बाइडेन र सीबीच टेलिफोन वार्ता, अमेरिकाको चीन नीति बदलिने संकेत – Nepal Press

बाइडेन र सीबीच टेलिफोन वार्ता, अमेरिकाको चीन नीति बदलिने संकेत

काठमाडौं । कार्यभार सम्हालेपछि पहिलोपटक अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच टेलिफोन वार्ता भएको छ । आर्थिक र सामरिकलगायतका कतिपय मुद्दालाई लिएर पछिल्लो समय तनाव बढेको बेला विश्वका दुई ठूला अर्थतन्त्रबीच वार्ता भएको हो ।

वार्तामा आर्थिक र सैनिकसहित सहकार्य गर्न सकिने जलवायु परिवर्तन र आणविक प्रसार सम्बन्धी मुद्दामा छलफल भएको सीएनएनले जनाएको छ । साथै बाइडेनले ब्यापारिक असमानता, प्रविधि एवं मानवअधिकारका मुद्दा समेत उठाएको जनाइएको छ ।

बाइडेनले चिनियाँ उइगुर मुस्लिम समुदायविरुद्ध भएको मानवअधिकार उल्लंघन एवं हङकङ आन्दोलनबारे पनि चासो राखेका थिए । ‘बाइडेनले ती मुद्दा अमेरिकी मूल्य मात्र नभएर वैश्विक भएको समेत धारणा राखे’ ह्वाइट हाउस अधिकारीले सीएनएनलाई भने ।

दुई नेताबीचको वार्तापछि ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै बाइडेनले अमेरिकी नागरिकको सुरक्षा, समृद्धि, शान्ति र इन्डो–प्यासिफिक मुद्दाबारे पनि छलफल गरेको जनाएको छ । इन्डो-प्यासेफिक मुद्दालाई लिएर पनि अमेरिका र चीनबीच तनाव छ ।

बाइडेन प्रशासनले पूर्व ट्रम्प प्रशासनले चीनसँगको ब्यापारिक असमानता र प्रशान्त महासागरसहित एसियाली मुलुकमा बढाएको सैन्य गतिविधिलाई लक्षित गर्दै लिएको नीतिको पुनःसमीक्षा गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकाको इन्डो–प्यासेफिक रणनीतिलाई स्वीकार गर्न पनि बाइडेनले जिङपिङलाई आग्रह गरेको जनाइएको छ । तर, ट्रम्प प्रशासनले चिनियाँ ब्यापारमा लगाएको प्रतिबन्ध तत्काल यथावतै रहने पनि बाइडेनले सीलाई जानकारी दिएका छन् । बाइडेनले चीनसँगको ब्यापार युद्ध गम्भीर सोचविचार गरेरै कांग्रेसले पारित गरेको प्रसंग कोट्याउँदै यसबारे तत्काल कुनै निर्णय नहुने संकेत गरेका छन् । चीनसँग सम्बन्ध बढाउँदा अमेरिकाले अब बृहत् चीन नीतिलाई अख्तियार गर्ने समेत बाइडेनले सीलाई जानकारी दिएका छन् ।

गत बुधबार बाइडेनले अमेरिकाको चीन रणनीति तय गर्न त्यहाँको रक्षा मन्त्रालयले एउटा कार्यदल गठन गरेको घोषणा गरेका थिए ।

चिनियाँ सरकारी संचारमाध्यमकाे ग्लोबल टाइम्सले पनि दुई विश्व नेताबीच टेलिफोन वार्ता भएको पुष्टि गरेको छ । टाइम्सको अनलाइन संस्करणले वार्ता भएको पुष्टि गरे पनि के–के छलफल भयो भन्नेबारे खुलाएको छैन ।

सिन्ह्वाले चाहिं राष्ट्रपति सी जिङपिङले अमेरिका र चीनबीचको संवाद संयन्त्रलाई पुनर्स्थापित गर्न आग्रह गरेको लेखेको छ । सीले दुई देशबीचको गलत बुझाइ र गलत दृष्टिकोणलाई अन्त्य गर्नुपर्ने खाँचो औंल्याएको समेत सिन्ह्वाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर