थप २२ उपसचिव बढुवाका लागि सिफारिस (सूचीसहित)


काठमाडौं । लोक सेवा आयोगले कार्यक्षमताका आधारमा थप २२ उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । आयोगका एक सदस्यको संयोजकत्वमा गठित बढुवा समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बढुवाका लागि सिफारिस गरेको हो ।
सिफारिस हुनेमा १ नम्बरमा मनोजकुमार आचार्य र २२ नम्बरमा तुलसीनाथ गौतम छन् । त्यस्तै, १९ औं नम्बरमा गृह मन्त्रालयका सूचना अधिकारीसमेत रहेका उपसचिव प्रेमलाल लामिछाने परेका छन् भने गृह मन्त्रालय मातहतकै राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थपन प्राधिकरणका प्रवक्तासमेत रहेका उपसचिव जर्नादन गौतम २० नम्बरमा परेका छन् ।
समितिले सोमबार सिफारिस गरेपछि मन्त्रालयले मंगलबार बढुवामा चित्त नबुझेकाले ३५ दिन भित्र उजुरी दिन सूचना गरेको छ । कसैले उजुरी नगरे २२ जनाकै नाम ३५ दिनपछि मन्त्रिपरिषदमा पेश हुनेछ । मन्त्रिपरिषदबाट पारित भएपछि बढुवा हुने मन्त्रालयले जनाएको छ । उजुरी परेमा समितिले छानबिन गर्नेछ ।
लोक सेवा आयोगका अध्यक्षले तोकेको सदस्यको संयोजकत्वमा ५ सदस्यीय बढुवा समिति बनेको छ । समितिमा आयोगका अर्का एक सदस्य, मुख्यसचिव र एक जना विज्ञ सदस्य रहने व्यवस्था छ । मन्त्रालयका सचिव समितिका सदस्य सचिव हुने प्रावधान छ ।
कम्तीमा ५ वर्ष उपसचिव भएर सेवा गरेका १ सय २५ जनाले सहसचिव बढुवाका लागि दरखास्त दिएका थिए । जसमा २२ जनाको नाममात्र अन्तिम बढुवा सूचीमा परेको छ । ५ दिन अघि मात्रै २२ जना उप-सचिवको पनि सहसचिवमा बढुवा भएको थियो ।