीलाई भरुवा बन्दुक देखाउनेहरूलाई केपी ओलीको एके ४७ ले सडकमा पुर्‍याएको छ, ओलीसँग स्वचालित हतियार छ भनेर हामीले धेरैपटक भनेका हौं ।’

विकास र समृद्धिको अभियान चाल्ने समयमा पार्टीका केही शीर्ष नेताहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीविरुद्ध लागेर आफ्नो स्वार्थका लागि हिंडेको बताउँदै मन्त्री रायमाझीले अबको निकास नै निर्वाचन भएको दाबी गरे । जनमतबाट पत्तासाफ हुने डरले प्रचण्ड र माधव चुनावमा जान डराएको उनको टिप्पणी छ ।

‘नेपाली कांग्रेस र मधेसकेन्द्रित दलहरू चुनावका लागि तयार रहँदा सधैभर नागरिकलाई त्रास देखाएर सत्तामा जानेहरू चुनावबाट डराएका हुन्’,

मन्त्री रायमाझीले कानुनी सर्वोच्चता कायम राख्न, अहिलेको संरचनालाई जोगाईराख्न र राष्ट्रलाई बचाई राख्न जनमतमा जाने उचित निर्णय भएको दाबी गरेका छन् । संसद पुनःस्थापनाको माग राखेर आन्दोलन गरिरहेको पार्टीप्रति संकेत गर्दै उनले आन्दोलनरत पक्षलाई यथाशक्य आफ्नो गल्ती स्वीकार्दै जनमतमा जाने निर्णय स्वीकार गर्न आग्रह गरे ।

रायमाझीले प्रचण्डले ३३ वर्षसम्म मनोनीत अभ्यक्ष भएर पार्टी चलाएको प्रसंग कोठ्याउँदै आफू र बादललाई ओली समूहबाट आउनलागेको कुप्रचार गरेर भ्रमको खेती गरेको बताए । उनले भने, ‘ओली समूहबाट उता जाने कोही छैन, उताको ठूलो समूह आउने तयारीमा छ, पोखरीमा पहिरो जानेवाला छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर