गाैरिका सिंहसहित सात खेलाडीलाई ‘सर्वकालीन सम्मान’ – Nepal Press

गाैरिका सिंहसहित सात खेलाडीलाई ‘सर्वकालीन सम्मान’

काठमाडौं। गौरिका सिंह लगायत सात खेलाडीले सर्वकालिन सम्मान प्राप्त गरेका छन् ।
हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा विभिन्न काल खण्डमा खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान गरेका सात खेलाडीलाई सर्वकालीन सम्मान प्रदान गरेको हो ।

बिहीबार ललितपुरको पाटनमा एक कार्यक्रमकाबीच पौडिकी गौरिका सिंह सहित धावक जितबहादुर केसी, बैकुण्ठ मानन्धर, फुटबलका राजुकाजी शाक्य, ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य, तेक्वान्दोकै दीपक विष्ट, क्रिकेटका पूर्व कप्तान पारस खड्का र पौडीकी सर्वकालीन सम्मानबाट सम्मानित भए ।

उनीहरुले जनही २५ हजार रुपैयाँसँगै सम्मान पत्र प्राप्त गरे । सम्मानित व्यक्तित्वलाई सांसद् गगन थापा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ लगायतले सम्मान गरे ।
सम्मानीत हुने खेलाडीहरु को हुन् ?

जीतबहादुर केसी (एथलेटिक्स)
केसीले झण्डै ५ दशक अघि एसियन एथलेटिक्स च्याम्पियनसिपमा कास्य पदक जितेका थिए । फिलिपिन्समा भएको च्याम्पियनसिपको म्याराथनमा केसीले २ घण्टा ३५ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान प्राप्त गरेका थिए । कुनै पनि नेपाली खेलाडीले जितेको त्यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो ।

बैकुण्ठ मानन्धर (एथलेटिक्स)
सन् १९८४ मा सुरु भएको सागमा मानन्धरले लगातार तीन संस्करणमा म्याराथनमा स्वर्ण पदक जितेका थिए । सागमा स्वर्ण पदकमा ह्याट्रिक गर्ने उनी पहिलो नेपाली हुन् ।
सन् १९८७ मा भएको तेस्रो सागमा उनले म्याराथनमा कीर्तिमान बनाएका थिए । त्यति बेला उनले २ घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिले सम्म भंग हुन सकेको छैन । मानन्धरले सर्वाधिक ४ पटक ओलम्पिकमा देशको प्रतिनिधित्व गरेका छन् ।

राजुकाजी शाक्य (फुटबल)
फुटबलमा कप्तान र प्रशिक्षक दुबै रुपमा साफको स्वर्ण जित्ने सौभाग्य निकै कमले मात्रै पाउँछन् । शाक्य तीनैमा पर्छन् । सागको पहिलो संस्करण सन् १९८४ र छैटौं १९९३ मा फुटबलतर्फ स्वर्ण जित्दा शाक्य टोलीका महत्वपूर्ण सदस्य थिए । छैटौं संस्करणमा नेपाली फुटबलले स्वर्ण भित्राउँदा उनी टोलीको कप्तान थिए । प्रशिक्षकका रुपमा २०१६ मा भारतमा भएको सागको १२ औं संस्करणमा २३ वर्ष मुनिको फुटबल टोलीलाई स्वर्ण दिलाएका थिए । शाक्य हाल एनआरटीको प्रशिक्षकका रुपमा कार्यरत छन् ।

संगिना वैद्य (तेक्वान्दो)
विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सन् १९६० देखि नेपाली खेलाडीले सहभागिता जनाउन शुरु गरेपनि संगिनाले २००४ को एथेन्स ओलम्पिकका लागि छनोट चरण पार गरेकी थिइन् । स्वदेशमा आयोजना भएको १९९९ को आठौं र २००४ नवौं सागमा स्वर्ण पदक जितेकी संगिना १३ औं सागमा टोलीको प्रशिक्षक थिइन् । उनी तेक्वान्दोकी एसियन च्याम्पियन पनि हुन् ।

दीपक विष्ट (तेक्वान्दो)
दीपकले स्वदेशमा सन् १९९९ मा आयोजना भएको आठौं सागदेखि लगातार चार संस्करणमा तेक्वान्दो तर्फ स्वर्ण जितेका थिए । त्यस्तै उनले सन् २००२ र २००६ मा एशियाली खेलकुदमा कास्य जितेका थिए । छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने दोस्रो खेलाडीको रुपमा पनि उनले बेजिङ ओलम्पिक २००८ खेलेका थिए । नेपाल ओलम्पियन संघका अध्यक्ष समेत रहेको दीपक हाल तेक्वान्दोका प्रशिक्षक हुन् ।

पारस खड्का (क्रिकेट)
पारस नेपाली क्रिकेट इतिहासका सर्वाधिक सफल कप्तान र खेलाडी हुन् । नेपालले अहिलेसम्म खेलेको एकमात्र टी–२० विश्वकप २०१४ खेल्दा होस् वा सन् २०१८ मा ओडिआई मान्यता प्राप्त गर्दा होस् दुवैमा पारस नै टोलीको कप्तान थिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आई।सी।सीको पहिलो उपाधि डिभिजन ५ हुँदै ४ र ३ को उपाधि उनकै नेतृत्वमा नेपालले जितेको थियो । नेपालका लागि ओडिआई र टी–२० दुबैमा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन् ।

गौरिका सिंह (पौडी)
तीन वर्ष अघि स्वदेशमा भएको १३ औं सागमा गौरिकाले ४ स्वर्ण पदकसहित ९ पदक जितेकी थिइन् । सागको पौडीतर्फ व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी थिइन् । सन् २०१६ को रियो ओलम्पिकमा भाग लिदा सबैभन्दा कम उमेरकी खेलाडी थिइन् । त्यति बेला उनको उमेर १३ वर्षको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर