भारतसँग मनोवैज्ञानिक त्रास ! दविएर खेल्दा चुक्यो नेपाल – Nepal Press
साफ च्याम्पियनसीप:

भारतसँग मनोवैज्ञानिक त्रास ! दविएर खेल्दा चुक्यो नेपाल

काठमाडौं । पहिलोपटक साफ च्याम्पियनसीपको उपाधि जित्ने नेपालको सपना हिजो राति भंग भयो । भारतसँग ३–० को पराजयपछि नेपाल उपविजेतामा सिमित बनेको छ । यद्यपि, फाइनलसम्मको यात्रा पनि नेपालका लागि ऐतिहासिक नै हो ।

फुटबलमा भारतसँगको हार नेपालका लागि कुनै नौलो र अनपेक्षित घटना होइन । हिजोको फाइनलमा पनि सातपटकको विजेता भारतलाई नै ‘फेभरेट’ मानिएको थियो । यद्यपि, नेपालले ९० मिनेट मैदानमा जसरी खेल्यो त्यो चाहिँ चिन्ताको विषय बनेको छ । नेपालको खेलमा कुनै पनि समय आक्रामकता झल्किएन । खेल जित्नेभन्दा भारतलाई रोक्ने ध्याउन्नमै देखिए खेलाडीहरु ।

९० मिनेटको खेलमा अधिकांश समय बल नेपालको पोष्ट वरिपरि नाचिरह्यो । भारतीय गोलकिपर अधिकांश समय फुर्सदमा देखिन्थे । खेलअवधिभर भारतको पोष्टमा नेपालले जम्मा एउटा खतरनाक प्रहार गर्यो, त्यो पनि दुई गोल खाइसकेपछि । त्यो डिफेन्डर रोहित चन्दको हेडिङ थियो, जुन टप बारमा लागेर बाहिरिन पुग्यो । त्यसबाहेक नेपालले गोलको गहकिलो मौकासमेत निकाल्न सकेन ।

हिजोको खेल हेर्दा यस्तो प्रतित हुन्थ्यो कि नेपालको भिडन्त भारतसँग नभएर ब्राजिल वा अर्जेन्टिनाजस्ता फुटबल महाशक्तिसँग भइरहको थियो । एकदमै दविएर खेलिरहेका थिए खेलाडीहरु । मानौं प्रशिक्षकले उनीहरुलाई गोल गर्न होइन, गोल रोक्न मात्रै सिकाएर पठाएका थिए ।

भनिन्छ नि खेलमा आक्रमण नै डिफेन्सको सबैभन्दा राम्रो तरिका हो । फुटबलमा यदि तपाईं आक्रमणको प्रयास गर्नुहुन्न भने कुनै न कुनै क्षण त विपक्षीले तपाईंको पोष्टमा बल छिराउँछ नै । नेपालले पहिलो हाफमा जेनतेन भारतलाई रोक्यो । तर, दोस्रो हाफको सुरुमै भारतले एक मिनेटभित्र दुई गोल दागेर नेपालको रक्षात्मक रणनीति चकनाचुर बनाइदियो ।

हिजोका खेलमा नेपालको रणनीतमिाथि प्रश्न उठाउन सकिन्छ । फाइनल प्रतिस्पर्धामा कुनै पनि टिम उपाधिकै लागि भिड्ने हो । चाहे प्रतिस्पर्धी जति बलियो किन नहोस । तर, नेपाली टिमको प्रारम्भिक ११ मा एक मात्र स्ट्राइकर नवयुग श्रेष्ठ थिए । मनिष डाँगी र आयूष घलानजस्ता ‘इन फर्म’ स्ट्राइकरहरुलाई सुरुमै मैदानमा उतारेको भए नेपालको आक्रामक मानसिकता झल्किन सक्थ्यो । तर, उनीहरुलाई दोस्रा हाफका लागि साँच्दा नेपालको अग्रपंति फितलो भयो ।

सम्भवतः प्रशिक्षकले पहिलो हाफमा भारतलाई रोक्ने र दोस्रोमा आक्रमण गर्ने रणनीति लिएका थिए । तर, दोस्रो हाफको सुरुवातमै दुई गोल खाएपछि नेपालको योजना भताभुंग भइहाल्यो । दुई गोल खाइसकेपछिको अवस्थामा खेलमा फर्किन यसै पनि कठिन हुन्छ । त्यसमाथि आफूभन्दा बलियो टोली छ भने त झन् दुरुह हुन्छ । नेपालले कम्तिमा एक गोल फर्काएको भए कागजी नतिजा प्रतिस्पर्धात्मक देखिन्थ्यो । तर सकेन । बरु अन्तिमतिर भारतले नै एक गोल थप्यो ०–३ को एकतर्फी नतिजा निकाल्यो ।

हिजो दुई टिमको खेलस्तर हेर्दा यो नतिजालाई अस्वभाविक मान्न मिल्दैन । नेपालले जस्तो खेल्यो, त्यस्तै नतिजा व्यहोर्यो ।

भारतसँग मनोवैज्ञानिक त्राश

नेपाल र भारतबीचको खेल स्तरमा साह्रै ठूलो अन्तराल छैन । नेपालले चियाउनै नसक्ने प्रतिस्पर्धी होइन भारत । तर, विगतदेखि नै भारतसँग खेल्दा नेपाली टिमको मनोबल आफसेआफ कमजोर हुने गरेको पाइन्छ । कमजोर मनोबलकै कारण नेपाल जितको खोजीभन्दा पनि हार टार्नेमा बढी फोकस हुने गरेको छ ।

नेपालको प्रमुख प्रशिक्षक भएर आएपछि अब्दुल्लाह अल्मुताइरीले नेपाली टिममा धेरै फेरबदल गरे । केही प्रतिभाशाली युवा खेलाडीहरु उनले जन्माए । नेपाली टिमको फिनिसिङमा सुधार देखियो । तर, भारतविरुद्धको कमजोर मानसिकता भने उनले झन् बढाइदिएका छन् ।

साफ समूहचरण अन्तरगत भारतसँगको खेलअघि अब्दुल्लाह अल्मुताइरीले नेपालको जित्ने सम्भावना एक प्रतिशत मात्रै भएको बयान दिएका थिए । हुन त कतिपयले यसलाई उनको ‘माइन्ड गेम’ का रुपमा चर्चा गरे । तर, यस्तो बयानले टिमको मनोबल खस्किने र मनोवैज्ञानिक त्राश पैदा गर्नेतर्फ अल्मुताइरीले ध्यान दिएनन् ।

समूह चरणको खेलमा नेपालले भारतसँग पूर्ण रक्षात्मक रणनीति अपनाएको थियो । नेपाललाई फाइनलमा पुग्नका लागि भारतसँग बराबरी नतिजा पर्याप्त भएकाले त्यसबेला रक्षात्मक खेल्नुलाई तर्कसंगत मान्न सकिएला । तर, फाइनलमा त जितकै लागि खेल्ने हो । फाइनलमा रक्षात्मक खेल्नु भनेको सिधै प्रतिस्पर्धीलाई उपाधि जित्ने बाटो सजिलो बनाइदिनु मात्र हो ।

फिफा र्‍याङ्किङमा नेपालभन्दा भारत ६१ स्थान माथि छ । तर, नेपालले भारतभन्दा माथिल्लो वरियतामा रहेका देशहरुलाई कडा टक्कर दिएका धेरै उदाहरण छन् । हेड–टु–हेडमा नेपालभन्दा भारत धेरै अगाडि भए पनि प्रायजसो खेलहरुमा नेपालले भारतलाई जितका लागि संघर्ष गर्न वाध्य पारेको छ ।

हालै काठमाडौंमा भएका दुई मैत्रीपूर्ण खेलमा पनि नेपाल यति फितलो देखिएको थिएन । एउटा खेलमा त नेपालले अग्रतासमेत लिएको थियो । तर, साफ च्याम्पिसनसीपका दुवै खेलमा नेपालले भारतलाई आफूमाथि हावी हुन दियो । यसले आगामी दिनमा भारतविरुद्ध नेपालको मानसिकता थप कमजोर गराउने निश्चित छ ।

स्मरणीय यो छ कि प्रशिक्षक अल्मुताइरीले नेपाल आउनासाथ गरेको पत्रकार सम्मेलनमा भनेका थिए, अब नेपालले रक्षात्मक खेल्दैन (नो मोर डिफेन्स) । तर, भारतविरुद्ध नेपालको खेल शैलीले अल्मुताइरीको उक्त अभिव्यक्तिको भावलाई न्याय गरेन । अति रक्षात्मक बन्दा नेपालको एउटा सपना टुट्यो ।

खेलाडीको मिहिनेत र प्रशिक्षकको समर्पण

यो प्रतियोगितामा नेपालको समग्र प्रदर्शनलाई पुनरावलोकन गर्दा चाहिँ खुशी हुनुपर्ने ठाउँ धेरै छन् । माल्दिभ्स र श्रीलंकाविरुद्ध नेपालले स्पष्ट जित निकाल्दै उत्कृष्ट सुरुवात गरेको थियो । साफ च्याम्पियनसीपमा नेपालले पहिलोपटक श्रीलंकाविरुद्ध जित हासिल गरेको हो ।

समूह चरणअन्तरगत बंगलादेशविरुद्धको निर्णायक म्याचमा पनि नेपालले राम्रो प्रदर्शन गरेको थियो । गोलका लागि पेनाल्टीको सहारा लिनु परे तापनि खेलमा नेपालले बंगलादेशलाई दवावमा राखेकै हो ।

खेलाडीहरुको कुरा गर्दा फेरि एकपटक किरणकुमार लिम्बुले दर्शकको मन जितेका छन् । हरेक म्याचमा उनले केही खतरनाक आक्रमणहरु विफल तुल्याउन सफल भए । यस्तै मनिष डाँगीले माल्दिभ्सविरुद्ध काउन्टर अट्याकमा गरेको गोललाई कुनै पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली खेलाडीले गरेको उत्कृष्ट गोलको सूचीमा राख्न सकिन्छ ।

श्रीलंकाविरुद्ध आयूष घलानको प्रदर्शन पनि सम्झनलायक छ । उक्त खेलमा एउटा गोल र एउटा असिस्ट गरेका १७ वर्षका यी युवाले भविष्यका लागि आशालाग्दो सम्भावना देखाएका छन् । डिफेन्समा सँधैजस्तो रोहित चन्दले आफूलाई पर्खालका रुपमा उभ्याइरहे । अट्याकिङ मिडफिल्डर अञ्जन विष्ट पनि प्रभावकारी रहे । अन्य खेलाडीहरुले पनि सक्दो प्रयास गरे ।

प्रमुख प्रशिक्षक अब्दुल्लाह अब्लुल्लाह अल्मुताइरीले नेपाली फुटबलप्रति देखाएको लगाव र समर्पण पनि यो प्रतियोगिताको चर्चायोग्य पक्ष रह्यो । टचलाइनमा बस्दा उनको व्यग्रतापूर्ण प्रस्तुतिले धेरै नेपालीहरुको मन पगालेको छ । अत्यधिक व्यग्रताकै कारण उनले दुईपटक पहेँलो कार्ड खान पुगेर फाइनल खेलमा प्रतिवन्धसमेत भोगे । नेपालले गरेको गोलमा अल्मुताइरीको सेलिब्रेसनले सामाजिक सञ्जालमा निकै चर्चा पायो ।

यस प्रतियोगितामार्फत अल्मुताइरीले नेपालीहरुको अथाह माया बटुलेका छन् । तर, साफपछि आफू नेपाली टिममा नरहने घोषणा गरेर उनले सबैलाई खिन्न तुल्याए । आशा छ, उनले आफ्नो निर्णयमा पुनर्विचार गर्नेछन् ।

समग्रमा भारतविरुद्धका दुई म्याचलाई छोड्ने हो भने साफ च्याम्पियनसीपको १३ औं संस्करण नेपालका लागि सुखद नै मान्नुपर्छ ।

तस्विरहरु : एन्फा

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *