गोपाल योञ्जनका गीतमा कपिराइट विवाद : छोरी सृजनाले सम्झना-विकासविरुद्ध दिइन् उजुरी – Nepal Press

गोपाल योञ्जनका गीतमा कपिराइट विवाद : छोरी सृजनाले सम्झना-विकासविरुद्ध दिइन् उजुरी

सम्झना भन्छिन्: मानहानिमा मुद्दा हाल्छु

काठमाडौं । प्रख्यात संगीतकार, गायक गोपाल योन्जन आज हामीमाझ छैनन् । तर, उनका सयौँ कालजयी गीतहरू अझैँ गुन्जिइरहेका छन् । उनका सिर्जनाले नेपाली आधुनिक संगीतलाई नै एउटा उचाइ प्रदान गरेको छ ।

उनै योञ्जनको परिवार भने अहिले तनावमा छ । आफूहरू अन्यायमा परेको भन्दै छोरी सृजनाले सूचना तथा सञ्चार मन्त्रालयमा निवेदन दिएकी छन् । गत जेठ १६ गते उनले सप्रमाण दिएको निवेदन नेपाल प्रेसलाई प्राप्त भएको छ ।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार सर्जक बितेको पचास वर्षसम्म उसको आधिकारिक हकवालासँग प्रतिलिपी अधिकार हुन्छ । तर, आफूहरूकाे अनुमतिबिना याेञ्जनका गीतहरूकाे व्यवसायिक प्रयाेग गरिएकाे गुनासो सृजनाले गरेकी छन् ।

गोपाल योञ्जनको सृजना कति मान्छे, कम्पनीले गैरकानूनी रूपमा अपचलन गरे, त्यसको खोजीनिती गर्न बाँकी नै छ । यसपटक भने सृजनाले चलचित्र निर्देशक सम्झना उप्रेती रौनियार र फोटोग्राफर  श्रीमान विकास रौनियारविरुद्ध उजुरी गरेकी हुन् ।

उनले निवेदनमा ‘अयोग्य उम्मेदवारका बारे सतर्कता’ विषय उल्लेख गरी लेखेकी छन्, ‘चाँडै नै रिक्त हुन लागेको चलचित्र विकास बोर्डको अध्यक्ष पदमा सम्झना उप्रेती रौनियारको नाम प्रस्तावित भएको देखेर म यो पत्र लेख्न बाध्य भएकी छु । उनी सञ्चालक रहेको सबास्ता इन्टरटेनमेन्ट प्राइभेट लिमिटेड नामक कम्पनीले म र मेरो परिवारसँग गरेको अनैतिक व्यवहार उपर यहाँहरूको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सृजनाले प्रतिलिपि अधिकार ऐन २०५९ का अनुसार योञ्जनको देहावसानपछि गीत, संगीत र रचनाहरूको प्रतिलिपि अधिकार योञ्जनकी श्रीमती रेन्छिन योन्जनसँग सुरक्षित रहेको बताएकी छन् । सोही अधिकार प्रयोग गरेर योञ्जनका सृजनाहरूको संरक्षण, प्रमोसन, भण्डारण र पुनः रेकर्डिङको व्यवस्था पनि परिवारले नै मिलाउँदै आएको बताइएको छ ।

सम्झना र विकासले निर्माण गरेको ‘मेघा’ चलचित्रमा योञ्जनको सृजना राख्न अनुमति मागेका थिए । यसपछि योञ्जन परिवारले नै स्टुडियो खर्च, गायक–गायिकाको पारिश्रमिक, बाद्यवादकहरुको पारिश्रमिक, संगीत संयोजकको पारिश्रमिक लगायत सबै खर्च व्यहोर्यो ।

सबास्ता इन्टरटेनमेन्टले कलाकारहरूको खाजा र यातायात खर्च व्यहोरेको थियो । सृजनाको दाबी अनुसार ‘मेघा’ चलचित्रको ९५ प्रतिशत स्क्रिप्ट पनि उनैले निःशुल्क रिराइट गरिदिएकी थिइन् ।

योञ्जन परिवारले अडिओको उचित प्रमोसन र प्रवर्द्धनको जिम्मा म्युजिक नेपाललाई सन् २०१४ मा दिएका थिए । योञ्जनका गीतहरू सबास्ता इन्टरटेनमेन्टलाई चलचित्रमा प्रयोग गर्न दिएपछि योञ्जनकी श्रीमती रेन्छिनले आवश्यक सर्तहरू राखेर एक एमओयु गर्न प्रस्ताव गरेका थिए सम्झना र विकासलाई । तर, सम्झना र विकासले फाइनल एमओयु नपठाएको सृजनाले निवेदनमा उल्लेख गरेकी छन् ।

उनले निवेदनमा थप लेखेकी छन्, ‘यसपश्चात् निजहरूले उक्त गीतहरू हामीलाई सोध्दै नसोधी, हाम्रो अनुमतिबिना युट्युबमा अपलोड गरी आर्थिक लाभ समेत उठाएको ब्यहोरा हाम्रो सामु आयो । मैले यस विषयमा प्रश्न गर्दै सम्झनालाई फोन गर्दा ‘यस विषयमा मलाई केही थाहा भएन दिज्यू, यसबारे विकाससँग कुरा गर्नु भनी विकासलाई फोन दियो । त्यस वेला विकासले मलाई आफूले एक पैसा पनि नलिएको र सबै म्युजिक नेपालले लिएको हुनुपर्ने भन्यो ।… म्युजिक नेपालसँग सोध्दा पहिले उनीहरुले स्ट्राइक डाउन गरेको तर पछि विकासले ‘यो त हामीले रि–रेकर्ड गरेकाले तपाईँहरूको दाबी लाग्दैन’ भनेपछि स्ट्राइक डाउन गरेर तुरुन्तै हटाएको थाहा पाएँ ।’

यसपछि अन्यौलता हटाउन जुम मिटिङ गरेको पनि निवेदनमा उल्लेख गरिएको छ निवेदनमा । यसमा पनि विकासले कुनै रकम लिएको छैन भनेर दाबी गरेको प्रमाण अहिले सुरक्षित रहेको सृजनाले बताएकी छन् ।

यसपछि लगातार विकास रौनियारले कुनै प्रकारको रकम बुझाउन नपर्ने भन्दै अन्य अपाच्य वाक्यहरू लेखेर इमेल गरेको सृजनाको दाबी छ ।

निवेदनमा लेखिएको छ, ‘म्युजिक नेपालले मध्यस्थता गरी मिटिङ गर्न बोलाउँदा संचालकद्वय उपस्थित भएको, तर त्यस वेला सम्झनाले अझैँ बढी बांगोटिंगो कुरा गरे । यसपछि मेघा चलचित्रका सबास्ता इन्टरटेनमेन्टद्वारा युट्युबमा अपलोड गरिएको सम्पूर्ण गीतहरू स्ट्राइक डाउन गर्न बाध्य भयौँ । अझै पनि यिनीहरुले कति रकम अवैध रूपमा कमाए, सो बुझाएका छैनन् ।’

निवेदनमा सृजनाले प्रश्न गरेकी छन्, ‘स्रष्टालाई सम्मान गर्न नजान्ने, प्रतिलिपि अधिकार ऐनको ख्याल नराख्ने सबास्ता इन्टरटेनमेन्टका सञ्चालक सम्झना उप्रेती रौनियार चलचित्र निर्देशक बोर्डको अध्यक्ष पदमा कतिको शोभनीय होला ?’ निवेदनमा प्रमाणस्वरुप जुम मिटिङको भिडियो रेकर्ड र इमेलहरू पनि राखिएको छ ।

रौनियार भन्छिन्: मानहानिको मुद्दा हाल्छौँ

निर्देशक सम्झना उप्रेती रौनियार भने सृजनाको आरोपहरूलाई इन्कार गर्छिन् । नेपाल प्रेससँग कुरा गर्दै उनले भनिन्, ‘सञ्चार मन्त्रालयबाट हामीलाई सम्पर्क गर्नुभएको छैन । उहाँले फेसबुकमा पनि राख्नुभएको छ अनेक लेखेर । उहाँहरूले प्रमाणको रूपमा सार्वजनिक गरेको कागजातमा हामी स्रष्टाले पाउने १० देखि १५ प्रतिशत रोयल्टी दिन्छौँ भनेर पठाएको इमेल राख्नुभएको छैन । उहाँहरूले ८० प्रतिशत रोयल्टी दाबी गरेर पठाएको इमेल पनि राख्नुभएको छैन । उहाँहरूले फेसबुकमा हालेको देखेपछि हामी कपी राइटको वकिलसँग पनि बसेका छौँ । मानहानिको उजुरी हाल्नेबारे छलफल भइरहेको छ ।’

सृजना योन्जनहरुले आफ्नो नियतवश चरित्र हत्या गर्न खोजेको सम्झनाको दाबी छ । आफूले कुनै पनि स्रष्टालाई अन्यायमा नपार्ने भन्दै उनले स्रष्टाको हक अधिकारका लागि नै वर्षौँदेखि लडेर आएको उल्लेख गरिन् ।

अन्तर्राष्ट्रिय अभ्यास अनुसार रोयल्टी दिन खोज्दा योञ्जन परिवारले ८० प्रतिशत रोयल्टी दाबी गरेकाले गाह्रो भएको उनको भनाइ छ ।

उनले भनिन्, ‘हामी कानुनी रूपमै यसको समाधान खोज्ने तयारीमा छौँ । यो सरासर चरित्र हत्या हो । उहाँ कतैबाट परिचालित भएको हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *