महानगरकै निर्देशनमा राखिएका थिए फोहोर बाेकेको चार वटा गाडी माओवादी पार्टी कार्यालय नजिकै – Nepal Press

महानगरकै निर्देशनमा राखिएका थिए फोहोर बाेकेको चार वटा गाडी माओवादी पार्टी कार्यालय नजिकै

काठमाडौं । काठमाडौं महानगरपालिकाका चार वडा फोहोरका गाडी काठमाडौं महानगरपालिकाकै निर्देशनमा नेकपा (माओवादी केन्द्र)का पार्टी कार्यालय नजिकै राखिएको पाइएको छ ।

महानगरीय प्रहरी वृत नयाँ बानेश्वर स्रोतका अनुसार महानगरपालिकाको निर्देशन अनुसार नै गाडी चालकले चार वडा फोहोरका गाडी माओवादी पार्टी कार्यालय नजिकै छोडेका हुन् ।

करिव चार घण्टा फोहोरले भरिएका गाडी चालकले छोडर गएपछि स्थानीयले फोहोर सडकमा राखेका कारण फोहोर गन्हाउन थालको भन्दै प्रहरीलाई खवर गरेका थिए । त्यसपछि प्रहरीले महानगरपालिकाका चालकलाई खवर गरेर फोहोरको गाडी हटाउन निर्देशन दिएको प्रहरी स्रोतले जनाएको छ ।

चालकलाई खोजेर प्रहरीले फोहोरका गाडी लैजान निर्देशन दिदाँ पनि नमानेपछि गाडीसहित जिल्ला प्रहरी परिसर टेकुमा गाडीसहित चारै जना चालकलाई पठाएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार स्थानीय प्रहरीले चालकलाई समातेर परिसरमा ल्याएका थिए ।

तर, परिसरले ति चालकलाई काठमाडौं महानगरपालिकाको वातावरण विभागमा पठाएको थियो । प्रहरी स्रोतका अनुसार माओवादी पार्टी कार्यालयको ओरालोबाट तलतिरको सडक सुविधानगरमा चार वटा फोहोरका गाडी रोकेर राखिएको थियो ।

यद्यपी नेकपा (माओावादी केन्द्र)का कार्यालय सचिव डोरप्रसाद उपाध्यायले भने पार्टी कार्यालय नजिकै फोहोर नराखिएको दाबी गरे । उनका अनुसार पार्टी कार्यालयबाट तलतिर सुविधानगरमा भने चार वडा फोहोरका गाडी केहि घण्टा रोकेर राखिएको र पछि प्रहरी तथा स्थानीयको सहजीकरणमा त्यहाँबाट हटाइएको नेपाल प्रेससँग बताए ।

उनले भने, ‘फोहोरले भरिएका चार वटा गाडी सुविधानगरमा सडकमा राखिएका थिए । हामीले पनि कार्यालयबाट देखेको हो । कार्यालको नजिक होइन । त्यसले कार्यालयलाई पनि खासै असर परेको थिएन । कतिपयले कार्यालयमा आएको भनेर भने होलान । पछि स्थानीय र प्रहरीको सजीकरणमा केहि घण्टापछि त्यहाँबाट हटाइएको जानकारी पायौ । पार्टी कार्यालयलाई केहि अवरोध पनि भएको थिएन । के कसरी भयो किन भयो भन्ने हामीलाई कुनै पनि जानकारी भएन ।’

काठमाडौं महानगरपालिका वडा नम्बर ३२ का वडा अध्यक्ष नवराज पराजुलीले भने आफुलाई यस विषयमा कुनै पनि जानकारी नभएको बताए ।
प्रहरीले चार जना फोहोरको गाडीका चालकलाई छोडेको जानकारी पाए लगत्तै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफ्ना कर्मचारीमाथी विना कारण अपमान गरेको सह्य नहुने टिप्प्णी गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत नै चालकलाई प्रहरीले ससम्मान छोडेको खवर पाएको उल्लेख गर्दै भने, ‘फोहोरको गाडी चलाउने चालकलाई स-सम्मान छोडेको खबर पाए । जो कोहीले यत्ति बुझ्नुहोला (पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाण्डौ महानगर यसमा संवेदनशील छ । अझ आफ्नो कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन ।) बुझेर कदम चाल्नुहोला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर