खडेरीले सुक्न थाल्यो धान मकै, समस्यामा माडीका किसान – Nepal Press

खडेरीले सुक्न थाल्यो धान मकै, समस्यामा माडीका किसान

चितवन । लामो खडेरीका कारण खेतीबाली सुक्न थालेपछि माडीका किसान चिन्तामा परेका छन् ।

देशभर लामो खडेरी परेर पानी लगाउने खोला तथा नहर सुक्न थालेपछि यहाँका किसानहरु मर्कामा परेका हुन् । चितवनको माडी नगरपालिका १, कमला पाण्डेको खेतमा मकै सुक्न थालिसकेको छ । धान पनि पानी नहुँदा राते लागेर बिग्रिन थालिसकेको छ ।

‘मरठ खोलाको नहरबाट पानी ल्याउँथ्यौँ,’ माडी १ बनकट्टाकी कमला पाण्डे भन्छिन्, ‘खोलामा पानी छैन । नहरमा ल्याउने पानी नै नभएपछि कसरी धान्ने खेती ?

कमलाले आफ्नो करिब एक बिगाहा खेतबारीमा खेती लगाउँदा ६० हजार हाराहारीमा खर्च गरेकी छन् । घोगा लाग्ने बेला मकै सुक्न थालेपछि दुःखी भएकी उनले खर्च पनि नधान्ने दुखेसो गरिन् ।

अघिल्लो वर्ष पनि लामो खडेरीका कारण यहाँका किसानहरुले बाली नै भित्र्याउन पाएका थिएनन् । यसवर्ष पनि खडेरी दोहोरियो । स्थानीहरु तह अन्य तहका सरकारी निकायले समयमा पानी नपर्दा हुनसक्ने जोखिमबाट बच्ने कुनै उपाय पनि किसानहरुलाई दिन सकेनन् ।

त्यसैको मारमा कमला जस्तै अनिता बोटको परिवार पनि पुगिसकेको छ । अनिताको बसाइ आसपास १ सय ८० घरधुरी मानिसहरुको बसोबास छ । तीमध्ये अधिकांश चितवन राष्ट्रिय निकुञ्जसँग जनजीविका जोडिएका बोटे, थारु लगायतका समुदायका व्यक्तिहरु छन् ।

अनिता भन्छिन्, — लगाएको बाली खडेरीले सुक्यो । वन गएर निगुरो ल्याउँ पानी नपरेर निगुरो पलाएको छैन ।

उनले आफ्नो परिवार र छिमेकीले समेत खेतीपाती सहित कतिपय त वनजंगल आधारित निगुरो, रिउ खोलामा माछा मारेर जीविकोपार्जन गर्दै आएकोमा अहिले निकुञ्जको जंगल समेत डढेलोले खाएर निगुरो खोज्न पनि नपाएको बताइन् ।

आम्दानीको विकल्प केही छैन, हामीलाई खडेरीले निकै अप्ठ्यारोमा पर्यो उनले भनिन् । उनले बाली, निगुरो नपाउनेसँगै जंगलमा लागेको डढेलो घरै आइपुग्ने जोखिममा दिनरात गुजार्नुपरेको गुनासो गरिन् ।

बैशाख लागेयता चितवन लगायत देशभर गर्मीसँगै तातो हावाले जनजीवन समस्यामा पारेको छ । अझ धेरै यसको असर किसानी र वनजंगलजन्य उत्पादनमा निर्भर रहेका सीमान्तकृत समुदायमा पर्ने गरेको छ ।

चितवनको माडीमा रहेर चितवन सक्रिय महिला प्रतिष्ठानको महिला अधिकार कार्यक्रम अन्तर्गतकी सामाजिक परिचालक शोभाकाजी महतो खडेरीले माडीका कम आय भएका किसान र सीमान्त समुदायलाई झन् असर गरेको बताउँछिन् ।

उनले बालीनाली सुक्ने मात्रै नभएर खानेपानीकै अभाव हुन थालेको समेत बताइन् । चितवनको माडीमा ससाना खोलाहरु गाउँपिच्छे बग्थे । अहिले गर्मी बढेपछि ति खोलामा पानीहरु सुकेका छन्, महतो भन्छिन्, — पानीको अभावले अझ धेरै समस्यामा महिलाहरु परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *