संसद विघटनविरुद्ध सबै शक्ति एकजुट हुन चित्रबहादुरको आग्रह – Nepal Press

संसद विघटनविरुद्ध सबै शक्ति एकजुट हुन चित्रबहादुरको आग्रह

रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसद विघटनविरुद्धको आन्दोलनमा सबै शक्ति एक ठाउँमा उभिन आग्रह गरेका छन् ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिपति विद्यादेवी भण्डारीको कदम अधिनायकवाद र प्रतिगमनकारी भएको बताउँदै उनले संविधान र गणतन्त्रको रक्षाका लागि सबै राजनैतिक शक्ति एक ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए ।

राष्ट्रिय जनमोर्चाले बिहीबार बुटवलमा आयोजना गरेको ‘प्रतिनिधिसभाको विघटन र संयुक्त आन्दोलनको प्रश्न’ विषयक अन्तरक्रियामा बोल्दै केसीले प्रधानमन्त्रीले संसद विघटन गरी चालेको असंवैधानिक कदमका विरुद्ध एक भएर उभिए मात्रै संसद पुनःस्थापना गर्न सकिने जिकिर गरे ।

सरकारले घोषणा गरेको आगामी वैशाख १७ र २७ गतेको मध्यावधि निर्वाचन हुन्छ नै भन्ने कुनै ग्यारेन्टी नभएको उल्लेख गर्दै उनले निर्वाचन भइ हाले पनि स्थिर सरकार बन्ने अवस्था नभएको उल्लेख गरे ।

नेपालमा अस्थिरता पैदा गरेर विदेशी शक्तिकेन्द्रहरुले त्यसमा खेल्न खोजिरहेको आरोप लगाउँदै उनले प्रधानमन्त्री र राष्ट्रपतिको कदमले संविधान, गणतन्त्र र प्राप्त उपलब्धी नै गुम्ने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे ।

विगतमा राजा र पञ्चायतविरुद्धका अन्दोलनहरुमा नेपाली कांग्रेस, कम्यूनिष्ट पार्टीहरु र मधेशवादी दलहरु एक भएर संघर्षमा गएजस्तै संसद विघटनविरुद्ध पनि एक हुनुपर्ने उनको तर्क थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर