बंगलादेशका प्रशिक्षक भन्छन्- सावित्रा भण्डारी टोलीमा नहुँदा डिफेन्डरलाई ‘रिलिफ’ हुन्छ – Nepal Press

बंगलादेशका प्रशिक्षक भन्छन्- सावित्रा भण्डारी टोलीमा नहुँदा डिफेन्डरलाई ‘रिलिफ’ हुन्छ

काठमाडौं । बंगलादेशको राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक गोलाम रोबानी चोटोनले सावित्रा भण्डारी बिनाको नेपाली टोलीसँग खेल्दा डिफेन्डरलाई ‘रिलिफ’महसुस हुने बताएका छन् ।

एएफसी वुमेन्स एसियन कपको तयारी स्वरुप बिहीबार हुने नेपालविरुद्धको मैत्रीपूर्ण खेलअघिको पत्रकार सम्मलेलनमा प्रशिक्षक चोटोनले आफ्नो टोली दबाब बिना मैदानमा उत्रिने बताए ।

‘सावित्रा भण्डारी दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड हुन्, उनी भोलिको खेलमा नहुनु दुःखद् कुरा हो,’ प्रशिक्षक चोटोनले भने, ‘तर, हाम्रा डिफेन्डरलाई नेपाली टोलीमा सावित्रा नहुँदा ‘रिलिफ’ महसुस हुनेछ ।’

‘फिफा डेटको उपयोग गर्दै मैत्रीपूणै खेल आयोजना गर्न लागेकोमा धन्यवाद,’ उनले भने, ‘कोरोना भाइरसका कारण विभिन्न रेस्ट्रिकसनका वावजुद पनि फुटबल आयोजना गर्न लागेकोमा धन्यवाद ।’

एएफसी वुमेन्स एसियन कप छनोटको तयारीका लागि यी दुई खेल महत्त्वपूर्ण हुने उनले बताए ।

‘हाम्रो टोलीमा अहिले प्राय सबै खेलाडी उमेर समूहबाट आएका छन् । उमेर समूहबाट धेरै समयसँगै खेलका खेलाडी छन्,’ प्रशिक्षक चोटोनले भने, ‘लामो समयपछि खेल्न पाउँदा खेलाडी खुशी छन् । त्यसका लागि पनि तयारी गरिरहेका छन् । एएफसी वुमेन्स एसियन कप-२०२२ को छनोट खेल्न र छनोट हुनका लागि तयार छन् ।’

उनले नेपालीले एकदमै धेरै फुटबल मन पराउने र भोलिको खेल प्रतिस्पर्धात्मक खेल हुने आशा व्यक्त गरे ।

‘नेपालीले एकदमै फुटबल मन पराउँछन् । भोलि र आइतबार हुने प्रतिस्पर्धात्म खेल हुने आशा गरेका छौं,’ उनले भने, ‘त्यसका लागि हामी तयार छौं । नेपाल बलियो टोली छ । राम्रो र प्रतिस्पर्धात्मक खेलको अपेक्षा गरिरहेका छौं ।’

यस्तै, बंगलादेशकी कप्तान सविना खातुनले पनि नेपालको सामना गर्न आफ्नो टोली तयार रहेको बताइन् ।

‘हामी तयार छौं । छनोटका लागि तयार छौं । धेरै खेलाडी उमेर समूहबाट छन् । राम्रो तालमेल छ, प्रतिस्पर्धात्म खेल हुनेमा आशावादी छौं,’ उनले भनिन् ।

नेपाली महिला टोलीले १० दिनपछि एएफसी वुमेन्स एसियन कप २०२२ को छनोट उज्वेकिस्तानमा खेल्दैछ । समूह एफमा परेको नेपालले २०२२ मा भारतमा हुने प्रतियोगितमा स्थान बनाउका लागि सेप्टेम्बर १८ मा फिलिपिन्स र २१ मा हङकङको सामना गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *