सेलाउँदै कोरोना ? पाँच महिनापछि पहिलोपटक मृत्यु शून्य – Nepal Press

सेलाउँदै कोरोना ? पाँच महिनापछि पहिलोपटक मृत्यु शून्य

काठमाडौं । कोरोनाको खोप लगाउन सुरु भएको भोलिपल्ट अर्को सुखद समाचार आएको छ । पछिल्लो २४ घन्टामा कोरोनाभाइरसको संक्रमणबाट देशमा कसैको पनि मृत्यु भएन ।

स्वास्थ्य मन्त्रालयका अनुसार पाँच महिनामा पहिलोपटक मृत्यु शून्यमा झरेको हो । नेपालमा पहिलोपटक गत जेठ १ गते पहिलो एक महिला संक्रमितको मृत्यु भएको थियो । उनी सिन्धुपाल्चोककी सुत्केरी थिइन् । पछिल्लो ५ महिनामा दैनिक १० जनाभन्दा बढीले कोरोनाबाट ज्यान गुमाउँदै आएका थिए ।

पछिल्लोपटक गत साउन १९ गते नेपालमा मृत्यु संख्या शून्य थियो । त्यसयताका करिब पाँच महिनामा प्रत्येक दिन कोरोनाले मृत्यु हुँदै आएको थियो । गत कात्तिक १९ गते एकै दिन सबैभन्दा बढी ३० जनाको मृत्यु भएको थियो ।

दैनिक मृत्युको सिलसिला रोकिएर पछिल्लो २४ घन्टामा मृत्यु शून्यमा झरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नेपाल प्रेसलाई बताए ।‘लामो समयपछि कोरोनाबाट मृत्यु शून्यमा झरेको हो,’ उनले भने ।

नेपालमा अहिलेसम्म कुल २ हजार २० जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । नेपालमा कोरोनाको मृत्युदर ०.७५ प्रतिशत रहेको छ जुन अन्य देशको तुलनामा न्यून हो । दैनिक मृत्युको सिलसिला रोकिएर पछिल्लो २४ घन्टामा मृत्यु शून्यमा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

संक्रमण दर पनि घट्दै
नेपालमा कोरोनाको संक्रमण दर पनि केही समयदेखि घट्दो क्रममा रहेको तथ्यांकले देखाउँछ । त्यसो त कोरोना परीक्षण संंख्या पनि घटिरहेको छ ।

तथ्यांकअनुसार गत कात्तिकमा कोरोनाको महामारी नेपालमा उच्च विन्दुमा पुगेको थियो । गत ५ कात्तिकमा एकै दिन ५ हजार ७४३ जना संक्रमित भेटिएका थिए । हाल संक्रमण दरमा शिथिलता आइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २९६ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको अनुपात ९८ प्रतिशतको हाराहारी छ ।

संक्रमणको आधारमा नेपाल ४४ औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर