प्रधानमन्त्रीलाई सिटौलाको सुझाव- आत्मालोचना गर्नुस्, गल्ती सच्याउनुस् – Nepal Press

प्रधानमन्त्रीलाई सिटौलाको सुझाव- आत्मालोचना गर्नुस्, गल्ती सच्याउनुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मालोचना गरेर गल्ती सुधार्न सुझाव दिएका छन् ।

कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ ले रत्नपार्कमा आयोजना गरेको विरोध सभामा नेता सिटौलाले संविधानविपरीत संसद भंग गर्ने निर्णय नसच्याए ओलीको राजनीतिक पतन निश्चित भएको बताए ।

‘मान्छेबाट गल्ती हुन्छ तर गल्ती सच्याउन सकिन्छ । प्रधानमन्त्रीलाई मेरो सुझाव छ- आत्मालोचना गर्नुस्, आफ्नो गल्ती सुधार्नुस् । होइन भने तपाईंको राजनीतिक पतन अब निश्चित छ’, सिटौलाले भने ।

उनले प्रधानमन्त्री ओलीले नटेरे अदालतले पाठ सिकाउने विश्वास व्यक्त गरे । ‘हाम्रो न्यायालयले सधैँ स्थायित्व, शान्ति र जन अधिकारको पक्षमा निर्णय गर्दै आएको छ । मलाई विश्वास छ अदालतले संविधान हेरेर व्याख्या गर्नेछ । ओलीको गल्ती सच्याउनेछ ’, सिटौलाले भने । उनले अदालतका सामु संविधान बचाउने अवसर आएको समेत बताए ।

संसद विघटनविरुद्धको मुद्दा अदालतमा विचाराधीन भएपनि कांग्रेसले असंवैधानिक कदमको प्रतिवाद गर्ने सिटौलाको भनाइ थियो । उनले कांग्रेसभित्रकै केही नेताहरू संविधान जोगाउने भन्दा चुनावको तयारीमा होमिन हतार गरेको भन्दै त्यस्तो निर्णय ‘अपरिपक्व’ हुने दाबी गरे । ‘निर्वाचनमात्रै भनेर मूर्खतापूर्ण बाटोमा हिँड्नु हुँदैन । संविधान बचाउन सकियो भने धेरै कुरा प्राप्त हुन्छ’, सिटौलाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर