जनकपुरधाममा दिउँसै लालटिन जुलुस
जनकपुरधाम । चुरे तथा वन संरक्षण अभियान र सुकुम्वासीहरूले जनकपुरधाममा दिउँसै लालटिन जुलुस प्रदर्शन गरेका छन् । चुरे तथा वन जंगल संरक्षण अभियानको पूर्वघोषित विरोधका कार्यक्रम अनुसार आज लालटिन जुलुस निकालिएको हो ।
जनकपुरधामको रेल्वे स्टेशनबाट लालटेन बालेर निकालिएको जुलुसमा सहभागीहरु मधेस सरकार र प्रधानमन्त्री विरुद्ध नाराबाजी गरेका छन् ।
तराई मधेसका सुकुम्वासीलाई तत्कालै भूमि अधिकार दिनुपर्ने, स्थानीय सरकारद्वारा उठीबास लगाउने कार्य बन्द गर्नुपर्ने र वनजंगल तथा चुरे क्षेत्रको जग्गा सुकुम्वासी आयोगले नक्कली सुकुम्वासीलाई वितरण गर्ने कार्य बन्द गर्नुपर्ने लगायतका माग राखेर अभियानले आन्दोलनको घोषणा गरेको छ । सोही बमोजिम आज लालटिन जुलुस निकालिएको बताइएको छ ।
जुलुस जनक चोक पुगेपछि गरिएको कोणसभामा बोल्दै अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले सुकुम्वासीको नाउँमा गलत व्यक्तिलाई चुरे तथा वन जंगलको जग्गा दिने काम भइरहेको भन्दै सो कार्य बन्द गर्नुपर्ने माग गरे ।
उनका अनुसार असार २९ गते बुधवार सुकुम्वासी तथा भूमिहीन महिलाहरूले झाडु जुलुस प्रदर्शन गर्ने र ३० गते जनकपुरधाम बन्द गरिनेछ ।