अमेरिकासँग घडी छ, तालिबानसँग समय – Nepal Press
आजदेखि अमेरिकाले छाड्यो अफगानिस्तान

अमेरिकासँग घडी छ, तालिबानसँग समय

७ अक्टोबर, २००१ देखि ३१ अगस्ट २०२१ ।

जीवन दर्शनलाई नियाल्नेहरु भन्छन् : ‘इन्ट्री कसरी भयो भन्न कुराले खास अर्थ राख्दैन, महत्वपूर्ण त एक्जिट कसरी हुन्छ भन्ने हो ।’ अमेरिकी युद्ध सिद्धिनैपर्थ्यो र अमेरिका फिर्ता जानैपर्थ्यो। बदलिँदो विश्व व्यवस्थाको कुनै पावरले त्यो रिक्ततालाई पूर्ति गर्नैपर्थ्यो । ठीक २० वर्षपछि आज काबुलबाट अमेरिका लज्जास्पद ढंगले ‘एक्जिट’ भएको छ ।

सेप्टेम्बर ११ को न्यूयोर्क हमलापछि अलकायदा नेता ओसामा बिन लादेनलाई समात्न काबुल छिरेको अमेरिका दुई दशक लामो युद्धको औचित्य पुष्टि नहुँदै बाहिरिएको छ । बरु, चीन र रुसजस्ता उसका प्रतिस्पर्धी शक्तिहरुका लागि अफगानिस्तानमा आधार भूमि तयार भएको छ । गएराति अमेरिकी सेनाका कमान्डर क्रिस डोनाह्यु बीस वर्षे लामो अफगान युद्धमा अमेरिकी फिर्तीका अन्तिम पात्र थिए । एयरबर्न डिभिजनका ती कमान्डरले उद्दार उडानमा पाइला टेक्दै गर्दाको क्षण विश्व मिडियाको ‘फोटो अफ द डे’ बनेको छ ।

एक तालिबान कमान्डरले भनेजस्तै ‘अमेरिकासँग घडी छ, हामीसँग समय ।’ हुन पनि यो भनाईको सार्थकता अहिले पुष्टि भएको छ । २० वर्षअघि तालिबानलाई सत्ताच्युत गरेर विश्व बैंकका जागिरे असरफ घानीलाई राष्ट्रपति बनाएको अमेरिकालाई त्यही तालिबानले हटाइदिएको छ । तालिबानका ती सैन्य कमान्डरले भनेजस्तै, तालिबानको समय आएको छ र अमेरिकी घडीको प्रभाव काबुलमा यतिबेला शुन्यप्रायः बनेको छ ।

अमेरिकी सेनाका कमान्डर क्रिउ डोनाह्यु गएराति काबुलबाट घर फर्कने अन्तिम यात्रु बने । अमेरिकी रक्षा मन्त्रालयले जारी गरेको यो तस्विरलाई आज विश्व मिडियाले प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।

अमेरिकी सैनिक बिमानले काबुलको आकाश छाड्ने वित्तिकै तालिबान लडाकुले काबुल विमानस्थललाई कब्जामा लिएका छन् । लगत्तै, काबुलको आकाश तालिबानको आतसबाजीले रंगियो भने बन्दुकको आवाजमा तालिबानले हर्षोल्लास मनाए । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बिहीवार ज्यान गुमाएका १३ जना अमेरिकी सैनिकको नाम ह्वाइट हाउसको ट्वीटरबाट सेयर गरिरहँदा काबुलमा चाहिँ तालिबानहरु विजयोत्सव मनाउँदै थिए । तालिबान प्रवक्ता जाबिहुल्ला मुजाहिद भन्दै थिए : अफगानिस्तानलाई बधाई छ । विजय हामीसँग सम्बन्धित छ । हामी अमेरिका र विश्वसँग राम्रो सम्बन्ध चाहन्छौं । हामी ती सबैपक्षसँग राम्रो कूटनीतिक सम्बन्ध राख्न चाहन्छौं ।’

मुजाहिदले यस्तो भन्नु स्वभाविक पनि हो किनभने, २० वर्षयता काबुल नदीमा धेरै पानी बगिसक्यो । दुई दशक लामो युद्धमा अमेरिका र उसका साझेदार मुलुकको लगानीको पृष्ठभूमिमा अफगानिस्तानमा यस्तो उदार र खुला पुस्ता तयार भएको छ जुन वर्ग तालिबानलाई चुनौति हुनसक्छ । कतिपय अफगान प्रान्तमा अमेरिकाप्रति झुकाव राख्ने समूहले तालिबानविरोधी अभिव्यक्ति दिएको खबर पनि छ । हुनसक्छ यही कारण तालिबानले काबुललाई नियन्त्रणमा लिने वित्तिकै महिलाको अधिकारलाई सम्मान गर्ने र विदेशी मुलुकसँग कूटनीतिक सम्बन्ध राख्ने बयान दियो ।

तर्क जेजस्तो भएपनि सहि के हो भने : दुई दशकको युद्धमा अफगान समाज निकै विभाजित भएको छ । यो विभाजित समाज कतै सम्भावित गृहयुद्धको उत्प्रेरक बन्ने त होइन भन्ने चिन्ता यसबेला छ । तालिबानले महिला, आदिवासी जनजाति, अल्पसंख्यक र अन्य असन्तुष्ट पक्षलाई पनि समेटेर समावेशी सरकार बनाउन गृहकार्य बनेपनि दुई सातासम्म सरकार गठनको आकार तयार भैसकेको छैन । अर्कोतर्फ, लगभग सबैजसो मुलुकले अफगानिस्तानलाई आर्थिक नाकाबन्दी लगाइसकेका छन् । यी सबै तथ्य तालिबानलाई राम्रोसँग थाहा छ ।

उदार पुस्ता तयार हुनु, आर्थिक नाकाबन्दी र अन्तर्राष्ट्रिय वैधता पाउनुपर्ने जस्ता कारणले अहिलेको तालिबान २० वर्षअघिको जस्तो कट्टर हुने सम्भावना पनि छैन । अफगानिस्तानको राजनीतिक भविष्य कस्तो हुने भन्नेमा पुरै अन्यौल छ । तुलनात्मकरुपमा तालिबानप्रति नरम चीन र रुसले अफगानिस्तानमा जुनसुकै सरकार आएपनि मैत्रीपूर्ण सम्बन्ध राख्ने बताइसकेका छन् । अमेरिका र उसका साझेदार मुलुकले तत्काल तालिबान सरकारलाई मान्यता नदिन सक्छन् तर, चीन र रुसले तालिबानलाई सतर्कतापूर्वक हरियो झण्डा देखाएका छन् । तर, तालिबानलाई वैधानिकता दिने बारेमा बेइजिङ र मस्को हतार गर्ने पक्षमा छैनन् । तालिबानले अन्य आतंकवादी संगठनसँग सम्बन्धलाई अन्त्य गर्छ वा गर्दैन भन्ने सुनिश्चित गरेमात्रै वैधानिकता दिने मुडमा बेइजिङ र मस्कोको नीति निर्भर हुनेछ । तर, तालिबान सरकार बनेमा सम्बन्ध विस्तार गर्ने उनीहरुको नीति स्पष्ट छ । बेइजिङमा तालिबानका सह-संस्थापक बरदारीलाई रेडकार्पेटमा स्वागत गरेको चीनले त्यतिबेला नै संकेत दिइसकेको थियो ।

अमेरिकाले अफगानिस्तान छाडेपछि खुशियाली मनाउन गएराति तालिबानले काबुलको आकाशमा गरेको आतसबाजी । तस्विर : न्यूयोर्क टाइम्स

अब के हुन्छ ?

यतिबेला अफगानिस्तानको स्थिती कम्पासबिनाको जहाजजस्तै बनेको छ । या त यो हिउँको ढिक्कामा ठोक्किएर टाइटानिक जहाजजस्तै युद्धको पानीमा पुनः डुब्नसक्छ या त यो फिनिक्स चराजस्तै खरानीबाट पुनः जन्मिन सक्छ । सैद्धान्तिकरुपमा यी तथ्य सहि लाग्ने भएपनि अहिले नै अफगानिस्तानको निकट भविष्यबारे व्याख्या गर्नु हतार हुनसक्छ । ४० वर्ष लामो युद्धको विभिषिका खेपेका अफगानको भविष्यले तत्काल आकार लिने सम्भावना पनि देखिनेछैन । यदि अफगान शरणार्थीको देश छाड्ने चक्र पुनः सुरु भयो भने तालिबानका लागि अर्को गृहयुद्धको खतरा हुनसक्छ ।

तालिबानले काबुल कब्जा गर्ने वित्तिकै विदेशिएका ३८ मिलियन अफगान नागरिक के स्वदेश फर्केलान् ? के तालिबानले पुनः सरिया कानूनको कार्यान्वयन गराउन कठोर कदम चाल्लान् ? सबैभन्दा ठूलो विडम्वना र चुनौति ती केटीहरुलाई भएको छ जसले बितेको दुई दशकमा स्वतन्त्रताको स्वाद चाखे अनि तालिबान शासनमा व्यवस्थासँग सम्झौता गर्न सकिदैंन भन्ने मान्यता राख्छन् । भोलि अर्थात सेप्टेम्बर १ देखि अफगान युद्धको नयाँ अध्याय लेखिनेछ । अवश्य पनि, लामो अमेरिकी युद्ध त सकिएको छ तर, अफगानहरुले अझै लामो युद्ध लड्नुपर्ने निश्चित छ । किनभने तालिबानको कमब्याकपछिको त्रास र चिन्ता कायमै छ भने, अहिले पनि नयाँ व्यवस्थाको मानक तयार भैसकेको छैन । स्वयम तालिबान मात्र नभएर, चीन, रुस र अमेरिकाको अफगान नीति कस्तो हुनेछ भन्ने कुराले पनि धेरै हदसम्म निक्र्यौल गर्नेछ ।

किनभने अमेरिकाले सजिलैसँग पुनः अफगानिस्तान चीन र रुसलाई छाडने सम्भावना देखिँदैन । सम्भवतः आज (नेपाली समयानुसार राती) अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको युद्ध र अबको तयारीबारे जनताका नाममा सम्बोधन गर्दैछन् । अमेरिकाको अफगान प्रवेश लादेनलाई सिध्याउनु र अलकायदालाई कमजोर तुल्याउनु रहेपनि त्यतिमा मात्रै अमेरिका सीमित हुने देखिँदैन । मुख्यतः चीन र रुसको प्रभावलाई रोक्न अमेरिका अझै सक्रिय हुनसक्छ । इन्डो-प्यासिफिक र क्वाड कार्यक्रमबाट चिनियाँ प्रभावलाई रोक्न अमेरिका प्रयत्नशिल छ ।

अमेरिकी सेनाको अन्तिम जहाज काबुल छाड्दै गर्दा हेर्दै तालिबान लडाकुहरु । तस्विर : न्यूयोर्क टाइम्स

अर्कोतर्फ अमेरिका तथा उसका साझेदार मुलुक र वित्तिय निकायहरुले अफगान पुननिर्माणका लागि अर्बौं डलर लगानी गरेका छन् । कतिपय निकाय लगानीको तयारीमा थिए । तालिबानले काबुललाई नियन्त्रणमा लिएपछि विश्वासको संकट सिर्जना भएको छ । किनभने अन्तर्राष्ट्रिय वित्तिय संस्थाहरु प्रत्यक्षरुपमै अमेरिकी नियन्त्रणमा छन् । अफगानिस्तानको केन्द्रीय बैंकमा जानुपर्ने ९ अर्ब डलरको कोष अनिश्चित बनेको छ जसको नियन्त्रण न्यूयोर्क रिजर्भ बैंकसँग छ ।

अर्कोतर्फ, चीन सरकार नियन्त्रित कम्पनीहरु तालिबानले काबुललाई नियन्त्रणमा लिने वित्तिकै त्यहाँ लगानीका लागि योजनाहरु बनाइरहेको ग्लोबल टाइम्सले जनाएको छ । अफगान भूमिमा करिब १० खर्ब अमेरिकी डलर बराबरको सुन तथा बहुमूल्य धातुको खानी रहेको विभिन्न अनुसन्धानले देखाएका छन् । यो खानीमा अमेरिकाले लगानीका लागि आशा राखेको थियो तर, त्यो पुरा भएन । अहिले भने, चिनियाँ कम्पनीहरुले अफगान खानीमा लगानी गर्न खोजिरहेको ग्लोबल टाइम्सले यसैसाता प्रकाशित गरेको एक आलेखमा उल्लेख छ ।

साथै, तालिबान सत्ताबाहिर रहँदा अफगानिस्तानको अर्थतन्त्र तीन गुणाले वृद्धि भएको छ र सोहीअनुसार आर्थिक पूर्वाधारको निर्माण पनि । अर्थतन्त्रमा आएको यो बदलाव र बितेको २ दशकमा उदारताले हुर्काएको पुस्ताको मनोविज्ञान र आकांक्षालाई तालिबानले कसरी व्यवस्थापन गर्ला ? के तालिबान यी परिवर्तनसँग जानकार छ या छैन ? देशबाहिर भन्दा पनि देशभित्रैको असन्तुष्टिलाई तालिबानले कसरी निर्देशित गर्नेछ भन्ने कुराले धेरै हदसम्म तालिबान सत्ताको सफलता निर्भर हुनेछ ।

केही दशकदेखि अफगानिस्तानमा रहेर लामो समय रिर्पोटिङ गरिरहेका नेपाली पत्रकार सुबेल भण्डारीसँग ती तालिबानी कमान्डरले भनेजस्तै, के अमेरिकासँग घडी र तालिबानसँग समय भएकै हो ? तालिबानले भनेको जस्तै सो ‘समय’ अमेरिकालाई युद्धमा हराउने बदलाले मात्र प्रेरित हुन्छ या ४० वर्ष लामो युद्धरुपी दुश्चक्रको खरानीमा जलेको फिनिक्स चराजस्तै पुनः जन्मिएर समृद्धिको उडान भर्छ ? यो सबै तालिबानको समयमा निर्भर हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर