अति सामान्य वस्तु आयातमा विदेशिन्छ वर्सेनि अर्बौ रुपैयाँ – Nepal Press

अति सामान्य वस्तु आयातमा विदेशिन्छ वर्सेनि अर्बौ रुपैयाँ

वर्षमा डेढ अर्बको डाइपर र डेढ करोडको दाँत कोट्याउने सिन्का आयात

काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटा कम गर्ने विषयमा व्यापक बहस भइरहेको छ । तर तथ्यांक यस्तो छ कि, अतिसामान्य वस्तु आयातमा नै वर्सेनि अर्बौं रुपैयाँ विदेशिने गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयअन्तर्गतको ‘नेपाल व्यापार सूचना पोर्टलका अनुसार पछिल्लो एक वर्षमा दाँत कोट्याउने सिन्का मात्रै १ करोड ५७ लाख २९ हजार र दाँत माझ्ने ब्रस मात्रै ३१ करोड रुपैयाँको भित्रिएको छ । त्यस्तै दाँत माझ्ने मञ्जन ६९ करोड २३ लाख, साबुन १ अर्ब ९६ लाख, भुसुना मार्ने इलेक्ट्रिक मेसिन २८ करोड, कपाल रंग्याउने (हेयर डे) ४५ करोड १० लाख र अनुहारमा लगाउने क्रिम ७९ करोड ४३ लाख रुपैयाँको आयात भएको छ ।

स्याम्पू १ अर्ब १९ करोड १४ लाख, काइँयो १४ करोड ६१ लाख, टाँक २ करोड २९ लाख, चुइगम १ अर्ब १९ करोड, तास २८ करोड ६२ लाख, सिन्के धूप ५२ करोड र बच्चाको डाईपर १ अर्ब ५३ करोड रुपैयाँको विदेशबाट नेपाल आयात भएको छ ।

यो २०७७ साउन १ देखि २०७८ असार ३१ सम्मको तथ्यांक हो । भन्सार विभागको तथ्यांकमा आधारित रहेर नेपाल व्यापार सूचना पोर्टलले मोटामोटी हिसाबका आधारमा यो तथ्यांक तयार पारेको हो ।

नेपालमै उत्पादन असम्भव हो त ?

नेपालमा नै दैनिक उपभोग्य बस्तु उत्पादन गर्ने भनेर नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल’ अभियान सुरु गरको छ । नेपाल उद्योग वाणिज्य महासंघले देशको अर्थतन्त्र ठूलो आकारको बनाउने भनेर ‘भिजन पेपर २०३०’ पनि सार्वजनिक गरिसकेको छ । व्यापारीहरुको संस्था चेम्बर आफ कमर्सले समेत दैनिक उपभोग्य बस्तुको उत्पादन वृद्धि गनुपर्ने बताइरहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेशलाल श्रेष्ठले आयातले नेपालमा बस्तुको माग कस्तो छ भनेर बुझिने बताए ।

श्रेष्ठले भने, ‘नेपालमा काइँयो नै आयात गर्ने हो भने १० प्रतिशत भन्सारशुल्क तिरे पुग्छ । तर काइँयो उत्पादन गर्ने कच्चा पदार्थ आयात गर्दा ३५ प्रतिशत भन्सार लाग्छ ।’

सरकारले नेपलामा नै बस्तु उत्पादन वृद्धि गर्ने हो भने कच्चा पदार्थको भन्सार शुल्क घटाउनुपर्ने उनको तर्क छ ।

‘विदेशबाट प्लाष्टिकको सामान ल्याउँदा वातावरण बिग्रने भन्दै धेरै भन्सार लिने गरेको छ । विश्वको वातावारण राम्रो बनाउन नेपालले मात्रै ठेक्का लिएको जस्तो गरिन्छ । हाम्रो देशभन्दा पछि बनेका देशहरुले हामीलाई वातावारणको कुरा सिकाइरहेका छन् । अमेरिकाले आफ्नो देशका लागि राम्रो विकास गर्यो अनि अब विश्वभर नै वातावारणको कुरा गरिरहेको छ । सिन्का उद्योग स्थापना गर्नका लागि पनि कच्चा पदार्थ चहियो, त्यसका लागि पनि उद्योगीले धेरै समसया झेल्नु पर्ने अवस्था छ’ उनी भन्छन्, ‘नेपालमा मन्त्री वा एकजना कर्मचारीले चाहेमा उद्योग नै बन्द गर्न सक्ने शक्ति छ । नेपालको व्यापार घाटा कम गर्ने हो भने भारतको सामान चीनमा र चीनको सामान भारत निकासीको व्यवस्था मिलाउनु पर्छ ।’

आर्थिक वर्ष २०७७–७८ मा नेपालको कुल व्यापार घाटा २७.२७ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आवमा निर्यात भने ४४.४३ प्रतिशतले वृद्धि भइ १ खर्ब ४१ अर्ब पुगेको छ । अघिल्लो आवमा निर्यात ९७ अर्ब ७ करोडको थियो ।

सरकारले २० वर्षअघि नेपालको निर्यात १ खर्ब पुर्याउने लक्ष्य राखेको थियो । तर आर्थिक वर्ष २०७७–७८ को वैशाखमा आएर उत्त, लक्ष्य पूरा भएको छ । नेपालबाट सबैभन्दा धेरै भटमासको तेल, पाम आयल, गार्मेन्ट, धागो, अलैंचीलगायतका वस्तु निर्यात हुन्छ ।

गत आर्थिक वर्षमा १३ खर्ब ९८ अर्ब रूपैयाँ बराबरको वस्तु विदेशबाट आयात भएको छ । २०७६–७७ मा भने यो १० खर्ब ९ अर्ब छ ।

आव २०७७–७८ मा कुल वैदेशिक व्यापार १६ खर्ब ८० अर्बको भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो २७.२७ प्रतिशतले वृद्धि भएको हो । कुल व्यापार घाटामध्ये सबैभन्दा धेरै भारतसँग ८ खर्ब ६५ अर्ब छ । त्यस्तै, दोस्रोमा चीनसँग २ खर्ब ३३ अर्बको छ ।

सरकारले ‘एन्टिडम्पिङ ल’ कार्यान्वयन ल्याएपछि नेपालमा नै उत्पादन हुने वस्तु आयात गर्दा अहिले भएकोभन्दा थप भन्सार शुल्क तिर्नु पर्छ भने गुणस्तरीय सामानमात्रै ल्याउन पाइनेछ ।

नेपालीहरुले नेपालकोभन्दा विदेशको उत्पादन गुणस्तरीय हुने विश्वास गर्छन् । जसकारण पनि समस्या भएको उद्योगीको बुझाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर