‘भड्काववादको पछि नलागौं ओलीको विकल्प छैन’ – Nepal Press

‘भड्काववादको पछि नलागौं ओलीको विकल्प छैन’

दैलेख कर्णाली प्रदेशकै दोस्रो बढी जनघनत्व भएको जिल्ला हो । दैलेखलाई नेकपाको गढको रूपमा पनि चिन्ने गरिन्छ । दुई संघीय र चार प्रादेशिक निर्वाचन क्षेत्र रहेको दैलेखमा करीब तीन लाख जनसंख्या पुगेको अनुमान छ । दैलेखको निर्वाचन क्षेत्र नं. २ मा कम्युनिष्टले नै लगातार निर्वाचन जित्दै आएको छ भने निर्वाचन क्षेत्र नं. १ मा कांग्रेस र नेकपाको कडा टक्कर हुँदै आएको छ ।

यति हुँदाहुँदै पनि अहिले नेकपा दुई चिरा हुँदा कांग्रेसलाई चिट्ठा पर्ने सम्भावना देखिएको छ । नेकपाको वर्चस्व भएको दैलेखमा अहिले प्रष्ट रूपमा दुई खेमामा वडा तहसम्म कार्यकर्ता बाँडिएका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले पुस १५ गते मात्रै जिल्ला कमिटीको बैठक सम्पन्न गरेको छ । ११ वटा पालिका रहेको दैलेखमा सात वटा पालिकामा नेकपाले विजय प्राप्त गरेको थियो । तीमध्ये आठबिस नगरपालिका, नारायण नगरपालिकाका नगरप्रमुख ओली समूहमा लागेका छन् । ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष पनि ओली समूहमा नै रहेको उनीहरूको दाबी छ । चामुण्डा विन्द्रासैनी नगरपालिका, भैरवी गाउँपालिका, महावु गाउँपालिका र भगवतीमाई गाउँपालिकामा प्रचण्ड–नेपाल समूहका जनप्रतिनिधि छन् । यसरी हेर्दा जिल्ला कमिटीमा प्रचण्ड–माधव नेपाल समूहकै बढी सदस्य भएको देखिन्छ ।

नेपाल कम्युनिष्ट पार्टी दैलेखका अध्यक्ष रवीन्द्रराज शर्मा प्रतिनिधिसभा सदस्य पनि हुन् । उनले तत्कालीन नेकपा एमालेको जिल्ला अधिवेशनमा ओली समूहबाट निर्वाचन लड्दै नेकपा जिल्ला कमिटी अध्यक्ष पदका प्रत्यासी एवं नेपाल समूहका उम्मेद्वार हालका चामुण्डा विन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीलाई चार मतले पराजित गर्दै अध्यक्ष बनेका थिए । हाल काठमाडौंमा रहेका अध्यक्ष शर्मासँग नेपालप्रेसले जिल्लाको राजनीतिक अवस्थाका बारेमा कुराकानी गरेको थियो । प्रस्तुत छ कुराकानीको सार :

दैलेखमा नेकपा विभाजन भइसकेपछि तपाईं सहभागी समूहको अवस्था कस्तो छ ?

एकदमै राम्रो छ । हामी अग्रगमनका पक्षधर हौं । जनता भन्दा ठूलो कोही छैन । जनताको मतको आधारमा हामी अहिले पनि एक नम्बरमा नै छौं । अझ भन्ने हो भने प्रधानमन्त्री ओलीको राष्ट्रप्रेम, देशभक्तिका कारण हामी थप सबल हुन्छौं । हामी अन्य कोही पनि समूह या दलभन्दा कम छैनौं ।

यो कसरी भन्नुहुन्छ ?

१४५ सदस्यीय जिल्ला कमिटीमा २० जना पूर्व माओवादीका साथीहरू आइसक्नुभएको छ । नेपाल समूहका पनि अधिकांश साथीहरू आउँदै हुनुहुन्छ । धेरै आइसक्नुभएको छ । हामी जिल्ला कमिटीमा पूर्ण बहुमतमा छौं । अहिले संख्या नै भन्न आवश्यक म ठान्दिनँ । प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्रीय कमिटीमा हाम्रो बहुमत छ । तीन वटा प्रदेश कमिटीमा पनि हाम्रो बहुमत छ । पालिकामा नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का, आठबिस नगरपालिका प्रमुख खड्गराज उपाध्याय र ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही हाम्रै पक्षमा हुनुहुन्छ । यसरी हेर्दा ठूलो जनसंख्या भएका पालिकामा पनि हाम्रो पक्षको पकड छ । यसले के सन्देश दिन्छ भने हामी दैलेखमा एक नम्बरमै छौं ।

केन्द्रमा ओलीले गरेजस्तै अब भेला, बैठक मनोनीतको कार्यक्रम चलाउनुहुन्छ होला नि उसो भए ?

अहिलेलाई केही समय बाँकी छ । केही समयपछि मात्रै हामी त्यो अभियान शुरू गर्छौं । पहिले निर्वाचन आयोग र सर्वोच्च अदालतको फैसला कुरिरहेका छौं । कानूनी प्रक्रिया टुंग्याएर आधिकारिकता पाइसकेपछि हामी शुरू गर्छौं । हरेक जनताका घरमा हामी पुग्छौं ।

तपाईंको अभियान पछि शुरू हुने भन्नुभयो । तर अर्को समूहले भेला, बैठक शुरू गरिसकेको छ नि ?

उहाँहरू के गर्नुहुन्छ त्यो हाम्रो सरोकारको विषय भएन । म सबै कार्यकर्ता, जनताको प्रत्यक्ष सम्पर्कमा छु । हरेकलाई भडकावपूर्ण कार्यमा नलाग्न आग्रह गरिरहेको छु । यो आन्दोलन भनेको कुनै व्यक्ति यता वा उता भन्ने होइन । यो मुलुकको कम्युनिष्ट आन्दोलनको चरमोत्कर्ष हो । विदेशी ताकतसँगको अन्तरविरोधको उच्चतम रूप हो । यो नेपालको शान्ति, स्थिरता, स्थायित्व, राष्ट्रिय एकता र स्वाभिमान विरोधी विरुद्धको मोर्चाबन्दी हो र नेपालको कम्युनिष्ट पार्टी त्यो आँधीबेहरीसँग जुध्छ । त्यसैले त्यो शिराबाट राजनीति बुझ्नुपर्छ । तल को कता लाग्छ, कता लाग्यो भन्ने कुरा अस्थायी हुन् । यस्ता केही आन्दोलनको अर्थ छैन । चुनावमा ताकत देखाउन सक्नुपर्छ । हामी दैलेखका दुवै निर्वाचन क्षेत्रमा चुनाव जित्छौं । हामी एक्लै चुनाव लड्छौं ।

अध्यक्ष तपाईं हुनुहुन्छ सचिव अर्को पक्षका छन् । उनीहरूलाई कारबाही गरेर अघि बढ्नुहुन्छ कि ?

उहाँहरूलाई हामीले किन कारबाही गर्ने ? उहाँहरू नयाँ पार्टी बनाएर अघि बढ्नुहुन्छ । आफैं हिंडिरहनुभएको छ । कुम्लो कुटुरो बोकिरहनुभएको छ । खाली ठाउँमा पछि हामी भरौंला नि ! उहाँहरू आफैं जानुहुन्छ । असल, योग्य र क्षमतावान कामरेडलाई जिल्ला कमिटीमा ल्याउँछौं ।

केपी ओली पदलोलुप भए, आफ्नालाई जागिर खुवाउन मरिहत्ते गर्ने, सके प्रधानमन्त्री आफैं हुने नसके कसैलाई हुन नदिने ओलीको इगोले प्रतिनिधिसभा विघटन गरायो भन्ने हल्ला चारैतिर छ, के हो वास्तविकता ?

अन्धाले देख्ने र बहिराले सुन्ने भनेजस्तै त्यो कुरा हो । त्यो देखिएकै छ । अर्को महाधिवेशनमा अध्यक्ष लड्दिनँ, अर्को निर्वाचनमा दुई तिहाइ बनाइदिन्छु प्रधानमन्त्री तपाईंहरू हुनुहोस् । यसको पनि विधि छ, प्रक्रिया छ । अस्थिरता, गञ्जागोल नगर्नुहोस् भनेर बारम्बार जनताको बीचमा उहाँले भन्दै आउनुभएको थियो । केपी ओलीलाई कसरी पदको लोभी भन्ने ? साथीहरूलाई रहेछ । पार्टीको वैधानिकताको बारेमा निर्वाचन आयोगले फैसला गरेको छैन । उहाँहरूले तात्तातो जनताका बीचमा जानै पर्ने, धैर्य छैन त्यति पनि ? यस्ता आरोपको काम छैन । यस्ता आरोपको डटेर सामना गरिन्छ ।

केपी ओली प्रधानमन्त्री भइरहँदा के दिए कर्णालीलाई ?

केपी ओली प्रधानमन्त्री हुँदा समृद्धिका कुरा, स्रोतसाधन बढी दिएका छन् । कर्णालीका तीन वटा राजमार्ग निर्माणमा जोड दिनु, अन्य प्रदेश भन्दा बढी बजेट कर्णालीका लागि पठाउनु, कार्यक्रमहरू पर्याप्त आउनु यो के हो ? आएको बजेटलाई कार्यान्वयन गर्नु त प¥यो नि ! मन्त्री पाउने नपाउने भन्दा पनि काम गर्न सक्नुपर्छ । मन्त्रीको रूपमा शक्ति बस्नेत थिए, राज्यमन्त्री पनि कर्णालीले पाएकै थियो । तल मुख्यमन्त्री छन् । कर्णालीले केही पाएन भन्ने कुरा होइन ।

कर्णालीमा प्रदेश प्रमुख, मन्त्री वा नेकपाकै कर्णाली संयोजक हुने हैसियत राख्ने नेता नै नभएको हो त ?

कर्णालीका साथीहरू पनि क्रमशः आउँछन् । नेकपाको कर्णाली संयोजक छान्ने कुरामा स्थायी कमिटीबाट ल्याउनुपर्ने भएका कारण संयोजकमा मणि थापा आउनुभएको हो । विगतमा दुई वटा स्थायी कमिटीमा सदस्य थिए । आगामी दिनमा साथीहरू कर्णालीकैले नेतृत्व गर्ने अवस्थामा हामी पुग्छौं ।

अबको बाटो के हुन्छ ?

नेपालको कम्युनिष्ट पार्टीको रक्षा गर्नु सबैको दायित्व हो त्यसमा पनि कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूको प्रमुख दायित्व हो । यस्तो समयमा अनावश्यक गतिविधिमा लाग्नुहुँदैन । पार्टीको प्रथम अध्यक्षको हैसियतले पार्टीको पुनर्गठन गरेर अध्यक्ष अघि बढ्नुभएको छ । लोकतान्त्रिक विधि र प्रक्रिया समातेर निर्वाचनको घोषणा गर्नुभएको छ । पार्टीभित्रका पूर्व प्रधानमन्त्रीले जहिल्यै कुरा नमानेपछि के हुन्छ अवस्था ? जो प्रधानमन्त्री भए पनि आफ्नैबाट निरन्तर हुने असहयोगले सफल हुन सकिंदैन ।

अब चुनावमा जाने हामीले तयारी गरेका छौं । जनतामा गएर, को कति सत्य नजिक छ भन्ने कुरा आम जनताले देखाउने छन् । यसलाई अन्यथा नमानेर जनताको बीचमा जान आवश्यक छ । चुनाव चिन्ह चाहियो, पार्टी चाहियो भन्दै हुनुहुन्छ साथीहरू । चुनावमा जाने भए हाम्रो चुनाव चिन्ह किन चाहियो ? जनमत लिन डराउनेहरू यसरी जनतालाई भ्रममा पार्दै आइरहेका छन् ।

संसद पुनर्बहाली गर्ने चाहना भए उहाँहरूलाई किन चुनाव चिन्ह चाहियो ? उहाँहरू यही संसदबाटै प्रधानमन्त्री र राष्ट्रपति बनाउन चाहनुहुन्छ । त्यस्ता कुराहरूको बारेमा हामी आम जनतामा कुरा राखौंला । अहिलेका लागि त्यस्ता भडकाववादमा नलाग्न सबै दैलेखी कम्युनिष्ट कार्यकर्ता, नागरिकलाई आग्रह गर्दछु । ओलीको विकल्प नेपालमा छैन । उहाँ राष्ट्रवादी नेता हो । देशी–विदेशी शक्तिसँग कहिल्यै नझुक्ने ओलीको पक्षमा सबै लाग्न जरूरी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर