देउवाका दु:ख- शरीर आन्दोलनमा, आत्मा चुनावमा – Nepal Press

देउवाका दु:ख- शरीर आन्दोलनमा, आत्मा चुनावमा

काठमाडौं । हिजो बसेको कांग्रेस केन्द्रीय कार्य वैठकले प्रतिनिधिसभा विघटनविरुद्ध तीन दिनको नयाँ आन्दोलन कार्यक्रम तय गर्‍याे। सभापति शेरबहादुर देउवाको भित्री इच्छाविपरित पार्टीले आन्दोलनलाई निरन्तरता दिने निर्णय लिएको बुझ्न कठिन छैन ।

वैठकको अन्तिम दिन देउवा मौनप्राय थिए । वैठक अगाडि नै रामचन्द्र पौडेलसँग तेस्रो चरणको आन्दोलनका विषयमा सहमति गरिसकेका उनले वैठकमा केही बोलेनन् । यसले पनि उनको असन्तोष झल्किन्छ । वैठकपछि पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा पुनर्स्थापनाको एजेन्डामा कांग्रेसभित्र कुनै द्विविधा नरहेको स्पष्टीकरण दिन खोजे ।

हुन त कांग्रसले घोषणा गरेका आन्दोलन कडा खालका छैनन् । जम्माजम्मी तीन दिनका लागि कार्यक्रम बनाइएको छ, ती पनि राजधानी केन्द्रित छैनन् । त्यसैले यो आन्दोलन एउटा औपचारिकता हो भन्ने बुझाई कांग्रेसभित्रै छ । र, पनि कांग्रेसको यो निर्णय देउवाका लागि राजनीतिक परिवन्द हो ।

प्रधानमन्त्रीले हठात प्रतिनिधिसभा विघटन गरेलगत्तै त्यसको धेरैतिरबाट विरोध भयो । तर, देउवा भित्रभित्रै हौसिए । मुखले प्रष्ट भन्न नसके पनि प्रतिनिधिसभा विघटनमा उनी रमाएका छन् भन्ने बडी ल्याङ्वेजबाटै बुझ्न सकिन्थ्यो । मुद्दा अदालतमा गइसकेपछि उनलाई मुख खोल्न सहज भयो । उनले अदालतमा विचाराधिन मुद्दामा कांग्रेसले आन्दोलन गर्न नहुने मत राखे । तर, आफ्नो मतलाई पार्टीमा स्थापित गर्न सकेनन् ।

कांग्रेसभित्रका ‘प्रतिपक्षी नेता’ रामचन्द्र पौडेल पछिल्ला दिनमा सरकार र प्रधानमन्त्रीप्रति आक्रामक थिए । तनहुँमा आफूलाई प्रहरीले कठालो समातेको रिस उनलाई अझै मरेको छैन । साथै, लोकतन्त्र र संविधानका पक्षपाति उनी प्रधानमन्त्रीको कदमको कडा विरोधमा उत्रिए । पार्टीभित्र गगन थापा पनि उनीजस्तै उग्र विरोधमा थिए । ओलीले चालेको कदम संविधान बमोजिम छैन भन्नेमा पार्टीको ठूलो हिस्सा स्पष्ट देखिएपछि देउवालाई सकस भयो । उनी आन्दोलनमा लतारिन वाध्य भए । मनले चुनाव–चुनाव भनिरहेको थियो, तनलाई उनले जबरजस्ती आन्दोलनमा हुत्याए ।

मंगलबारको वैठकपछि कांग्रेसले आफ्नो कित्ता झन् क्लियर गरेको छ । देउवाले यदि चुनावको वकालत गरेका भए उनी अल्पमतमा पर्ने थिए । तसर्थ उनी मौन बसे । रामचन्द्रको लाइन पार्टीमा पारित भएको छ ।

देउवाका अवसर

देउवा आखिर किन चुनावमा जान उत्साहित छन् ? मुख्य कारण भनेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा आएको विभाजन नै हो । मुख्य प्रतिस्पर्धि पार्टी दुई फ्याक भएको अवस्थालाई देउवाले अभूतपूर्व अवसरका रुपमा लिएका छन् । कांग्रेसलाई चुनाव जित्नका लागि योभन्दा राम्रो मौका अर्को नहुने उनको विश्लेषण छ ।

कांग्रेसले यदि बहुमत ल्याएमा प्रधानमन्त्रीका दावेदार देउवा नै हुन् । यही पदआकांक्षाले उनलाई शीरदेखि पैतलासम्म तरंगित तुल्याएको छ । यदि अहिले चुनाव नभएर दुई वर्षपछि भयो भने त्यतिबेलाको माहोल फरक भइसक्छ । कम्युनिष्ट पार्टी एक हुन पनि सक्छन् ।

तर, यदि सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको फैसला गर्यो भने पनि देउवाका लागि अवसरको ढोका बन्द चाहिँ हुँदैन । प्रतिनिधिसभा पुनर्स्थापना भएमा सरकारविरुद्ध अविश्वास प्रस्ताव आउने निश्चित नै छ । कांग्रेसले काँध नथामे सरकार ढल्ने पनि पक्का नै छ । त्यो अवस्थामा नेकपाका दुवै समुहले देउवालाई बोक्न प्रतिस्पर्धा गर्नेछन् ।

अहिले नै पुष्पकमल दाहाल प्रचण्डले देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार छौं भनिसकेका छन् । यता, ओली समूहले पनि प्रचण्डलाई सत्ताबाट पर धकेल्नका निम्ति देउवासँग गठवन्धनको प्रस्ताव राख्न सक्छ । एकप्रकारले भन्दा देउवाका दुवै हातमा लड्डु छ । खान कति ढंग पुर्‍याउँछन् भन्ने मात्र हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर