निर्वाचन आयोगले भन्यो- नेकपाका दुई अध्यक्षलाई चिन्छौं, दुई समूहलाई होइन – Nepal Press

निर्वाचन आयोगले भन्यो- नेकपाका दुई अध्यक्षलाई चिन्छौं, दुई समूहलाई होइन

काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुई समूहलाई नभइ दुई अध्यक्षलाई चिनेको प्रष्ट पारेको छ । आयोगले नेकपाको आधिकारिताको लागि दुवै पक्षले निवेदन नदिएकाले अहिलेसम्म दुई अध्यक्षलाई चिनेको जनाएको हो ।

शुक्रबार नेकपाका दुवै समूहलाई आयोगले बोलाएको थियो । प्रचण्ड माधव पक्षले समय मागेपछि केपी अ‍ोली पक्षसँग आयोगले अनौपचारिक छलफल गरेको आयुक्त ईश्वरी पौडेलले बताए । दुवै पक्षले आधिकारिता दाबी गरेर आएपछि मात्र कानुनबमोजिम आयोग अघि बढ्ने उनको भनाइ छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले शुक्रबार नेकपाका दुवै समूहलाई नभई दुवै अध्यक्षका आधिकारिक प्रतिनिधिलाई बोलाइएको बताए । उनले आयोगले यसो गर्दा नेकपा विभाजनलाई मान्यता दिएको अर्थ नलाग्ने पष्ट पारे ।

श्रेष्ठले भने, ‘आयोगले दुई समूहलाई मान्यता दिएको होइन, दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका आधिकारिक प्रतिनिधिलाई बोलाएको हो । नेकपाका दुई समूहलाई मान्यता दिएको होइन ।’

नेकपाको प्रचण्ड-माधव पक्षले केपी ओलीलाई अध्यक्षबाट हटाएको विवरण आयोगलाई दिएको छ । तर, अ‍ोली पक्षले प्रचण्डलाई अध्यक्षबाट हटाएको छैन ।

नेकपाका दुवै अध्यक्षले राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार आ-आफ्ना विवरण हेरफेर गर्नमात्र पत्र पठाएकाले त्यसबारे आयोगले निर्णय गरिसकेको आयुक्त पौडेलले बताए । आयोगले कसको बहुमत छ ? को अल्पमतमा छ ? भनेर हेर्नका लागि अरुनै प्रक्रियाबाट आउनुपर्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर