पुसमा एकीकृत कारोबार गर्न नभ्याएका बैंकलाई असारसम्म छुट – Nepal Press

पुसमा एकीकृत कारोबार गर्न नभ्याएका बैंकलाई असारसम्म छुट

काठमाडौ । नेपाल राष्ट्र बैंकले २०७९ पुससम्म एकीकृत कारोबार गर्न नभ्याएकाहरूलाई पनि छुट पाउने गरी यही असार मसान्तसम्मको समय लम्ब्याएको छ ।

यसअघि पुस मसान्तसम्म छुट दिइएको थियो । पुस मसान्तमै कारोबार गर्न नभ्याएकाहरूले यो छुट पाउनेछन् ।

केन्द्रीय बैंकद्वारा मंगलबार जारी गरेको सर्कुलरमा भनिएको छ, ‘वाणिज्य बैंकहरू एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्न नसकेको अवस्थामा २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा एकीकृत कारोबार सञ्चालन गरेको मितिबाट सुविधा तथा छुट प्रदान गरिनेछ ।

केन्द्रिय बैंकले ६ वटा छुट तथा सुविधा दिने घोषणा गरेको छ । तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने, सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तीमा ६ महिना व्यतीत नभई यस बैंकबाट इजाजतपत्रप्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट प्रदान गरिने, एकीकृत कारोबार सञ्चालन गरेको मितिमा कर्जा निक्षेप अनुपातले सीमा नाघेको अवस्थामा सो नियमित गर्न ६ महिनाको समय प्रदान गरिने, गाभ्ने/गाभिने तथा प्राप्तिमा संलग्न संस्थामा साविकमा कायम रहेको भिन्न ब्याजदरका कारण एकीकृत कारोबार गर्दाका बखत ब्याजदर अन्तर यस बैंकले तोकेको सीमाभन्दा बढी भएमा ब्याजदर अन्तरलाई तोकिएको सीमाभित्र ल्याउन एक वर्षको समय प्रदान गरिने भनिएको छ ।

प्रति संस्था निक्षेप संकलन सीमामा एक वर्षसम्म ५ प्रतिशत बिन्दुले थप गरिने र एकीकृत कारोबार सञ्चालनको क्रममा एक किलोमिटरको दूरीमा सञ्चालनमा रहेका शाखा कार्यालयहरु मध्ये कुनै एक शाखा कायम राखी सोही दूरी भित्रका अन्य शाखा गाभ्न वा बन्द गर्न एक वर्षसम्म यस बैंकको स्वीकृति आवश्यक नपर्नेजस्ता सुविधा दिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर