अर्थमन्त्री र फिल्मकर्मी भेट : बजेटमा सरकारले फिल्मलाई कर र भन्सारमा सहुलियत दिने – Nepal Press

अर्थमन्त्री र फिल्मकर्मी भेट : बजेटमा सरकारले फिल्मलाई कर र भन्सारमा सहुलियत दिने

काठमाडौं । कोभिड प्रभावित राहत, भन्सार र मनोरञ्जन करमा छुट लगायतका माग राख्दै नेपाली फिल्मकर्मीको डेलिगेसनले अर्थमन्त्री विष्णु पौडेललाई भेट गरेको छ ।

अर्थ मन्त्रालयमा आयोजित भेटमा चलचित्र संघका पूर्वअध्यक्षहरु र पदाधिकारी सहभागि थिए । सरकारले फिल्म क्षेत्रलाई कोभिड प्रभावित क्षेत्रको रुपमा सूचिकृत गरेपनि अर्थ मन्त्रालयमा आएर फाइल रोकिएको थियो ।

सरकारकै उक्त निर्णयलाई कार्यान्वयन गर्नुपर्ने माग फिल्मकर्मीले गरेका थिए । नेपाल प्रेससँग कुरा गदै चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानले यो मागमा अर्थमन्त्री सकारात्मक भएको र चाँडै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भारतबाट ल्याइने फिल्म निर्माण र हलका उपकरण भन्सार मिनाहा गर्न पनि संघले माग गरेको छ । दुईवर्षदेखि फिल्म उपकरण नेपालमा आयात हुन सकेको छैन । यसअघि साढे दुई प्रतिशत भन्सार शुल्क र चलचित्र विकास बोर्डको सिफारिस भए सरकारले ल्याउन अनुमति दिन्थ्यो ।

केही वर्षको लागि भएपनि चलचित्र क्षेत्रलाई करमुक्त गर्न पनि संघले माग राखेको छ । साथै, मनोरञ्जन कर मिनाहा गर्नुपर्ने माग छ । अहिले विभिन्न शीर्षकमा ३३ प्रतिशत कर फिल्म व्यवसायीले सरकारलाई बुझाइरहेका छन् । कर र भन्सार सम्बन्धी मागलाई आगामी बजेटमा सम्बोधन गर्ने प्रतिबद्धता अर्थमन्त्री पौडेलले व्यक्त गरेका छन् ।

भेटमा काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापित, चलचित्र संघका पूर्व अध्यक्षहरु नकिम उद्दिन, प्रदीप उदय लगायत सहभागि थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर