भारतमा ट्वीटरलाई दुई चुनौती : एकातिर अभिव्यक्ति स्वतन्त्रता, अर्कोतिर सरकारी नियमन – Nepal Press

भारतमा ट्वीटरलाई दुई चुनौती : एकातिर अभिव्यक्ति स्वतन्त्रता, अर्कोतिर सरकारी नियमन

काठमाडौं । माइक्रोब्लगिङ साइट ट्वीटर अहिले भारतलाई लिएर धर्मसंकटमा फसेको छ । एकातिर उसलाई अभिव्यक्ति स्वतन्त्रता बचाउनुछ भने अर्कोतर्फ व्यापारलाई लिएर सरकारसँग जोखिम मोल्नुछ । किनभने, ट्वीटरका लागि भारत सबैभन्दा ठूलो बजार हो ।

ट्वीटरले बुधबार विज्ञप्ति जारी गर्दै भारत सरकारले बितेका १० दिनमा सयौं ट्वीटर खाता बन्द गरिदिन आग्रह गरेको जनाएको छ । गतसाता सरकारको विरोध गर्ने केही खातालाई निलम्बन गरेपछि उत्पन्न जनआक्रोशपछि पुनः सुचारु गरिएको थियो ।

कृषि कानूनको विरोध गर्ने दुई लाख फलोअर्स भएको एउटा खाता र त्यहाँको एउटा चर्चित म्यागजिन क्याराभानलाई ट्वीटरले केही घण्टाका लागि निलम्बन गरेको थियो । तर, चौतर्फी विरोध उठेपछि ट्वीटर निर्णयबाट पछि हट्नुपरेको थियो ।

ट्वीटरले जारी गरेको उक्त वक्तव्यमा स्प्यामको श्रेणीमा आउने र प्लेटफर्मको दुरुपयोग गर्ने ५०० भन्दा बढी खातालाई निलम्बन गरिसकिएको उल्लेख छ । भारतमा ट्वीटरका ७०० मिलियन प्रयोगकर्ता रहेका छन् ।

भारत सरकारले यसअघि सामाजिक संजाललाई नियमन गर्ने कानून लागू गर्ने प्रस्ताव गरेको थियो । यो प्रस्ताव फेसबुक र ह्वाट्स एपजस्ता सामाजिक संजालप्रति लक्षित थियो । चीनसँग लद्दाखमा सीमा तनाव भएपछि भारतले यसअघि चिनियाँ एप टिकटकमा प्रतिबन्ध लगाइसकेको छ । भारतीय सरकारसँग यसरी आमनेसामने हुने ट्वीटर तेस्रो सामाजिक संजाल कम्पनी बनेको छ । सीएनएनका अनुसार ट्वीटर पछिल्लो समय भारत सरकारविरोधी अडानमा यथावत् छ ।

यदि ट्वीटरविरुद्ध भारत सरकार कठोर बनेमा दुई खतरा हुनेछन् । पहिलो चाहिं – ट्वीटरका कर्मचारीको भविष्य अन्याेलमा हुनेछ । दोस्रो चाहिं – ट्वीटरलाई प्रतिबन्ध लगाउनू । तर, दोस्रो विकल्प भने भारतीय प्रयोगकर्ता र लोकतन्त्रका लागि दुर्भाग्य हुने सीएनएनको टिप्पणी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर