कोरोनाविरुद्धको खोप अभियानमा नेपाललाई सघाउन वेलायत इच्छुक – Nepal Press

कोरोनाविरुद्धको खोप अभियानमा नेपाललाई सघाउन वेलायत इच्छुक

काठमाडौं । वेलायतले कोभिड १९ विरुद्धको खोप अभियानमा नेपाललाई सघाउन इच्छुक रहेको जनाएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलसँगको भेटमा नेपालका लागि वेलायती रजादूत निकोला पोलिटले नेपालले जोखिममा रहेका आफ्ना नागरिकका लागि खोप अभियान चाँडै शुरु गरेकोमा सराहना गर्दै यस अभियानमा सहयोग गर्न वेलायत इच्छुक रहेको बताएकी हुन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको भेटमा कोभिड १९ महामारीविरुद्ध नेपालले चालेका कदमको समेत प्रशंसा गरेको बताइएको छ । भेटमा राजदूत पोलिटले अर्को वर्ष नोभेम्बरमा संयुक्त अधिराज्यको ग्लासगोमा हुन गईरहेको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा नेपालको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता शंकर नेपालले जनाएका छन् ।

भेटमा उपप्रधानमन्त्री पोखरेलले कोभिड १९ संकट व्यवस्थापन केन्द्र स्थापना गरी सम्बन्धित मन्त्रालयहरु मार्फत् रोगको नियन्त्रण, रोकथाम र उपचारका लागि चालेको अभियानले रोग पहिचान र नियन्त्रण प्रभावकारी भएको जानकारी दिएका छन् ।

पोखरेलले संयुक्त अधिराज्यबाट नेपालको विकासमा भइरहेको सहयोग र कोभिड–१९ को उपचारका निमित्त सहयोग गर्ने प्रतिबद्धताका लागि धन्यवाद व्यक्त गरे ।

उपप्रधानमन्त्री पोखरेलले जलवायु परिवर्तन नेपालको पनि प्राथमिकतामा रहेको जानकारी गराउँदै सन् २०१८ मा पोल्याण्डमा भएको सम्मेलनमा राष्ट्रपतिको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहेको स्मरण गरेका थिए ।

पोखरेलले नेपाललाई समृद्धि, स्थिरता र विकासमा गर्ने अभियानमा संयुक्त अधिराज्यको निरन्तर सहयोग रहने अपेक्षासमेत व्यक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर