कांग्रेसको रणनीति- प्रदेश सरकारको चाबी मतदानकै बेलामात्र खोल्ने – Nepal Press

कांग्रेसको रणनीति- प्रदेश सरकारको चाबी मतदानकै बेलामात्र खोल्ने

काठमाडौं । प्रदेश सरकार जोगाउने कि ढाल्ने भन्ने तानातानमा परेको नेपाली कांग्रेसले तत्काल नेकपाका दुवै पक्षलाई पर्खाएरै राख्ने रणनीति बनाएको छ । बागमती प्रदेश र एक नम्बर प्रदेशको प्रदेशसभाको अधिवेशन बुधबारदेखि सुरु हुँदैछ । दुवै प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले अविश्वास प्रस्ताव दर्ता गरेको छ । अविश्वास प्रस्तावमा अष्टलक्ष्मी शाक्यलाई वैकल्पिक मुख्यमन्त्रीका रुपमा प्रस्तुत गरिएको छ ।

त्यस्तै एक नम्बर प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध भीम आचार्यलाई वैकल्पिक मुख्यमन्त्रीको रुपमा प्रस्तुत गर्दै अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

दुवै प्रदेशसभामा अविश्वासको प्रस्ताव पारित हुन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भूमिका निर्णायक हुनेछ । यद्यपी कांग्रेसले अविश्वास प्रस्तावउपर तत्काल आफ्नो ‘स्ट्याटस’ नखुलाउने भएको छ । कांग्रेस नेताहरुबीच अविश्वास प्रस्तावबारे ‘मतदान’ कै बेला निर्णय लिने सहमति बनेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सोमबारको ‘वान टु वान’ वार्तामा पनि मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावउपर पार्टीको रणनीतिबारे छलफल भएको थियो । दुवै नेताबीच प्रदेशसभामा अविश्वास प्रस्ताव पेश भएर, छलफल सकिएर निर्णय दिनै पर्ने अवस्था आएमा ‘स्टेप’ लिने सहमति भएको छ ।

कांग्रेसले अहिले नै अविश्वास प्रस्तावबारे आफ्नो धारणा सार्वजनिक गर्दा परिस्थिति आफू अनुकुल नहुने आँकलन गरेको छ । सभापति देउवाले एकसाताअघि पुष्पकमल दाहाल र माधवकुमार नेपालसंगको भेटमा कांग्रेसभित्र छलफल गरेर मात्रै अविश्वास प्रस्तावबारे निधो दिने बताएका थिए । कांग्रेसभित्र औपचारिक छलफल नभएपनि सभापति देउवा केही समय ‘पर्ख र हेर’ कै रणनीतिमा रहेका छन् ।

कांग्रेस केन्द्रीय समितिको बैठक माघ १३ गते बस्दैछ । सोही बैठकमा मुख्य मन्त्री विरुद्धका अविश्वास प्रस्तावबारे पनि छलफल हुनेछ । ‘प्रदेश सभामा प्रस्ताव पेश नभई हामीले धारणा दिइहाल्न जरुरी छैन । जतिबेला हामी बोल्नैपर्ने हुन्छ त्यतिबेला बोल्छौ’, सभापति देउवा निकट एक नेताले भने ।

अविश्वास प्रस्तावको पक्षमा अहिले नै खुल्दा प्रदेशसभा नै भंग हुनसक्ने खतरा कांग्रेस नेतृत्वले देखेको छ । त्यस्तै प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना जोगाउन पनि तत्कालै पक्ष वा विपक्षमा उभिन नहुने राय कांग्रेसमा बलियो छ ।

पार्टी नेतृत्वको स्पष्ट निर्देशन नआइसकेका कारण दुवै प्रदेशका कांग्रेस संसदीय दल अनिर्णित छन् ।

‘हाम्रो बीचमा छलफल चलिरहेको छ तर निर्णय अन्तिममा मात्रै सार्वजनिक गर्छौ । निर्णायक घडीमा हामी अनिर्णित रहदैनौ’, बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले भने । अविश्वासको प्रस्ताव पेश भएर मतदानको स्थिति नबन्दासम्म कांग्रेसले निष्कर्ष दिनु उपयुक्त नहुने बानियाँको भनाई छ ।

‘पहिला प्रस्ताव आओस् । छलफल चलोस् । सभामुखले त्यसलाई कसरी अगाडि बढाउनुहुन्छ । नेताहरुबीच के कस्तो सल्लाह हुन्छ ? त्यसै अनुसार अन्तिममा निर्णय गरिहाल्छौ नि’, बानियाँले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर