उवामेयाङको २ गोलमा आर्सनलले न्युकाशललाई हरायो – Nepal Press

उवामेयाङको २ गोलमा आर्सनलले न्युकाशललाई हरायो

एजेन्सी । पिएर्रे एमरिक उवामेयाङले २ गोल गरेपछि न्युकाशल युनाइटेडलाई ३–० ले हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको अंकतालिकामा शीर्ष दशभित्र प्रवेश गरेको थियो ।

पहिलो हाफमा क्लोज रेन्जबाट पोष्टमा प्रहार गरेका उवामेयाङले ५० औं मिनेटमा पहिलो गोल गरेका थिए । ६० औं मिनेटमा बुकायो साकाले दोस्रो गोल गरेका हुन् । उनले इमिली स्मिथ रोवेको ब्याकपासलाई उपयोग गरेका थिए ।

३१ वर्षीय उवामेयाङले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल खेलको ७७ औं मिनेटमा गरे ।

गावोनका अन्तर्राष्ट्रिय खेलाडी उवामेयाङले गत सिजन सबै प्रतियोगितामा गरी २९ गोल गरेका थिए । तीमध्ये प्रिमियर लिगमा मात्र २२ गोल गरेका थिए । तर सिजन २०२०–२१ मा उनी गोलका लागि संघर्षरत थिए ।

यो २ गोलसमेतले लिगमा जारी सिजन उनका गोलसंख्या पाँच पुगेको छ । आफ्ना मुख्य स्ट्राइकर लयमा फर्किएको देखेर आर्सनलका प्रशिक्षक मकेल आर्टेटा खुसी देखिए ।

‘आफ्नो आत्मविश्वाससहित टिमलाई सफलता दिलाउन उनलाई यो जरुरी थियो,’ आर्टेटाले भने, ‘हामी उनको गोललाई मिस गरिरहेका थियौं । हामी सबैलाई थाहा छ कि उनको पुनरागमन टिमका लागि कति महत्वपूर्ण छ ।’

यो जितले आर्सनललाई एस्टोन भिल्लाभन्दा एक स्थान माथि अर्थात दशौं स्थानमा पुर्याएको छ । आर्सनल चौथो स्थानको लिभरपुलभन्दा ७ अंक पछाडि छ । अर्थात च्याम्पियन्स लिग छनोटको सम्भावनालाई साकार पार्न उसले धेरै खेलहरु जित्नुपर्नेछ ।

न्युकाशल १५ औं स्थानमा छ र रेलिगेसन जोनमा रहेको फुलह्यामभन्दा ७ अंकले अगाडि छ । यो हारले न्युकाशलका प्रशिक्षक स्टिभ ब्रसमाथि दवाव थपिएको छ । गत साता प्रिमियर लिगको अन्तिममा रहेको शेफिल्ड युनाइटेडसँग हारेपछि उनलाई राजीनामाको दवाव थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर